NP EN

इतिहासको प्रवाहमा हामी किन पछि परयौँ, यसको जवाफ खोजौँ

सिचुवान विश्वविद्यालय, छेङ्दुका अध्यक्ष महोदय,
सम्मानित प्रध्यापकहरू
प्राज्ञिक व्यक्तित्वहरू तथा विद्यार्थीहरू,
आदरणीय मित्रहरू
महिला तथा सज्जनवृन्द ।


बुद्धिजीवी, प्रध्यापक, प्राज्ञिक व्यक्तित्व, विद्यार्थीहरू एवं नेपालका मित्रहरूको माझ उपस्थित हुन पाउँदा मैले आनन्दित महसुस गरिरहेको छु । आज यो कार्यक्रम आयोजना गर्नुभएकोमा अध्यक्ष महोदयलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

छेङ्दु शहर र सिचुवान प्रान्त सांस्कृतिक एवं सभ्यताको दृष्टिकोणले विशिष्टरूपमा परिचित रहेको कुरा दोहोरयाइरहनु पर्दैन । 

यो भूमि सम्पन्नताको भूमिको रूपमा परिचित छ । साथै, यसको पहिचान अझ बृहत छ । चीनको यही क्षेत्रमा महान चिनियाँ दार्शनिक कन्फुसियसको उपदेश प्रसिद्ध हुनपुग्यो । चीनको यही क्षेत्रले आधुनिक चीनका महान आर्थिक सुधारक तङ सियाओ पिङजस्ता दूरदर्शी नेतालाई जन्म दियो । चीनको यही प्रदेशले एक उर्जाशील आर्थिक केन्द्रका रूपमा चिनियाँ अर्थतन्त्रमा उल्लेख्य योगदान पुरयाएको छ । यी तथ्यहरूले चीनमा सिचुआन प्रान्तको महत्वलाई उजागर गर्छन् । एक असल मित्रको रूपमा, हामी तपाईहरूको गौरव, तपाईहरूको उल्लास र तपाईहरूको खुशीमा सुखानुभूति गर्छौँ । हामी भ्रातृत्वमा विश्वास गर्छौं र साझा गन्तव्यमा विश्वास गर्दछौँ । 

१२० वर्ष अघि स्थापित भई सम्पन्न संस्कृति तथा सभ्यताको मजबुत जगमा उभिएको यस सिचुआन विश्वविद्यालयको गाथा सिचुआन प्रान्तको महान सभ्यता र विकाससँग प्रत्यक्षरूपमा जोडिएको छ ।

प्राचीनतम सांस्कृतिक केन्द्रहरूमध्येको एक शहर छेङ्दुको प्रसिद्धि कायम राख्न यस विश्वविद्यालयले आफ्नो स्थापनाकालदेखि गरेको योगदान प्रशंसनीय छ । यो विश्वविद्यालयले अहिलेका उत्कृष्ट शैक्षिक संस्थाहरूमध्ये आफ्नो पहिचान बनाएको छ । विश्वविद्यालयले हासिल गरेका उपलब्धिहरूका लागि म विश्वविद्यालय परिवारको समर्पणलाई प्रशंसा गर्न चाहन्छु ।

शुरुवातदेखि नै, यस विश्वविद्यालयले उल्लेख्य सङ्ख्यामा अध्येताहरू, चिकित्सक, दार्शनिक, इतिहासविद्, भूगोलविद् तथा अन्य विषयहरूका समेत उत्कृष्ट व्यक्तित्वहरूलाई जन्माएको छ । र, त्यस्ता व्यक्तित्वहरूको पङ्क्तिमा केही मेरै देशका नागरिकहरू समेत उभिन पुगेका छन् ।

शोधकार्यका क्षेत्रमा विशिष्ट सामर्थ्य प्रस्तुत गर्दै यस विश्वविद्यालयले समयव्रmममा अन्वेषणका क्षेत्रमा उल्लेख्य उपलब्धिहरू हासिल गरेको छ । र, मानव समुदाय र समाजलाई शिक्षाको ज्योतिले प्रज्ज्वलित पार्ने मार्गमा यो विश्वविद्यालय सदैव अघि बढ्नेछ भन्ने विश्वास मैले लिएको छु ।

आदरणीय मित्रहरू, 

मानव जीवनमा शिक्षाको महत्वबारे चर्चा गरिरहनु जरुरी छैन । हामीहरू सबै यसबारे परिचित छौँ । यद्यपि, मसँग शिक्षाबारे अरुभन्दा विशिष्ट ज्ञान नभएपनि यसबारेमा म केही शब्द बोल्न चाहन्छु । गरिबी र भोकको समस्याले अझै आक्रान्त रहेको तथा विकासका लागि चरम संरचनागत समस्याले ग्रस्त रहेको मुलुकको प्रधानमन्त्रीको रूपमा र देशको विकास गर्ने निःस्वार्थ अभिलाषा बोकेको व्यक्तिका रूपमा शिक्षाका सम्बन्धमा म मेरा विचारहरू विनम्रतापूर्वक सम्प्रेषण गर्न आवश्यक ठान्दछु ।

प्रत्येक व्यक्तिसँग आ–आफ्ना सामर्थ्य छन् । र, ती सामर्थ्य पूर्ण विकास गर्न शिक्षाले प्रत्येक व्यक्तिलाई प्रेरित गर्न जरुरी छ । सबैका क्षमताहरू समान नहुन सक्छन् । व्यक्ति विशेषका रुचिका क्षेत्रहरू पहिचान गरी परामर्श तथा अन्य माध्यमबाट उनीहरूलाई मद्दत गर्नु एवम् उनीहरूका क्षमतालाई प्रस्फुटित गरी सार्थक बनाउनु हाम्रो अभिभारा हो ।

शिक्षा, ज्ञान र दक्षताबिना विकास सम्भव छैन । शिक्षाको स्तर, शिक्षाको गुणस्तर र प्रतिबद्धताको स्तरले नै विकासको स्तर निर्धारण गर्छ । ज्ञान र दक्षता भएको व्यक्तिले नै विकासका सम्भावनाहरू पहिल्याउन सक्छ र ती सम्भावनाहरूलाई सार्थक तुल्याउन मस्तिष्कको उपयोग गर्न सक्छ ।

तसर्थ, सबै प्राज्ञिक संस्थाहरूले यस तथ्यलाई हृदयङ्गम गर्न र व्यक्ति स्वयंका लागि र सिङ्गो मानवजातिका लागि अथाह मानव सामथ्र्यहरू प्रस्फुटित गर्ने कार्यमा मद्दत गर्ने शिक्षापद्धतिको विकास गर्न जरुरी छ ।

विश्वको यो खण्डले प्रमुख सभ्यताहरूलाई जन्माएको छ । हाम्रा पूर्वजहरू महान विचारक, नेतृत्वकर्ता, प्रवर्तक, अन्वेषक, अध्येता र शोधकर्ताहरू थिए । चीनका लाओजी, कन्फुसियस, लि विङ्, जस्ता महान हस्तीहरूले आफ्नो योगदानद्वारा चीन एवम् संसारका अन्य क्षेत्रमा गहिरो प्रभाव पारेका छन् । एसियाको यो भूखण्ड बुद्ध, महावीर जैन र अन्य महान विचारकहरूले प्रतिपादन गरेका आदर्शहरूले सिंचित भएको छ । पूर्वीय जगत इतिहासको कुनै कालखण्डमा समृद्धि र प्रगतिको उत्कर्षमा थियो भने पश्चिमा जगत त्यतिबेला अँध्यारोमै रुमल्लिरहेको थियो । 

बाँकी विश्वले हामीले जे आविष्कार गरयौँ र जे विकास गरयौँ, त्यसैलाई अनुकरण गर्दै गयो । ज्ञान, संस्कृति र परम्पराको त्यस्ता अमूल्य निधि हामीसँग हुँदाहुँदै पनि इतिहासको प्रवाहमा हामी किन पछि परयौँ भन्ने प्रश्नको जवाफ मैले भेट्टाउन सकिरहेको छैन । के हामी त्यो प्रवृत्तिलाई पुनर्जीवित गर्दै नयाँ इतिहास रच्न सक्षम छैनौँ र ? त्यसका लागि चाहिने तत्व भनेको हाम्रो दृष्टिकोण हो, त्यसका लागि चाहिने तत्व भनेको हाम्रो प्रतिबद्धता हो र हाम्रो आवश्यक कार्यतत्परता नै हो । 

तसर्थ, हाम्रो गौरवमय विगतको पुनरुत्थान गर्न र हाम्रा विशिष्ट र प्रतिष्ठित पूर्वजहरूको उत्तराधिकार सम्हाल्न हामीले समर्पित भएर काम गर्न जरुरी छ । गुणस्तरीय र व्यावहारिक शिक्षा नै सम्भवतः त्यो लक्ष्यप्राप्तिका लागि भरपर्दो बाटो हो ।

बढ्दो विश्वव्यापीकरण र सूचना प्रविधिको यो युगमा, राष्ट्रहरू र समाजहरूबीचको सम्बन्धलाई सम्पर्क सञ्जाल (कनेक्टिभिटी)ले नै पारिभाषित गर्दछ । जति व्याप्त सम्पर्क सञ्जाल हुन्छ, त्यति नै गहन सम्बन्ध बन्छ । आपसी सम्बन्धको प्रवर्द्धनका लागि पूर्वाधारहरूबीचको सम्पर्क सञ्जालका अतिरिक्त, जनताबीचको सम्पर्क सञ्जाल, संस्कृतिको र विचारहरूको सञ्जाल सम्पर्क उत्तिकै महत्वपूर्ण हुन्छन् । यस क्षेत्रमा विश्वविद्यालय जस्ता प्राज्ञिक संस्थाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । अध्येताहरू र विद्यार्थीहरूको आदानप्रदान मार्फत, तालिम र अध्ययन कार्यक्रमहरूको आयोजना मार्फत् यस्ता संस्थाहरूले जनताहरू र विचारहरूलाई एक आपसमा जोडी सम्बन्ध प्रवद्र्धन गर्दछन् ।

यही सन्दर्भमा, सिचुआन विश्वविद्यालयका अधिकारीहरूलाई नेपालका विश्वविद्यालयसँग सम्बन्ध विकासका निम्ति अनुरोध गर्न चाहन्छु । उहाँहरूलाई नेपालका विश्वविद्यालय र अन्य सम्बन्धित संस्थाहरूसँग अझ बढी सहकार्य गर्न, आदानप्रदान गर्न र अन्तरक्रिया गर्न अपिल गर्दछु ।



महिला तथा सज्जनवृन्द, आत्मीय मित्रहरू, 

अब मलाइ नेपाल–चीन सम्बन्धका बारेमा केही चर्चा गर्ने अनुमति दिनुहोस् ।

बुद्ध र महान् कन्फुसियसका भूमि हाम्रा देश, नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्धको लामो इतिहास रहिआएको छ । हाम्रा मुलुकहरूले संस्कृतिका साथै वाणिज्य, व्यापारका साथै सभ्यताको क्षेत्रमा सदियौँदेखि सहकार्य गर्दै आइरहेका छन् ।

हाम्रो मैत्री सम्बन्ध पञ्चशील, सार्वभौम समानता, अहस्तक्षेप र एक अर्काको संवेदनशीलताप्रतिको सम्मानको जगमा उभिएको छ ।

एक असल छिमेकीको रूपमा चीनका संवेदनशीलताप्रति नेपाल सदैव सचेत छ । ‘एक–चीन नीति’प्रति नेपाल प्रतिबद्ध छ भने कुनै पनि बाहानामा आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन दिएको छैन । र, त्यो प्रतिबद्धताप्रति नेपाल दृढ र अविचलित रहनेछ ।

त्यसैगरी, जनगणतन्त्र चीनले हाम्रो सार्वभौमसत्तालाई सम्मान गरेको छ, हाम्रा विकास प्रयासहरूमा सहयोग पुरयाएको छ । चाहे अनुकूल समयमा होस् वा प्रतिकूल समयमा, हाम्रा दुई देश सुखदुःखका साथीका रूपमा रहिआएका छन् । विकासका लागि हामीले गरेका प्रयासहरूमा प्राप्त चिनियाँ सहयोगको लागि हामी सदैव आभारी छौँ । र यो भ्रमणले हाम्रो सम्बन्धलाई नयाँ उचाइ दिएको छ भन्ने विश्वास मैले लिएको छु ।

नेपालका लागि सिचुआन प्रान्त अझ नजिक छ । तुलनात्मकरूपमा टाढा रहेका अरू प्रान्तहरूभन्दा सिचुआनसँग कायम रहेको हाम्रो सांस्कृतिक सम्बन्ध, जनस्तरको आदानप्रदान तथा आर्थिक अन्तरक्रिया निश्चय नै मजबुत छन् । यही कारणले गर्दा उच्चशिक्षा प्राप्तिका लागि छेङ्दु कैयौँ नेपाली विद्यार्थीहरूको सहज छनोटमा परेको छ । यस विश्वविद्यालयमा भर्ना भई शिक्षा आर्जन गरिरहेका नेपाली विद्यार्थीहरूको उल्लेख्य सङ्ख्या देख्दा मलाई खुशी लागिरहेको छ । आगामी दिनहरूमा हाम्रो सम्बन्ध र अन्तरक्रियामा विकसित हुने गहनता र बिस्तारसँगै, यो सङ्ख्यामा वृद्धि हुनेछ भन्नेमा म विश्वस्त छु । यस भ्रमणका दौरान जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिले हाम्रो निकटताको तथ्यलाई पहिचान गर्दै सिचुवान र नेपालबीच सहयोगलाई थप सबलीकृत गर्न प्रोत्साहन गरेको छ । यस परिप्रेक्ष्यमा, सिचुआनसँगको हाम्रो सम्बन्ध र अन्तरक्रिया घनीभूत भई स्वाभाविकरूपमा सिचुआन विश्वविद्यालयसँगको हाम्रो आबद्धता अझ मजबुत हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

महिला तथा सज्जनवृन्द,

नेपाल, गत वर्ष भएको लोकतान्त्रिक एवं समावेशी संविधानको घोषणा र राजनीतिक मामिलाहरूको निरुपण पश्चात् आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेको छ । देशका सबै क्षेत्रहरूको आर्थिक–सामाजिक विकास गर्दै समृद्ध समाजको निर्माण गर्नु हाम्रो उद्देश्य रहेको छ र यो उद्देश्य प्राप्त गर्ने सन्दर्भमा चिनियाँ जनता र सरकारको सहयोग हामीसँग सदाझैँ रहनेछ भन्नेमा विश्वस्त छु ।

हामीले सम्पर्क सञ्जालका विविध माध्यममार्फत् सीमापार सम्बन्धलाई उच्चप्राथमिकता दिएका छौँ । राष्ट्रपति सि जिङपिङले अघि सार्नुभएको ‘वान वेल्ट वन रोड’को अभियानबाट नेपालले लाभ लिन सक्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । एक भूपरिवेष्ठित देश नेपालका लागि सम्पर्क सञ्जालको महत्व टड्कारो रहेको छ । यस भ्रमणका दौरान चीनसँग पारवहन यातायात सम्झौतामा हस्ताक्षर गरी हामीले एक महत्वपूर्ण उपलब्धि हासिल गरेका छौँ । सम्पर्क सञ्जालका अन्य क्षेत्रमा एवं सीमापार सेतु निर्माणमा यसले योगदान गर्नेछ । 

अन्त्यमा, नेपाल–चीनबीचको बहुआयामिक सम्बन्धले विगत छ दशकमा उल्लेख्य प्रगति हासिल गरेको छ । समयको आवश्यकता र जनताको आकाङ्क्षा बमोजिम हाम्रो सम्बन्ध सुढृढ गराउन हामी प्रतिबद्ध रहेका छौँ । आपसी हित र समानता हाम्रो सम्बन्धका कडी हुन् । आगामी दिनहरूमा नेपाल–चीन सम्बन्ध झन् भन्दा झन् सुदृढ हुनेछ भन्नेमा हामी आश्वस्त छौँ । 

यति भन्दै, म यहाँहरू सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।  

(सिचुआन विश्वविद्यालय, छेङ्दुमा २७ मार्च २०१६ मा दिनुभएको मन्तव्यको अनुदित पाठ)

सम्बन्धित