२६ मङ्सिर(२०८१), तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।
तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो ।
यस क्रममा उहाँले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गर्नुभएको छ ।
विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएकोप्रति खिन्नता व्यक्त गर्दै विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मेहनत खेर जाने बताउनुभयो ।
‘एसइईमा विद्यार्थी पास भएनन् भने उनीहरूको भविष्य समाप्त हुन्छ । एसइईभन्दा माथि जान नसक्दा उनीहरूमा निराशा उत्पन्न हुन्छ । विद्यार्थी फेल हुनु एक प्रकारको अपराध हो ।’, प्रधानमन्त्री ओलीले भन्नुभयो– शिक्षकहरूमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्छ । विद्यार्थीहरूले मेहनत गर्नुपर्छ । पढाइमा सफल हुने विद्यार्थीले विकास र समृद्धिमा योगदान दिन सक्नेछन् । म सबै विद्यार्थी भाइबहिनीहरू र शिक्षकलाई यो गम्भीरता बुझेर मेहनत गर्न आग्रह गर्दछु ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पढेका र खेलेका दिनहरूको पनि स्मरण गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउण्डेसन र यसमा सघाउने सम्बन्धित पक्षलाई धन्यवादसमेत दिनुभयो ।
प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गर्नुभएको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले रु. चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु. २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु. ६९ लाख लगानी गरेका छन् । पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो ।
प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको ।
कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो ।