NP EN

‘३३ प्रतिशत महिला सहभागिता सानो उपलब्धि होइन’

१८ भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ । 
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरूको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको छ । 
प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको र त्यसको अक्षरशः पालनाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै जातिप्रथालाई कानुनीरूपमै अन्त्य गरिएको स्पष्ट गर्नुभयो ।
संविधान बन्नुअघि नै संसदबाट राज्यका तीनै तहका सबै निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको जनाउँदै उहाँले यसलाई सानो उपलब्धि मान्न नसकिने भनाइ राख्नुभयो । 
प्रधानमन्त्री ओलीले नेपालले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र मुख्यसचिव पाइसकेको उदाहरण प्रस्तुत गर्दै राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक सहजीकरण भइरहेको सुनाउनुभयो ।
नेपालमा अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको र गरिबी निवारणको लक्ष्य पूरा नगरीकन सबै नागरिकलाई आधारित अधिकारबाट सम्पन्न गराउन सम्भव नहुने बताउँदै उहाँले भन्नुभयो– हामीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गर्नेछौं । अन्तर्राष्ट्रिय प्रतिबद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध छौं । नेपालको गरिबी उन्मूलन गर्नेछौं । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नेछौं ।
मुलुकलाई समृद्ध नबनाई जनतालाई खुसी बनाउन नसकिने स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताको साझा लक्ष्य प्राप्तिका लागि सरकार र मानव अधिकार आयोगसँगै काम गरिरहेको अवगत गराउनुभयो । 
उहाँले भन्नुभयो– मुलुकको विकासका लागि समृद्धिले मात्रै काम गर्दैन । शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभूति गर्नुपर्छ । त्यसका लागि सरकारले काम गरिरहेको छ ।

सम्बन्धित