NP EN

‘हामी न्यायोचित राष्ट्रिय हितलाई केन्द्रभागमा राख्छौं’

केपी शर्मा ओली

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

–हाम्रो वैदेशिक सम्बन्ध, परराष्ट्र सम्बन्ध विश्व शान्तिसँग सम्बन्धित छ, मानवतावादसँग सम्बन्धित छ, सर्वोपरि मानवीय हित र सुरक्षासँग सम्बन्धित छ 

–हामीले हाम्रो भौगोलिक अवस्था, भूराजनीतिलाई बिर्सिएका छैनौं । तर, भूराजनीतिका नाममा सत्तास्वार्थ भजाउने, सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जेसुकै पनि निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहीन र अनैतिक काम हामी गर्दैनौं 

–हाम्रो देश विश्वका एक सय चौरानब्बे देशमध्ये चालिसौंमा पर्छ,हामीले सानो देशको हिनताभाव पाल्नुपर्ने आवश्यकता छैन 

हामीले वैदेशिक मामला सञ्चालन गर्दा हामी एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हौं भन्ने कहिल्यै बिर्सिनु हुँदैन । हाम्रो स्वाधीनता, हाम्रो स्वतन्त्रतालाई कहिल्यै बिर्सिनु हुँदैन । हामी आन्तरिक र बाह्य आफ्ना निर्णयहरू गर्न स्वतन्त्र छौं । हामी कहिल्यै पराधिन थिएनौं, छैनौं र भोलि पनि हुँदैनौं । हामी हाम्रो भौगोलिक सीमा क्षेत्रफलको रक्षामा प्रतिबद्ध छौं । भौगोलिक अखण्डता अथवा हाम्रो राष्ट्रको भूगोल अखण्ड छ । यस कुरालाई ध्यानमा राखेर नै हामी चल्छौं । हामी राष्ट्रिय हितहरूलाई सर्वाधिक महत्व दिन्छौं । राष्ट्रिय हित भन्नाले थुप्रै कुरालाई समेट्छ । जसको मैले धेरै व्याख्या गर्नु पर्दैन । हामी राष्ट्रिय हितलाई केन्द्रभागमा राख्छौं । तर, हाम्रो सदैव मान्यता रहिआएको छ– राष्ट्रिय हितभन्दा हामी जसो गर्दा राष्ट्रलाई फाइदा हुन्छ, त्यसो गर्ने मात्र होइन । हामी न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तरदायित्व जोडिएको राष्ट्रिय हित चाहन्छौं । इन्टरनेशनल अब्लिगेशन र जष्टिससहितको नेशनल इन्ट्रेस्ट भन्छौं । यस कुरामा हामीले ध्यान पुुर्याउनु पर्दछ । ठूलो होस्, सानो होस्, कुनै पनि देशले न्यायोचित हितहरूमा ध्यान दिनु पर्छ । आफ्नो जसरी पनि हित भन्यो भने साना र कमजोरहरूका हित निमोठिन सक्छन् । न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व सहितको राष्ट्रिय हित भन्यो भने कमजोर र साना देशहरूको पनि हित सुरक्षित रहन्छ । तसर्थ, हामी आधारभूत रूपमा यी कुराहरूलाई मान्छौं । यी कुराहरू सँगसँगै हाम्रो वैदेशिक सम्बन्ध, परराष्ट्र सम्बन्ध सबै कुरा विश्व शान्तिसँग सम्बन्धित छ, मानवतावादसँग सम्बन्धित छ, सर्वोपरि मानवीय हित र सुरक्षासँग सम्बन्धित छ । मानवीय हित र सुरक्षा यी कुराहरूलाई विश्व शान्तिको पक्षपोषण गर्दै हामी अगाडि बढ्छौं । त्यसका निम्ति हाम्रा स्थापित मान्यताहरू छन् । हामी असंलग्न तटस्थ परराष्ट्र नीतिमा दृढ र अडिग छौं । हामी कहीँ द्वन्द्व भयो, ती द्वन्द्व र शक्तिहरूका बीचमा तनाव भयो भने ती तनावहरूको पक्ष/विपक्षमा लागेर धुरा पस्दैनौं । निष्पक्षताका साथ शान्तिपूर्ण ढङ्गले संवादद्वारा समस्याको समाधान हुनुपर्छ भन्ने मान्यतामा हामी रहन्छौं । 
हामीलाई गाइड गर्नका निम्ति संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्न आन्दोलन र पञ्चशीलका सिद्धान्तहरू छन् । कसैको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, विविधताका बीचमा सहअस्तित्व जस्ता पक्षहरूलाई महत्व दिने, पारस्परिक लाभ र सम्मानका हिसाबले काम गर्ने यस्ता सिद्धान्तहरूमा पनि हामी स्पष्ट र अडिग छौं ।
हामीले विभिन्न समयमा विभिन्न प्रकारका सन्धि सम्झौता गरेका हुन्छौं । अन्तर्राष्ट्रिय रूपमा जुन दुईपक्षीय होस्, त्रिपक्षीय होस्, बहुपक्षीय होस्, क्षेत्रीय होस् वा अन्तर्राष्ट्रिय, यस्ता सम्झौताहरूमा जहाँ हामी सम्झौता गर्छौं, हामी त्यसको पक्ष हुन्छौं । त्यो सन्धि सम्झौताको पालना गर्नु हाम्रो पनि कर्तव्य हुन्छ र त्यसबाट हामीले अधिकतम लाभ लिन पनि कोसिस गर्नु पर्दछ । हाम्रा आधारभूत नीतिहरू यी हुन् । हामीले हाम्रा कोही पनि शत्रुु छैनन्, सबै हाम्रा मित्र हुन्, हामी सबैका मित्र हौं, कसैका पनि शत्रु होइनौं भन्ने नीति लिएका छौं । यी हाम्रा स्थापित र आधारभूत नेपालका राष्ट्रिय नीतिहरू हुन् । विदेश मामला सञ्चालनसम्बन्धी, व्यवहारसम्बन्धी यी नीति हुन् ।
हामीले हाम्रो भौगोलिक अवस्था, भूराजनीतिलाई बिर्सिएका छैनौं । तर, भूराजनीतिका नाममा सत्तास्वार्थ भजाउने, सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जेसुकै पनि निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहीन र अनैतिक काम हामी गर्दैनौं । त्यो कुरामा हामी अडिग रहन्छौं । यो नेपालको राष्ट्रिय नीति हो । कोही त्यसबाट बाहिर गएर काम गर्छ भने उसले राष्ट्रिय नीतिमा नचलेको हो, उसले गरिरहेको क्रियाकलाप वा अपनाएको नीति राष्ट्रिय नीति होइन । 
हामी यसरी एउटा जिम्मेवार, विश्व शान्तिको पक्षधर, न्यायको पक्षधर, कानुनी हैसियत, मान्यताको हिसाबले समानताको हैसियतले अगाडि बढ्ने हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध वा सम्पूर्ण वैदेशिक मामलाका पक्षमा छौं ।
आर्थिक कूटनीति र अरु विभिन्न कूटनीति हुन्छन् । हामी ती सबै कूटनीतिलाई यथोचित र सक्दो सकारात्मक हिसाबले प्रयोग गर्न सक्छौं । यसमा सांस्कृतिक हुनसक्छ, यसभित्र खेल कूटनीति हुनसक्छ, व्यापारिक कूटनीति हुनसक्छ, औद्योगिक, शैक्षिक कूटनीति हुनसक्छन् वा अरु कूटनीति पनि हुनसक्छन् । यी सबै कूटनीति राष्ट्रिय स्वाभिमान र पारस्परिक सम्मान र प्रत्यक्ष वा परोक्ष लाभका आधारमा गरिएका हुन्छन् । यी पक्षहरूलाई हामीले ध्यान दिएर चल्नुपर्ने हुन्छ । हाम्रा नीतिहरू मूलतः यी हुन् । 
हाम्रो भूराजनीतिको कुरा गरिरहँदा राष्ट्रिय हितमा अडान नलिने अनि भूराजनीतिलाई अपजस लगाएर आफ्नो कायरतालाई लुकाउने भूराजनीति होइन । भूराजनीति भनेको सावधानीसाथ सन्तुलित र दृढताका साथ राष्ट्रिय हितको रक्षा गर्न चनाखो हुनु हो । भूराजनीति भनेको राष्ट्रिय हितको रक्षा गर्नु हो । भूराजनीतिको अवस्था र परिस्थिति अनुसार आफ्ना राष्ट्रिय हितहरूको रक्षा गर्नु भूराजनीति हो । भूराजनीतिका नाममा राष्ट्रिय हितको रक्षा नगर्नु, अनि स्वाभिमान विरुद्धका नीति लिनु, राष्ट्रिय हित विपरीतका कदमहरू चाल्नु भूराजनीति वा भूराजनीतिक बाध्यता होइन । यस कुरामा पनि हामी स्पष्ट हुनुपर्दछ । भूराजनीतिले हामीलाई सावधान बनाउँछ । भूराजनीतिले सावधानीसाथ व्यवहार गर्न, कदम चाल्न, मैत्री सम्बन्ध, लेनदेन, कारोवार, व्यापार, सहायता, सहयोग, ऋण,  लगानी, जोइन्ट भेन्चर सबै पक्षमा पनि अवश्य प्रभावित गरेको हुन्छ । त्यहाँनिर सन्तुलन र सावधानिको आवश्यकता हुन्छ । तर, यसको अर्थ घुँडा टेक्नु होइन । घुँडा टेक्नुु भनेको राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तास्वार्थका पछाडि कुद्नुलाई भनिन्छ । हिनताबोधबाट ग्रस्त हुनु अहिले कुनै आवश्यकता छैन । हाम्रो देश ठूला दुई देशका बीचमा भएर मात्रै सानो भनिएको हो नत्र तीन करोडभन्दा बढी जनसङ्ख्या भएको देश र झण्डै डेढ लाख स्क्वायर किलोमिटरको क्षेत्रफलमा फैलिएको यो देश सानो भन्न मिल्दैन । हाम्रो देश विश्वको चालिसौं देशमा पर्छ होला । एक सय चौरानब्बेमध्ये चालिसौंमा पर्छ, एक सय चौवन्न देश त हामीभन्दा साना छन् त ! त्यसकारण हामीले सानो देशको हिनताभाव पाल्नुपर्ने आवश्यकता छैन । हामीले हाम्रा छिमेकी मित्रहरूसँग खुलस्त मित्रतापूर्ण ढङ्गले आफ्ना कुराहरू राख्नु पर्दछ । आफ्नो दृष्टिकोण, आफ्नो पोजिशन, आफ्ना हितहरू यहाँनिर छन् र यी जायज छन् भन्ने कुरा खुलस्त ढङ्गले पुष्टि गर्नु पर्दछ । 
यी सबै कुराहरू अघि डा. युुवराज खतिवडा र अरु साथीहरूले पनि राख्नुभयो । यी सबै केमा आधारित छन्, बीआरआई, एमसीसी, हवाइ उड्डयनका सम्बन्धमा, सीमानाकाहरूका सम्बन्धमा, उद्योग कहाँ खोल्ने, नखोल्ने कुराहरूको सम्बन्धमा यी जहाँ जहाँ चर्चा हुने गरेका छन्, यी चर्चा यिनै परिस्थितिहरूलाई ध्यानमा राखेर चल्ने गरेका छन् । तर, हामीले हाम्रो राष्ट्रिय जायज हितलाई स्पष्टताका साथ तर्कपूर्ण ढङ्गले र तथ्यपूर्ण ढङ्गले प्रस्तुत गर्नु पर्छ । अन्तर्राष्ट्रिय/राष्ट्रिय मञ्च अथवा यो वा त्यो कुनै इस्यु वातावरणीय प्रश्न होस् कि अथवा मानवअधिकारका प्रश्न होउन् वा अरु प्रश्न, शान्तिका प्रश्नहरू होउन्, हतियारका प्रश्नहरू होउन् जुन सुकै कुरा गर्दा पनि हामीले यी पक्षहरूलाई केन्द्रभागमा राखेर नै गर्ने हो । हाम्रा सबै व्यवहार, डकुमेन्ट, सम्झौता, सन्धि, सहमति, एमओयु यी कुराबाट निर्देशित हुन्छन् । पहिले बुुझ्ने कुरा यिनीहरू हुन् । जुनसुकै कुरा गर्दा पनि हामीले यिनीहरूमा स्पष्ट भएर यिनका आधारमा गरेपछि कहीं पनि भुलचुक हुने सम्भावना हुँदैन । तसर्थ, हामीले उत्ताउलो नभइकन आफ्ना कुराहरू खुलस्त र स्पष्टताका साथ राख्नु पर्छ । कतिपय मान्छेलाई लाग्छ, स्पष्टताका साथ कुराहरू राख्नु हुँदैन । डिप्लोमेसी भनेको भरसक आज कुरा गर्यो भने भोलिपल्ट बुझिने खालको हुनुपर्छ भन्ने कतिलाई लाग्छ । त्यस्तो डिप्लोमेसी काम नै लाग्दैन । आज गरेको कुरा अहिले नै बुझ्नु पर्यो, भन्दाभन्दै बुुझ्नु पर्यो, तबमात्रै त्यो डिप्लोमेसी काम लाग्छ । अर्काले भनेको पनि बुझिंदै बुुझिएन, घरमा आएर सोच्यो, भोलिपल्ट बुझियो भने के काम ? त्यसकारण हामीले पनि सोध्नु पर्छ, यो तपाईंको कुरा बुझिएन, अलिक स्पष्ट पार्नुस् त भनेर । बुझिएन भने बुझिनेगरी भन्न लगाउनु पर्दछ र त्यसलाई यथोचित ढङ्गले अगाडि बढाउनु पर्छ । हामीले पनि बुझिनेगरी भन्नु पर्छ, जिब्रो चपाएर डिप्लोमेसी हुँदैन । डिप्लोमेसीका विभिन्न रूप र क्षेत्र छन् । तर डिप्लोमेसी जिब्रो लट्पट्याउने, नबुझिने भाषा बोल्ने, अँ, अँ गरेर समय सिध्याउने कुरा होइन । डिप्लोमेसी बुझिने गरी गरिने कुरा हो । त्यसो गर्दा अर्को आफूँसँग संवाद गरिरहेको मान्छे पनि स्पष्ट हुन्छ र त्यस कुरासँग उ जवाफ दिनका लागि, त्यस कुरासँग डिल गर्नका लागि आफूलाई मेन्टल्ली तयार पार्छ । त्यसो भएर त्यस ढङ्गले हामी जानु पर्छ । 
म अहिले कुनै अन्तर्राष्ट्रिय घटना क्रम अथवा अरु चिजको विषयमा प्रवेश गर्न भ्याइनँ पनि र गर्दिनँ पनि ।
हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश सम्बन्ध सबैभन्दा पहिले छिमेक सम्बन्धबाट शुरू हुन्छ । हाम्रा दुईवटा छिमेकीहरू राम्ररी कुरा नगरेर र आन्तरिक रूपमा विभिन्न खालका खेलहरू खेलिएर सम्बन्धहरू अलिक जटिल जस्ता बनेका हुन् । हाम्रा छिमेकीहरूसँगका सम्बन्ध जटिल छैनन् । आन्तरिक रूपमै सत्तास्वार्थका लागि वा विभिन्न सङ्कीण स्वार्थका लागि खेल्ने खालका प्रवृत्ति र राष्ट्रिय हितभन्दा ठूलो कुरा अरु ससाना खुद्रा मसिना कुरालाई बनाइदिने तरिकाहरू, प्रवृत्तिहरूले गर्दा यी जटिल बनेका हुन् । जटिल जस्ता देखिएका हुन् । तर यी कुराहरू जटिल छैनन् । त्यसकारण हामीले सरलताका साथ सहज ढङ्गले यी पक्षहरूलाई अगाडि बढाउनु आवश्यक छ । 
सांसदहरूलाई आफ्नो विषयमा राम्रो ज्ञान हुनुपर्छ
हाम्रा माननीयज्यूहरू विभिन्न समितिमा हुनुहुन्छ, विभिन्न समयमा बाहिर जाने मौका मिल्छ । मैले सबै माननीयज्यूहरूलाई भन्ने गरेको छु, कमसेकम अंग्रेजीलाई काम चलाउ लेवलमा राख्नुस् । अंग्रेजीलाई अलिकति बोल्न सकिने लेवलमा राख्नुस् । त्यो विकास गर्नै पर्छ । अर्को कुरा यी आधारभूत प्रश्नहरू पहिले बुझ्नु पर्छ । कृषिको सम्बन्धमा हामी व्यवहार गर्दैछौं भने कृषि कुन अवस्थामा छ, के गर्नु पर्ने छ भन्ने बुझ्नु पर्दछ । खासगरी जुन माननीयजी जुन कमिटीमा हुनुहुन्छ, हो त्यो कमिटीका विषयमा दख्खल हुनुपर्दछ । त्यसमा सम्बन्धित व्यक्तिले नेतृत्व गर्नु पर्दछ । हामीले नेतृत्व गर्ने फोकल पर्सन तोकेका छौं । तर तोकेर पनि लिड भएन भने तोकेर मात्रै के गर्ने ? त्यसकारण नेतृत्व गर्न सक्नु पर्दछ, गाइड गर्न सक्नु पर्दछ, अरु भन्दा बढी अध्ययन गर्न सक्नु पर्दछ, अरुभन्दा बढी विज्ञहरूसँग कन्सल्टेशन गर्न सक्नु पर्दछ । सन्दर्भ सामग्रीहरूको कन्सल्टेशनसँग बस्नुु पर्यो । तिनीहरूको फिडब्याक लिनु पर्यो । एकदमै तत्कालका विषयहरूसँग विज्ञहरूसँग पनि परामर्श लिने र अरु सञ्चार माध्यमहरूबाट पनि परामर्श लिने र त्यस कुराको  पनि सदुपयोग गर्ने । त्यस कुराले आपूmलाई अप टु डेट राख्न सकिन्छ । यसरी माननीयजीहरू जानु पर्दछ । जानिन वा बुझिन भन्न अप्ठ्यारो मान्न हुँदैन । कुनै कुरा बुझेको छैन भने बुझिन भन्न अप्ठ्यारो मान्न हुँदैन । नबुझेको कुरा बुझिंदैन, संसार सबैले बुझेको कहाँ छ र ? महाविद्वान् कोही छ भने उसले सबै कुरा जानेको हुन्छ ? त्यस्तो कोही पनि हुँदैन र त्यो सम्भव पनि छैन । एउटा गाइनोको सर्जनले हाडजोर्नीको अप्रेशन गर्छ ? हाडजोर्नीको सर्जनले नाक कान र घाँटीको अप्रेशन गर्छ ? हाडजोर्नीको सर्जनले मुटुको अप्रेशन गर्छ ? मुटुको अप्रेशन गर्नेले फेरि आँखाको अप्रेशन गर्छ ? गर्दैन । त्यसकारण आफ्ना आफ्ना ज्ञानका क्षेत्र हुन्छन् । आफू सबै कुरा जानेको छु भन्ने होइन । कसैले पनि सबै कुरा जानेको हुँदैन, सिक्नु पर्दछ । सिक्ने उत्सुकता र तत्परता हामीसँग हुनुपर्छ । विज्ञका कुरा सुन्दा नोट गर्नु पर्छ तर सबै अद्योपान्त टिप्ने होइन । के महत्वपूर्ण बुँदा भनियो, त्यो टिप्नु पर्दछ । के बुझ्न पर्ने आधारभूत कुरा गरियो त्यो टिप्नु पर्दछ । सबै सन्धि सम्झौता कसैलाई कण्ठ हुन्छ ? हुँदैन, फेरि हेर्ने हो । हामीलाई जसले गाइड गर्न आउनुु हुन्छ, प्रशिक्षकहरू आउनुु हुन्छ, विज्ञहरू आउनुु हुन्छ भने उहाँहरूले तत्काल के विषयमा प्रशिक्षण गर्नु हुन्छ, त्यसै विषयमा ताजा तयारीका साथ आउनु हुन्छ । पोहोर गरेको तयारीले अहिले हुँदैन । अहिलेको तयारीका साथ आउनु हुन्छ । त्यसै गरेर हामी कसैलाई पनि सबै कुरा कण्ठै बसेको हुँदैन । हामीलाई के चाहिने हो, कति चाहिने हो, त्यसअनुसार तयार हुनुपर्छ । आफूलाई अपडेट गर्नु पर्छ । मुख्य कुरा अध्ययनको आदत र बानी गर्नु पर्छ र अध्ययन उपलब्धिपूर्ण ढङ्गले गर्नु पर्छ । अध्ययन यदि फलदायी ढङ्गले गर्न सकिएन भने त्यसको केही काम हुँदैन । पढेको छ, ध्यान कहाँ छ, किताब त सकियो, त्यसको केही काम छैन । समय व्यवस्थापन गरेर अध्ययन गर्नु पर्छ । मैले एउटा किताब फेला पारें, राती १२ बजे फुर्सद भयो, १२ बजेबाट पढ्न थालेको पढेर सिध्याउँदा बिहानको ५ बजेछ ! त्यो तरिकाले पनि पढ्ने होइन । मसँग बिहानदेखि समय हुँदैन्थ्यो, मैले बलजफ्ती लजा भनेर पढ्दिएँ । तर, त्यो कुरा गर्नु हुँदैन, समय मिलाउनु पर्दछ र समयलाई ध्यानमा राख्नु पर्छ, समयअनुसार चल्नु पर्छ । हामी अनुसार समय चल्दै चल्दैन । अब आज बेलुका नबनाएर दिउँसै राखौं भनेर हुँदैन । हाम्रो काम सकिएन, सबै मिलेर आजको दिनलाई कन्टिन्यु गरौं भन्दा हुँदैन । यो कुरालाई ख्याल गरेर आफ्नो समय तालिका बनाएर अध्ययन गर्नु पर्छ । 
माननीयज्यूहरूको संसदमा उपस्थिति नाजुक देखिन्छ । किन नाजुक छ, त्यस्तो साह्रो ? माननीयजीहरू संसदमा सांसदको भूमिका खेल्न आउनु भएको छ, कहिले कहिले कुनै विषयलाई लिएर एउटा मन्त्रालय जानु पर्ला एकछिन् तर माननीयजीहरू कहाँ कहाँ भेटिनु हुन्छ हुन्छ ! त्यसकारण माननीयजीहरू कता कता भेटिनुभन्दा संसदमा भेटिनु पर्यो, संसदमा चुस्तदुरुस्त तयारी भएर आउनु पर्यो, आज के विषयको छलफल छ, आजको एजेण्डा के छ, विषयहरू के छन्, विधेयक के छन्, प्रस्तावहरू के आउँछन् भनेर तयार भएर आउनु पर्छ । 
हामीले अलिक जिउँदो, जाग्दो भएर प्रस्तुत हुनुपर्छ । हाम्रो सशक्त वाद, विवाद र प्रतिवाद हुनुपर्दछ । हाम्रा सही कुरा स्ट्रोङ्ल्ली राख्नु पर्दछ र गलत कुराको स्ट्रोङ्ल्ली खण्डन गर्नु पर्दछ । संसदमा आफू त भलाद्मी, बोल्न हुँदैन, अरु जस्तो हो र, म त्यति तल गएर बोल्न सक्दिन, विरोधीलाई जवाफ दिएर भन्न सक्दिन ! भन्ने यस्तो नाजुक स्थिति छ । हुती छ  बोल्ने, खण्डन गर्ने हुती छ ? भनेर माथिबाट हप्काउँछ । यसरी त म जान्न भन्छ, तर छ हुती भन्न सक्दैन । त्यस्तो खालको अलिक हुनु हुँदैन । हुती छ भन्ने हुनुपर्छ । तपाईंका कुरा खण्डनीय छन्, त्यसकारण खण्डन गर्छु भन्न सक्नु पर्छ । बेलायको संसद हेर्नुस्, प्रधानमन्त्री यहाँ जस्तो रोष्टममा जाने चलन हुँदैन, त्यहीँ बसेको ठाउँबाट बोल्छ । अर्कोले बोल्ने बित्तिकै प्रधानमन्त्री जुरुक्क उठिहाल्छ र उसले खण्डन गरिहालेको हुन्छ । मोदीजीको हेर्नुस्, बहस गरिराखेको हुन्छ, उठिराखेको हुन्छ, प्रतिवाद गरिराखेको हुन्छ । अरुले डिस्टव गरिराखेका हुन्छन् तर पनि उसले प्रतिवाद गरिराखेको हुन्छ । अरुले बोल्न रोक्न खोजेका हुन्छन्, उसको पक्षले हुटिङ गरेर साइलेन्ट गर्न खोजेका हुन्छन् । संसद भनेको जिउँदो र जाग्दो हुन्छ । यहाँ एउटा कराइराखेको छ, अर्को शिर झुकाएर बस्छ । त्यस्तो संसद होइन, संसद अलिकति जिउँदो र जाग्दो हुनुपर्छ । त्यसकारण हाम्रो नलेज संस्कृतमा एउटा श्लोक छ, पुस्तकस्था तु या विद्या परहस्तगतं धनम् । कार्यकाले समुत्पन्ने नसा विद्या न तद्धनम्।।  भन्छ । अथवा पुस्तकमा राखेको विद्या वा प्रयोग नगरिने विद्या, जानेको छ, भनिंदैन, बोलिंदैन, सिकाइंदैन भने पुस्तकमा राखेको, दराजमा राखेको विद्या, अर्काको हातमा गएको धन चाहिएका बेला त्यो काम लाग्दैन ।  न विद्या काम लाग्छ, न धन । त्यसकारण नबोली नबोली बनाएको दराजको शास्त्र काम लाग्दैन । नबोलेर बिर्सिएको विद्या पनि काम लाग्दैन । त्यसलाई चलाइराख्नुु पर्छ । चलाइराख्यो भने प्रशोधित भएर आउँछ । बाग्मती यहाँ प्रदूषित छ, तल पुुग्दा किन कञ्चन भएर आउँछ ? बग्दै गएपछि कञ्चन हुँदै जान्छ । त्यो नेचुरल रिफाइनरी हो । यहाँ धुलो उडाइदिनुस्, परतिर पुुग्दा हावामा धुलो हुँदैन । त्यसले धुलो फ्याकिसकेको हुन्छ र स्वच्छ भएर बस्छ । पानी धमिलो भएको हुन्छ, फोहोर भएको हुन्छ, तर बग्दै जाँदा त्यो कञ्चन हुन्छ । बर्खाभरिको बाढीको पानी समुद्रतिर जान्छ, समुद्रमा मिसिंदा धमिलो देखिन्छ तर परतिर समुद्रमा पुगेपछि जस्ताको तस्तै नीलो समुद्र हुन्छ । यत्रो धमिलो पानी जाँदा त समुद्र नै फोहोर देखिनुुपर्ने नि, बग्दै जाँदा त्यहाँ पुग्दा धमिलो देखिने मात्रै हो । त्यहाँ पुगेपछि कम धमिलो हुँदै जान्छ र समुद्रका छालले वालुवा पछाडि फ्याकिन्छ र पानी मात्रै आउँछ । फेरि फेरि धकेलिरहन्छ । हाम्रो संसद त्यस्तै हुनुपर्छ । 
यस सन्दर्भमा आज धेरै समय नलिउँं । आज वैदेशिक मामला हो तर वैदेशिक होस् कि देशी होस् । कुनै पनि मामला चलाएन र चलेन भने काम लाग्दैन । हिन्दीमा एउटा भनाइ छ ः पान क्यु सडा, घोडा फेरा नही गया भन्छ । पान किन सड्यो भन्दा पानी चलाइराखेन, पानी फेरिराखेन भने पान सडेर जान्छ । कुद्ने घोडा पनि एकदुई महिना कुदाउनु भएन भने कुद्न बिर्सिन्छ, कुद्ने अभ्यास पनि बिर्सिन्छ, भारी बोक्ने अभ्यास पनि बिर्सिन्छ । घोडा कुद्न सक्दैन, अडिन्छ । किनभन्दा कुदाइएन, कुदेन । त्यसकारण खोलाहरू बग्छन्, बग्नु जिन्दगी हो, हावा चलिराखेको हुन्छ, चल्नु जिन्दगी हो । हामी पनि सिकेका कुराहरूलाई लिएर त्यसरी नै अगाडि बढ्नु पर्दछ भन्दै आफ्नो भनाई टुङ्ग्याउँछु । धन्यवाद ।
(सम्माननीय प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८१ माघ ७ गते नेपालको परराष्ट्र नीतिबारे पार्टीको परराष्ट्र मामिला विभाग र संसदीय विभागद्वारा संयुक्तरूपमा आयोजित सांसद संवाद कार्यक्रममा राख्नुभएको विचारको पूर्णपाठ)

 

सम्बन्धित