NP EN

‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छः प्रधानमन्त्री

युवा कानुन व्यवसायी सम्मेलन
१६ माघ (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताउनुभएको छ ।
नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन, २०२५ को उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारी र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने  बताउनुभयोे ।
उहाँले राजनीतिक दलहरूको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सांसदहरूले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गर्नुभयो ।
‘संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकायहरू त्यसअनुसार चल्नुपर्छ । सन्तुलन र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफै कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीको सक्रिय साथ रहने मैले विश्वास लिएको छु ।
प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरू कार्यान्वयनका लागि सरकारबाट तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतमभन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले सरकार कानुन व्यवसाय र युवाहरूको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाई र उन्नतिका लागि सरकारले कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने विश्वास दिलाउनुभयो ।
अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो । ​

सम्बन्धित