NP EN

‘निरोगी नेपाल’ अभियान सञ्चालन गर्न  स्वास्थ्य मन्त्रालयलाई कार्यादेश

२४ साउन(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई  निर्देशन दिनुभएको छ । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ भएको  स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने  कार्यक्रमबारेको छलफलमा उहाँले राज्यको बजेट न्यून भएको अवस्थामा भौतिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक विधिलाई प्राथमिकता दिने गरी कार्यक्रम निर्माण गर्न निर्देश गर्नुभयो । 
प्रधानमन्त्री ओलीले अस्पतालहरूमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको अन्त्य होस् भन्ने विषयमा चासो व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र झञ्झट सहजरूपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर मन्त्रीलगायत सम्बन्धित अधिकारीहरूलाई सोध्नुभएको थियोे । 
उहाँले चिकित्सक र स्वास्थ्यकर्मीलाई उचित सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरे बिरामीलाई क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ भन्नुभयो । 
बिरामीलाई भर्ना नगरी उपचारै नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै उहाँले स्वास्थ्य बीमालाई व्यावहारिक र कार्यान्वयनयोग्य बनाउन आग्रह गर्नुभयो । 
प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई आवश्यक  सेवा सुविधा उपलब्ध गराई बिरामीको सेवा परिचालन गर्न सुझाव दिनुभयो । उहाँले अस्पतालमा  आकस्मिक सेवालाई प्रभावकारी बनाउन र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप जिम्मेवार बनाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।
स्वास्थ्य र अन्य क्षेत्रमा अनावश्यक उपकरण तथा औषधि खरिद गर्ने र थन्क्याउने काम भइरहेको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीले राज्यको स्रोत र साधनको दुरुपयोग अन्त्य गर्न निर्देशन दिनुभयो । 
उहाँले भन्नुभयो– खरिद गरिएका उपकरण र औषधि प्रयोग भएनन् भने निजी क्षेत्र वा अन्य कुनै परोपकारी संस्थालाई पनि दिन सकिन्छ तर दुरुपयोग वा प्रयोगबिहीन हुनुभएन, यसतर्फ विशेष ध्यान दिनुहोला ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, मुख्यसचिव र सचिवहरूलगायतको उपस्थिति थियो ।

सम्बन्धित