NP EN

३५औं सचिवालय बैठकः भदौ १८ र १९ गते पोलिटव्यूरो बैठक बस्ने निर्णय

सरकारका कामको समीक्षा, टिआरसी विधेयक सर्वसम्मत पारित गर्नु शान्ति प्रक्रिया टुङ्गो लगाउन कोशेढुङ्गा 
१३ भदौ(२०८१), काठमाडौं । नेकपा (एमाले)को पोलिटव्यूरोे बैठक यही भदौ १८ र १९ गते बस्ने भएको छ ।  
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको ३५औं बैठकले पोलिटव्यूरो बैठक बस्ने निर्णय गरेको हो । 
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने बैठकले बार्षिक कार्ययोजना पारित गर्ने छ । आजको सचिवालय बैठकमा बार्षिक कार्ययोजना पेश भएको छ । कार्ययोजनामा केही सुझाव प्रस्तुत भएका छन् । आज बसेको सचिवालय बैठकले बार्षिक कार्ययोजना पोलिटव्यूरो बैठकमा लैजाने निर्णय गरेको हो । 
बैठकले नेकपा (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा पार्टी अध्यक्ष ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकारका कामको समीक्षा गर्दै सकारात्मक रहेको निष्कर्ष निकालेको छ । 
बैठकले वर्तमान सरकार गठनयता व्यावसायिक क्षेत्र र निजीक्षेत्र सरकारप्रति सकारात्मक र उत्साहित देखिएको, शेयर बजारमा नयाँ बृद्धि र लगानीमा निजी क्षेत्र आशावादी भएको ठहर गरेको छ । 
बैठकले वर्तमान सरकारप्रति जनतामा आशा र भरोसा पैदा भएको निष्कर्ष निकालेको छ । 
अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारले लामो समयदेखि अल्झिएर रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट सर्वसम्मत पारित गराई ऐन बनाउने काममा सफलता प्राप्त गरेको र यो शान्ति प्रक्रिया टुङ्याउने सन्दर्भमा अन्तिम कोशेढुङ्गा भएको निष्कर्ष बैठकले निकालेको छ । 
बैठकमा प्रस्तुत वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरणलाई अझ व्यवस्थित गर्ने, अधिवेशन हुन बाँकी जिल्ला अधिवेशन र पालिका अधिवेशन समयमै व्यवस्थितरूपमा सम्पन्न गर्ने विषय उल्लेख गरिएको छ । 
यसैगरी, बैठकमा कार्यकर्तालाई नियमित प्रशिक्षणका लागि केन्द्रका अतिरिक्त सातै प्रदेशमा पार्टी स्कुलका स्थायी संरचना खडा गर्ने, पार्टी प्रवेश गर्नु भएकाहरूलाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिनेलगायत निर्णय भएका छन् । 
त्यस्तै, पार्टीको हिरक वर्षका लागि तय भएका र बाँकी रहेका कामहरू– कम्युनिष्ट पार्टीको इतिहास लेखन, ‘शेल्टर’ पुस्तक प्रकाशन र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने लगायत महत्वपूर्ण कार्यहरू कार्ययोजनामा समेटिएको छ । 
बैठकले पार्टीका तत्कालीन उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसमा यही भदौ २६ गते स्मृति सभा आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले बाढीपहिरो, सडक तथा हवाई दुर्घटनामा दिवंगतहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, सडक तथा हवाई क्षेत्रको नियमनकारी निकायलाई दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी काम गर्न निर्देशनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

 

सम्बन्धित