NP EN

११औं महाधिवेशन सम्पन्नः अध्यक्ष ओली तेस्रो कार्यकालका लागि निर्वाचित

नेकपा (एमाले) सकिने पार्टी नभई जीवन्त र अजम्बरी पार्टी होः अध्यक्ष ओली

३ पुस (२०८२), काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गर्दै आज सम्पन्न भएको छ । 

अध्यक्ष ओली तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँसँग अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्नुभएको थियो । 
मङ्सिर २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको महाधिवेशनको बन्दसत्र अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष ओलीले १६६३ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका अर्का प्रतिस्पर्धी पोखरेलले ५६४ मत प्राप्त गर्नुभयो । 
त्यसैगरी, नव निर्वाचित केन्द्रीय कमिटीका पाँच उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ । 
महासचिवमा शंकर पोखरेल निर्वाचित हुनुभएको छ । यो उहाँको दोस्रो कार्यकाल हो । उहाँले १ हजार २२८ मत प्राप्त गरी महासचिवमा विजयी हुनुभयो भने प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ । 
यसैगरी, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित हुनुभएको छ भने सचिवमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी भानुभक्त ढकाल, महेश बस्नेत, राजन भट्टराई, शेरधन राई र हिक्मतकुमार कार्की निर्वाचित हुनुभएको छ । 
महाधिवेशनले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरत पहारी र केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्प कँडेलसहित दुबै आयोगका पदाधिकारी र सदस्य पनि निर्वाचित गरेको छ । दुबै आयोगका अध्यक्ष र पदाधिकारीहरू निर्विरोध निर्वाचित हुनुभएको हो भने सदस्यहरूका लागि निर्वाचन भएको थियो । 
निर्वाचत परिणामसँगै दिउँसो महाधिवेशन स्थल भृकुटीमण्डपमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शपथ लिनुभयो । त्यसैगरी नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पनि सपथ लिनुभएको छ । 
नवनिर्वाचित अध्यक्ष ओलीलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले शपथ ग्रहण गराउनुभयो । 
शपथपछि निर्वाचन आयोगका अध्यक्ष सुब्बाले पार्टी अध्यक्ष ओलीलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिनुभयो ।
अध्यक्ष ओली २०७१ साल असारमा काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको नवौं महाधिवेशनबाट पहिलोपटक अध्यक्ष निर्वाचित हुनुभएको थियो भने २०७८ साल मङ्सिरमा चितवनको सौराहामा भएको १०औँ महाधिवेशनबाट दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 
७४ बर्षीय अध्यक्ष  ओली २००८ साल फागुन ११ गते तेह्रथुमको साविक इवा गाविसमा जन्मिनुभएको हो । 
शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ओलीले नेकपा (एमाले) सकिने पार्टी नभई जीवन्त र अजम्बरी पार्टी भएको बताउनुभयो । 
अध्यक्ष ओलीले एमालेको ११औँ महाधिवेशन पुराना पार्टीहरू सकिए भन्नेहरूका लागि जवाफ बनेको बताउनुभयो । उहाँले भन्नुभयो–एमालेको ११औँ महाधिवेशन पुराना पार्टीहरू सकिए भन्नेहरूका लागि जवाफ बनेको छ । नेकपा (एमाले) सकिने पार्टी होइन, यो एक जीवन्त र अजम्बरी पार्टी हो ।
अध्यक्ष ओलीले एमालेलाई फुटाउने षड्यन्त्र भए पनि सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो– हाम्रो पार्टीमा जस्तो लोकतान्त्रिक अभ्यास अरूमा छैन । धेरैले यो पार्टी फुट्ने आस गरेका थिए, फुट्छ भनेर कोसिस गर्दै धूप हालिरहेका थिए, तीनको धूप खेर जान्छ । नेकपा (एमाले) अझै मजबुत भएर जान्छ ।

महाधिवेशनमा देशभर र प्रवासबाट समेत गरी दुईहजार २६३ जना प्रतिनिधि सहभागी थिए । 

 

सम्बन्धित