NP EN

हामी साझा भविष्य बोकेका सहयात्री हौं

केपी शर्मा ओली, प्रधानमन्त्री

विश्वविद्यालयहरू केवल शैक्षिक संस्था मात्र होइनन्, यी नयाँ सोचको बिरुवा उमार्ने माटो हुन्
उपस्थित सम्पूर्ण महानुभावहरू 
म जब देशबाहिर निस्कन्छु, म केवल कूटनीतिक भेटघाटमा सीमित रहन चाहन्नँ, जहाँ सकिन्छ मौका मिलाएर विश्वविद्यालयहरूमा पुग्छु । मेरो विचारमा विश्वविद्यालयहरू केवल शैक्षिक संस्था मात्र होइनन्, यी नयाँ सोचको बिरुवा उमार्ने माटो हुन् । अध्ययन र अनुसन्धान गरेर नयाँ नयाँ विचार उमार्ने थलो पनि हुन् । त्यसैले म जहाँ जान्छु, यस्ता ठाउँहरूमा पुगेर विद्यार्थीहरूसँग, अध्यापक र विद्वानहरूसँग सम्वाद गर्न खोज्छु । बिमस्टेक सम्मेलनमा भाग लिन थाइल्याण्ड आएपछि यो संस्थामा नआई मनले मान्दै मानेन् । यही सिलसिलामा आज म तपाईंहरू सामु आईपुगेको छु । 
तपाईंहरूलाई धन्यवाद,
मलाई यो अवसर प्रदान गर्नुभएकोमा —
एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT)  जस्तो प्रतिष्ठित प्राज्ञिक संस्थामा बोल्न पाउनु मेरो लागि अत्यन्त गर्वको विषय हो ।
किनभने, सन् १९५९ मै AIT जस्तो संस्था स्थापना गरिएको थियो — कस्तो महान र दूरदर्शी निर्णय !
त्यो समय कम्प्युटर साइन्स र कम्प्युटिङको प्रारम्भिक चरण पनि सुरु भएको थिएन ।
५० को दशक त कम्प्युटरको मात्र शुरुवाती युग हो । त्यसअगावै, आगामी दिनहरूको तीब्र गतिको वैज्ञानिक र प्रविधि–केन्द्रित रूपान्तरणलाई देख्ने आँखा हुनु र त्यो परिवर्तनलाई सम्भव बनाउन आवश्यक ज्ञानका क्षेत्रहरूमा केन्द्रित एक अन्तर्राष्ट्रिय संस्था स्थापना गर्नु, जसरी मैले अघि भनेँ, त्यो एक साँच्चै महान र दूरदर्शी कार्य हो ।
AIT ले विज्ञान र प्रविधिको तीब्र विकासलाई मात्र होइन, त्यस प्रविधिबाट उत्पन्न सामाजिक परिवर्तनलाई पनि बुझ्ने आधार दिएको छ ।
र, आज सिङ्गो मानवजातिको सामाजिक अवस्थाको उन्नतिमा यस संस्थाले दिएको योगदान —गौरवको कुरा मात्र होइन, प्रेरणाको स्रोत पनि हो ।
मलाई यो संस्था  बहुराष्ट्रिय सोच, प्राविधिक उत्कृष्टता र सामाजिक प्रतिबद्धताको त्रिवेणी जस्तो लाग्छ । संस्थाले विज्ञान र प्रविधिको विकासमा मात्र नभई, एसियाली सहकार्य, नवप्रवर्तन, र दिगो विकासमा महत्वपूर्ण योगदान पु‍र्याउँदै आएको छ । 
नेपाल पनि यस संस्थाको संस्थापक सदस्य राष्ट्रहरू मध्ये एक हो । नेपालजस्ता विकासशील चरणमा बल्ल प्रवेश गर्न खोज्दै गरेको राष्ट्रलाई यो संस्थाले लगानीको आधारमा होइन, सहभागिता र सहकार्यको लागि सदस्यता दिएको हो । त्यसैले आज पनि यो संस्थामा हामीले Board या Trustee का रूपमा नेपालको प्रतिनिधित्व गरिरहेका छौं । मलाई लाग्छ, हाम्रो सम्बन्ध औपचारिक मात्र होइन, भावनात्मक पनि छ । सन् २०१२ मा, AIT को नयाँ चार्टरलाई अनुमोदन गर्ने प्रारम्भिक राष्ट्रहरूमध्ये नेपाल पनि एक थियो । 
यस संस्थाबाट शिक्षा हासिल गरेका थुप्रै नेपालीहरू—पूर्वाधारदेखि जलस्रोतसम्म, सूचना प्रविधिदेखि नीति निर्माणसम्म—नेपालको विकासमा भूमिका खेलिरहेका छन् । हामीले यस संस्थासँगको सहकार्यलाई सधैं सम्मान र सम्भावनाको दृष्टिले हेर्दै आएका छौं ।
आदरणीय महानुभावहरू, 
हाम्रा पूर्वजहरूले भनेका छन् —
सर्वे भवन्तु सुखिनः । सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु । मा कश्चिद् दुःखभाग् भवेत ।
अर्थात —सबै जना सुखी होऊन् सबै निरोगी रहून् सबैले शुभ कुरा हेर्न पाऊन् र, कुनै पनि व्यक्ति कहिल्यै दुःखको भागी नबनोस् । 
यो केवल प्रार्थना होइन, यो हाम्रा पूर्खाहरूको हजारौं वर्षको अनुभवबाट जन्मिएको जीवन–दर्शन हो । 
कम चेतना भएका प्राणीहरू पनि सुखकै इच्छा राख्छन् — व्यक्त गर्न सक्दैनन्, त्यो बेग्लै कुरा भयो । तर मान्छे ? सबै मान्छे सुख खोज्छन् । मानिसले आफ्ना सारा प्रयास, सारा चेष्टा, अन्ततः सुखकै लागि गर्छ ।
खासमा सुख खोज्नु, हाम्रो सार्वभौम मानवीय अधिकार हो ।
त्यही भएर, नेपालमा हामीले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा बोकेका छौं । मैले त्यसको प्राप्तीलाई आफ्नो गन्तव्य बनाएको छु । त्यसैले आज म यहाँहरू समक्ष ‘समृद्धि र सुख’ का बारे मेरा केही कुरा राख्न चाहन्छु ।
आज मलाई अलिकति समस्या परिरहेको छ । किनकी म यहाँ अङ्ग्रेजी भाषामा बोलिरहेको छु ।
नेपाली भाषामा कतिपय शब्दहरू यस्ता छन् जसलाई अङ्ग्रेजीमा अनुवाद गर्दा त्यसले ठ्याक्कै भाव बोक्न सक्दैन । नेपाली भाषामा दुईवटा शब्द छन्– ‘खुशी’ र ‘सुखी’ । यी दुबै शब्दलाई जनाउने अङ्ग्रेजी भाषामा एउटै शब्द छ, जसलाई हामी ‘ह्याप्पी’ भन्छौं । 
जबकी एउटाको भाव क्षणिक, आवधिक र विषयगत हुन्छ । अर्कोको दीर्घकालिन, दिगो, स्थायी र समग्र हुन्छ । 
म तपाईंहरू समक्ष यसलाई अलिकति विस्तारमा व्याख्या गर्ने अनुमति चाहन्छु । 
नेपालीमा खुशी भन्नाले हाँसो, रमाइलो, सफलता, मिठो खाना, घुमघाम आदिबाट प्राप्त हुने क्षणिक वा आवधिक कुरालाई जनाउँछ ।
जबकी ‘सुखी’ले भोलिको चिन्ता नगरी आज मस्त निदाउन सक्ने निर्भयपूर्ण वातावरण भन्ने बुझाउँछ । 
हेर्नुस् त, शब्दको भाव मात्र होइन, गहिराई नै कति फरक छ !
यहाँ म, तपाईहरू समक्ष सुख र समृद्धिको बारेमा चर्चा गर्दैछु । जो दीर्घकालिन, दिगो, स्थायी र समग्र हुन्छ । जो वर्तमान पुस्तालाई मात्र होइन, पुस्तौ पुस्ताका लागि पनि उपलब्ध हुन्छ । 
त्यसैले हामीले देशको राष्ट्रिय आकाङ्क्षा र गन्तव्य बनाउँदा Prosperous Nepal, Happy Nepali (समृद्ध नेपाल, सुखी नेपाली) भनेका हौं । 
‘समृद्ध नेपाल, खुसी नेपाली’ होइन । 
उपस्थित महानुभावहरू,
लोकतन्त्रका लागि मैले १४ वर्ष जेल÷नेल भोगेको छु । कयौं दशक सङ्घर्ष गरेको छु । यातना भोगेको छु । कष्टसाध्य जीवन विताएको छु । अहिले नेपालको प्रधानमन्त्रीको रूपमा देशको सेवा गरिरहेको छु । 
म कहिलेकाहीँ आफैंलाई प्रश्न गर्छु– 
    मेरो उद्देश्य के हो ? 
    मेरो सरकारको उद्देश्य के हो ? 
    मेरो पार्टीको उद्देश्य के हो ? 
    म आफैं संलग्न राजनीतिक आन्दोलनको उद्देश्य के हो ? 
विगतलाई सम्झँदा, वर्तमानलाई हेर्दा र भविष्यको कल्पना गर्दा, म चारवटै प्रश्नको उत्तर एउटै पाउँछु– सम्पूर्ण मानव जाति आज सुरक्षित होस् र सुखी होस् । भविष्यको सन्तति झन् बढी सुरक्षित र सुखी होस् । 
हरेक जीवको पहिलो जैविक प्रवृत्ति हो — सुरक्षित हुनु । 
म नेपालको एउटा साधारण गाउँमा हुर्किएको मान्छे हुँ । हामी सानो छँदा, बिहान खाना पकाएपछि थोरै भाग कागको लागि छुट्याएर घर बाहिर पातमा राख्ने चलन थियो । खाना राखिसकेपछि काग तुरुन्त आएर झम्टिन्थ्यो भन्ने होइन । शुरु शुरुमा ऊ परबाट हेथ्र्यो– हेरिरहन्थ्यो । भोक त लागेको हुन्थ्यो होला नि– तर ऊ खाँदैनथ्यो । हुन त उसका लागि न भान्सा थियो, न कतै खाना पाकेको थियो, न त कसैले काग आउँछ र खान्छ भनेर भाग नै छुट्याएर राखेको हुन्थ्यो । 
कागले कहिलेकाहीँ कहिंकतै केही खान पाएको हुन्थ्यो होला तर उसको दिन प्रायः प्राण धान्ने सङ्घर्षमै बित्थ्यो ।
भोको स्थितिमा नजिकै खाना राखिदिँदा पनि त्यो कागले खादैनथ्यो, शायद उसले सोचेको हुन्थ्यो– यहाँ कतै मेराविरुद्ध जालझेल त छैन ? कुनै षड्यन्त्र त छैन ? म खाना नजिक जाँदाखेरि कहीं मेरो ज्यान तलवितल त पर्दैन ? मेरो सुरक्षामा कुनै किसिमको खतरा त पैदा हुँदैन ? 
जबसम्म उसलाई ‘म मर्दिनँ’ भन्ने अनुभूति हुँदैन, त्यसले खाँदैन । बरु भोकै बस्छ ।
एक मामुली काग पनि पातमा राखिएको अन्न हेरिरहन्छ, खाँदैन — जबसम्म उसले सुरक्षा अनुभूति गर्दैन ।
त्यसले पनि जान्दछ — भोलि केही भेटिन्छ तर आज म मरेँ भने — भोलि नै हुँदैन ।
त्यसैले ऊ खानाभन्दा पहिला जीवन रोज्छ ।
मानवजातिमा यो प्रवृत्ति झनै गहिरो हुन्छ ।
र, त्यसैले मलाई लाग्छ — एक नागरिकलाई ‘म बाँच्छु, म सुरक्षित छु’ भन्ने अनुभूति र प्रत्यभूति दिलाउनु, राज्यको सबैभन्दा पहिलो दायित्व हो । 
त्यसैले हरेक राज्यको मूल प्रयत्न यसैमा हुनुपर्छ । ताकी हामी यस्तो वातावरण बनाउन सकौं — जहाँ मान्छेले डर होइन, ढुक्क अनभुव गरोस् 
    जहाँ बोल्न, हाँस्न, सपना देख्न स्वतन्त्र होस् 
    आफ्नो घरमा ढुक्कले बस्न सकोस् । 
    कार्यस्थलमा ढुक्कले काम गर्न सकोस् । 
    मन लागेको ठाउँमा मस्त घुम्न सकोस् । 
    अनि दिनभरि काम गरेर थाकेको ज्यान लिएर बिछ्यौनामा जाँदा ढुक्कले निदाउन सकोस् ।
आदरणीय उपस्थित महानुभावहरू, 
मानिस — अरू कुनै जीवजस्तो मात्र होइन ।
मानिस — स्मरणशक्ति हो, अनुभूति हो, अनि अनुभव पनि ।
मानिस, विगत सम्झन्छ । अनुभव बोक्छ । अनि त्यसबाट योजना बनाउँछ ।
त्यसैले, उसले सबैभन्दा पहिले खोज्ने कुरा हो — सुरक्षा ।
उसले खान्छ, काम गर्छ, योजना बनाउँछ — सबै बाँच्नको लागि, र सुरक्षित महसुस गर्नको लागि ।
र, जब सुरक्षित हुन्छ— त्यहीँ रोकिँदैन, विस्तारै सुविधा खोज्न थाल्छ । अझ राम्रो जीवनशैली, शिक्षा, स्वास्थ्य, आराम । त्यसपछि उ अवसर खोज्न थाल्छ ।
र, अवसर भेटेपछि – प्रतिस्पर्धा गर्न तयार हुन्छ । 
तर प्रतिस्पर्धा पनि मानिसको लागि केवल जित्ने माध्यम होइन — स्वीकारिने माध्यम हो । सम्मान कमाउने बाटो हो ।
त्यही भएर ऊ चाहन्छ —उसको योग्यता, उसका प्रयास, उसका मूल्य मान्यताले स्थान पाऊन् । 
मिहेनत गर्छ । कहिले व्यक्तिगत सङ्घर्षमार्फत, कहिले जनविश्वास जितेर । ऊ आफूलाई सिद्ध गर्न खोज्छ ।
तर मानिस यस्तो प्रतिस्पर्धा चाहन्छ, जहाँ पहिलो बन्न पाइयोस्, तर अरूलाई लडाउन नपरोस् ।
त्यो नै सभ्यताको सार हो । त्यो नै सुख र समृद्धिको आधार हो ।
मैले अघि पनि भने मानिसको लागि अनुभव र अनुभूति ठूलो कुरा हो । 
जहाँ आत्मसम्मानको मूल्य छैन, त्यहाँ न सम्बन्ध टिक्छ, न निष्ठा ।

एउटा उदाहरण हेरौं– गाईभैंसीलाई तपाई गाली दिनुस्, तथानाम भन्नुस्, कुट्नुस् वा प्रशंसा नै गर्नुस् । तर यदि त्यही बेला घाँस दिनुभयो भने, गाईभैंसीले घाँस खाने तरिकामा तपाईं खासै फरक पाउनुहुन्न ।
तर मानिस त्यस्तो होइन ।


मानिस — सिर्फ शरीर होइन, उसले आफ्नो आत्मालाई पनि खुवाउँछ ।
उसलाई थालमा खाना राख्नुस् —तर त्योसँगै अपमानको शब्द राख्नुभयो भने, ऊ त्यो खाना होइन, त्यो व्यवहार याद गर्छ ।
भोक लागे पनि ऊ थाल फर्काउँछ । उसको खाली पेटले पनि — आत्मसम्मान माग गर्छ ।
मानिसलाई खाने कुरा मात्रै होइन — खाने योग्य व्यवहार पनि चाहिन्छ ।
त्यही कारण हो — उसले केवल पेटभरि होइन, सम्मानका साथ पेट भरिने वातावरण खोज्छ ।
मलाई लाग्छ, जहाँ आत्मसम्मानको मूल्य छैन, त्यहाँ न सम्बन्ध टिक्छ, न निष्ठा ।
सम्मान नदिने समाजमा विकास पनि टिक्दैन ।
सम्मान नपाउने नागरिक — राज्यप्रति निष्ठावान पनि हुन्न । न त ऊ कानुनको पालना गर्छ, न त त्यो समाजप्रति गर्व गर्छ ।
त्यसैले, समाजको रूप कस्तो होस् भन्ने कुरा — केवल कानुनले होइन, व्यवहारले निर्धारण गर्छ ।
त्यसैले, 
    हामीले कल्पना गरेको समाज — कानुनको डरले होइन, कर्तव्यको बोधले चलेको होस्
    जहाँ नीति केवल कागजमा होइन, नागरिकको बानीमा होस्
    जहाँ समाजलाई दण्डले होइन, नैतिकताले निर्देशित गरियोस्
    समाज यस्तो होस्, जसले आफैंले सिर्जना गरेका मूल्यहरूलाई आफ्नो कम्पास बनाओस्
    जहाँ हरेक नागरिकले अधिकार प्रयोग गर्दा, त्यो ‘अधिकार’ले अरूको जीवनमा चोट नपारोस् भन्ने चिन्ता पनि साथै लिएर गरोस्
हामीले परिकल्पना गरेको उन्नत समाज यस्तो हो —
    जहाँ मानिस आफ्नो सम्मान खोज्छ, तर अरुको सम्मानमा ठेस नपुर्याएर ।
    जहाँ ऊ आफ्नो सम्पत्ति जोगाउँछ, तर अरूको चीज नोक्सान नगरिकन ।
    जहाँ स्वतन्त्रता खोजिन्छ तर त्यो स्वतन्त्रता अरुको स्वतन्त्रताको सीमाभित्र रहोस् भन्ने चेतना पनि साथमा लिएर ।
हामीलाई थाहा छ —
जसरी मलाई एउटा रुचि छ, त्यसैगरी अरूलाई पनि हुन्छ ।
र यदि म चाहन्छु, मेरो रुचिलाई मान दिइयोस् — त्यो मान, म अरूको रुचिलाई पनि दिन तयार हुनुपर्छ ।
हामीले बनाउन खोजेको समाज यही हो —
    जहाँ स्वतन्त्रता व्यक्तिगत होस्, तर संवेदनशील पनि होस्
    जहाँ सम्मान व्यक्तिगत होस्, तर पारस्परिक पनि होस्        
यी सबै कुरा मानिसका जैविक र मानवीय आवश्यकता हुन् । यसको न्यायोचित र सहज परिपूर्ति मानवीय आकाङ्क्षा हो । यही आकाङ्क्षाको परिपूर्ति ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार हो ।
आदरणीय उपस्थित महानुभावहरू, 
आजको अवस्था हेर्दा जसकसैलाई पनि लाग्न सक्छ— के समृद्ध नेपाल, सुखी नेपाली सम्भव होला र ? 
मैले अघि पनि भनेँ — हामी त्यो भविष्य कल्पना गरिरहेका छौं ।
    जहाँ नागरिकको जीवन आधारभूत आवश्यकताले मात्र होइन, सम्मान, सुरक्षाबोध र सम्भावनाले भरिएको होस्
    तर त्यो सम्भावना केवल भावनाको विषय होइन —त्यो संरचनागत सोच, रणनीति र लगानीको विषय पनि हो ।
कृषि जीवनको आधार हो, हाम्रो मेरुदण्ड हो
हाम्रो लागि त्यसको पहिलो आधार कृषि हो ।
कृषि —हाम्रो वर्तमान र भविष्य दुवैको मेरुदण्ड हो ।
हामी कृषि प्रणालीलाई केवल जीविकाको माध्यम होइन, आधुनिक समृद्धिको इञ्जिन बनाउन चाहन्छौं । किनकी कृषि जीवनको आधार हो । 
यदि हामीले कृषि उत्पादनमा उत्पादकत्व बढाउन सक्यौं, भण्डारण, आपूर्ति, मूल्य स्थायित्वमा सुधार गर्न सक्यौं भने हामी केवल आत्मनिर्भर बन्ने होइन, निर्यातमा प्रतिस्पर्धी बन्न सक्छौं । यसले केवल कृषकको आय मात्र बढाउँदैन, देशको व्यापार सन्तुलनमा समेत योगदान गर्छ । 
तर कुरा कृषिको मात्रै होइन । सेवा क्षेत्र, पर्यटन, खानी, जडीबुटी, वनपैदावर यी सबै क्षेत्रलाई हामीले आर्थिक गतिशीलताको इकोसिस्टमको रूपमा हेर्नुपर्छ ।
यी क्षेत्रहरू सँगसँगै चले भने हामीले रोजगारी सिर्जना गर्छौं मूल्य श्रृङ्खला विस्तार गर्छौं, र आर्थिक समावेशिता सुनिश्चित गर्छौं । तर यसका लागि हामी ढुङ्गा जोगाउँछौं, माटो बचाउँछौं, पानीको स्रोत स्याहार्छौं । 
यसबाट हामी चाहन्छौं, कुनै पनि नेपाली नागरिकमा भोलिको जीविकाको चिन्ता नहोस्
    खाना होस्, लुगा होस्, बस्न घर होस्
    गुणस्तरीय शिक्षा उपलब्ध होस्
    स्वास्थ्यको पहुँच सहज होस्
    राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्राप्त होस् । 
    जीवन, सुरक्षाका साथ बाँचिएको छ भन्ने अनुभूति होस् 
    र, मानिसले सम्मानित जीवन बाँच्न पाओस् ।
त्यही बाटो समृद्धिको हो । र, सुख यसबाटै आउँछ । 
आज हामी २१औं शताब्दीमा छौं । र, हामीलाई राम्रोगरी थाहा छ, यो समय तीब्र विकास र परिवर्तनको समय हो । यसको अर्थ, आज विज्ञान र प्रविधिले प्रत्येक पल विकास गरिरहेको छ, र अनौठा उपलब्धिहरू हासिल गर्दैछ । हामीले चाहेको विकास पनि विज्ञान र प्रविधिको जति बढी उपयोग गर्न सक्छौं, त्यति नै छिटो अघि बढ्न सक्छौं ।
अब विकासको पुरानो ‘क्रमिक सिद्धान्त’ मात्र पर्याप्त छैन  
त्यसैले म भन्छु —
    अब विकासको पुरानो ‘क्रमिक सिद्धान्त’ मात्र पर्याप्त छैन । आज एकपछि अर्को गुणात्मक फड्को मार्न सकिन्छ । 
समाजले उन्नत अवस्थामा पुग्न पहिलेका जस्तो शताब्दीहरू कुर्नु पर्दैन । हामी हाम्रो विकासको गति आश्चर्यजनक बनाउन सक्छौं । हिजो भोकमरीले हामीलाई पिल्साइरहेको थियो, भोलिका केही वर्षमै हामी त्यो अवस्थाबाट मुक्त हुन सक्छौं । हामीले विकासका आकाङ्क्षाहरू छिटो साकार पार्न सक्छौं । र, मैले गन्तव्य बनाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा केही थोरै दशकमै वास्तविकता बन्न सक्छ ।
मानव जातिबाटै मानवजाति त्रसित छ 
उपस्थित महानुभावहरू, 
तर विषयको अर्को पाटो पनि छ । आज मानिसको सुरक्षित भविष्यका लागि केही चिन्ताका विषयहरू छन् । जलवायु परिवर्तनका प्रश्नहरू छन् । बिग्रँदो ईको सिस्सटका प्रश्नहरू छन् । 
आज बिडम्वना मानवजातिको विनाश वा भयानक क्षति मानवजातिबाटै हुन नपाओस् भनेर चिन्ता गर्नुपर्ने अवस्था छ । मानव जातिबाटै मानवजाति त्रसित छ । 
साना र कमजोर राष्ट्रहरू आफ्नो अस्तित्वकै प्रश्नमा गम्भीर छन् । मानवजातिको रक्षाका निम्ति होइन, मानव माथि प्रहार गर्नकै लागि विभिन्न प्रकारका आम विनाशका हतियारहरू निर्माण भइरहेका छन् । 
यसले मानवजातिको अस्तित्व, वातावरण र मानवजाति र पृथ्वीको भविष्य माथि खतरा उत्पन्न गरिरहेको अवस्था छ । 
यस त्रासदीपूर्ण अवस्थाबाट मानवजाति मुक्ति चाहन्छ । तर बाटो सुझिरहेको छैन् । 
मानवीय आकाङ्क्षा र मानवीय आवाज बाहेक अर्को कुनै उपाय पनि देखिँदैन । न त यीनको समाधान एकल प्रयासबाट सम्भव छ । त्यसका लागि सामूहिक चेतना र साझा प्रतिवद्धता चाहिन्छ । 
आज म केवल नेपालको प्रधानमन्त्रीको हैसियतले बोलिरहेको छैन, म पृथ्वीको एक नागरिकको रूपमा पनि बोलिरहेको छुः
    किनभने जलवायु सङ्कट, असमानता, गरिबी र तिनका प्रभावहरू सिमानामा रोकिन्नन् भन्ने कुरा मलाई जानकारी छ । 
त्यसैले हामी– “समृद्ध नेपाल, सुखी नेपाली” को यात्रामा हिडेका छौं, तर यस यात्राको अन्तिम गन्तव्य — ‘समृद्ध विश्व, सुखी मानवजाति’ हो ।
अन्त्यमा,
यहाँ आउँदा मलाई महसुस भईरहेको छ, हामी पृथक पृष्ठभूमिका भएपनि साझा भविष्य बोकेका सहयात्री हौं । 
यस संस्थाका विद्यार्थी, अध्यापक, र समस्त परिवारप्रति म कृतज्ञता प्रकट गर्दछु —जुन विचार, आत्मीयता र जिम्मेवारीको भाव तपाईंहरूबाट मैले महसुस गरेँ, त्यो मेरा लागि अविस्मरणीय छ । 
धन्यवाद ।
(थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ चैत २१ गते बैङ्ककस्थित एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजीमा गर्नुभएको सम्बोधन)

 

सम्बन्धित