नेकपाको ७६औं स्थापना दिवस विशेष समारोह
९ वैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले)द्वारा नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवस राजधानीमा विशेष समारोह आयोजना गरी मनाइएको छ ।
भव्य समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले अस्तित्वको लडाइमा नभई विजयको यात्रामा रहेको बताउनुभयो । अध्यक्ष ओलीले एमाले २०८४ मा हुने निर्वाचनबाट निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरण भएर आउने उद्घोष गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीका नेताकार्यकर्ताहरूलाई त्यो आत्मविश्वासका साथ एकताबद्ध भई पार्टी काममा क्रियाशील हुन आग्रह गर्नुभयो । नेकपा (एमाले) ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान गन्तव्य बोकेर अगाडि बढिरहेको हुँदा एमालेलाई सिध्याउँछौं भन्दा पनि यो जनताको लोकप्रिय मतबाट देशको पहिलो पार्टी भएको स्मरण गराउँदै अध्यक्ष ओलीले विजय प्राप्त गर्दै जाने कुरामा कुनै द्विविधामा नपर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले समाज बिगार्ने, राष्ट्रलाई नोक्सान गर्ने शक्तिहरूले कम्युुनिष्ट आन्दोलन ध्वस्त बनाउन षड्यन्त्रकारीहरूबाट परिचालित भएर दुईतिहाइको अवस्थामा पुगेको पार्टीलाई विभाजन गराए पनि आफूूहरूले आन्दोलनलाई पुुनः गठित बनाउँदै जनताको सबैभन्दा लोकप्रिय पार्टीमा स्थापित गराएको बताउनुभयो ।
गणतन्त्रलाई नमुनाका रूपमा स्थापित गर्दै विकास र सुशासन तथा समृद्ध नेपाली सुखी नेपालीको महान उद्देश्यप्रतिको नेतृत्वको दृढता र सक्रियताले पार्टी र आन्दोलन कमजोर हुन नसक्ने पुष्टि भइसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले राणा शासन, पञ्चायत र निरङ्कुश राजतन्त्रसँग जुध्नुका साथै सबै प्रकारका हमला हुँदा प्रमुख शक्तिका रूपमा स्थापित भएको पार्टी एमाले हो भन्नुभयो ।
उहाँले भन्नुभयो– हामी विकास र सुशासनको बाटोमा अगाडि बढेका छौँ । बिग्रिएको स्थितिलाई सपार्न सजिलो छैन तर हामी गर्न खोजिरहेका छौँ । हामी जनतालाई बलियो बनाउन सरकारलाई बलियो बनाउन चाहन्छौँ । आगामी नयाँ बजेट, नीति कार्यक्रम त्यसरूपमा ल्याउँदैछौँ ।
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन
प्रधानमन्त्री ओलीले आफूू अहिले बुुढो नभएको र अस्वस्थ पनि नरहेको स्पष्ट गर्दै आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुु नपर्ने बताउनुुभयो ।
‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन’, प्रधानमन्त्री ओलीले भन्नुुभयो– कसैले एमालेविनाको देशको पनि कल्पना गरेका छन् । केपी ओलीविनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ । एमालेविनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भन्नुुभयो– हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधान नमान्नेहरूलाई एक्काइसौँ शताब्दीमा श्रीपेच लगाउने र जनतालाई हुकुमी शासन दिने राजा चाहिएको छ । जनताले ल्याएको लोकतन्त्र नमान्ने, संविधान नमान्ने, संवैधानिक राजतन्त्र खोज्ने ? राजतन्त्रको भुलभुलैमा नभुलौँ । नयाँ शक्ति भन्नेहरूको तमासा पनि देखिइसकिएको छ । त्यसकारण हामी दृढताका साथ न्याय र समानतासहितको राष्ट्र निर्माणमा अग्रसर होऔँ ।
प्रधानमन्त्री ओलीले हालै आफ्नो थाइल्याण्डमा भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामै र बहुत राम्रो कुराकानी भएको अवगत गराउँदै नेपालको कुनै पनि मुलुकसँग शत्रुता नरहेको र सबैसँग मित्रता रहेको स्पष्ट गर्नुभयो ।
कम्युनिष्ट योद्धा सम्मान प्रदान
समारोहमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सातजना नेताहरूलाई ‘कम्युनिष्ट योद्धा’ सम्मान प्रदान गर्नुभयो । सम्मानित हुनेहरूमा रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्त, जाजरकोट), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ) र हरिचरण शिवाकोटी (झापा) हुनुहुन्छ ।
शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण
समसामयिक विषयहरूमा स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिनुभएको बताउनुभयो ।
मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले भन्नुभयो– उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।
प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैङ्कक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको भन्नुहुँदै एमाले र काँग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दोहोर्याउनुभयो ।
कार्यक्रममा पञ्चायतकालीन भूमिगत जीवनमा पार्टीका नेताहरूको सङ्घर्षमा आधारित पुस्तक ‘सेल्टर’ को विमोचन गरिएको थियो । पुस्तकमा सेल्टरदाता र सेल्टर लिने ३४ जना नेताहरूका अनुभवसहितका लेख रहेका छन् ।
कार्यक्रमको सञ्चालन महासचिव शंकर पोखरेलले गर्नुभएको थियो । सो क्रममा महासचिव पोखरेलले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने जुन सङ्कल्प गरेका छौं त्यो पूरा गर्ने दिशामा एकताबद्ध भई अगाडि बढौं भन्नुभयो ।
उहाँले नेकपा (एमाले) र यसको नेतृत्वमाथिको हमला कुनै नराम्रो काम गरेका कारण नभई ‘समृद्ध नेपाल, सुखी नेपाली’को सही गन्तव्य बोकेर अगाडि बढिरहेका कारण भइरहेको बताउँदै पार्टीपङ्ती सही सूचना सम्प्रेषण गरेर प्रतिवादमा उत्रनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहयोग पुर्याएको बताउनुभयो ।
उहाँले दलहरूमाथि प्रतिबन्ध लागेको अवस्थामा समेत नेपालमा कम्युनिष्ट पार्टीका नेताहरूले देशभित्रै रहेर लोकतन्त्रको लागि निरन्तर आन्दोलन गरेको स्मरण गराउनुभयो ।
महासचिव पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रूपमा नेकपा (एमाले) देशको अग्रणी पार्टी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाम्रो पार्टीले अगाडि सारेका मान्यता सही साबित भएका छन्, ती मान्यताले नेपालको लोकतान्त्रिक आन्दोलनलाई बाटो देखाउने काम गरेका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीले ‘सेल्टर’ पुस्तकका बारेमा प्रकाश पार्र्दै भूमिगत पार्टी जीवन सङ्गठन निर्माणको कठिन तर गौरवपूर्ण शैली भएको बताउनुभयो ।
उहाँले हरेक वर्तमान इतिहासको जगमा उभिने भन्दै नेकपा (एमाले) गौरवशाली इतिहासको जगमा उभिएको पार्टी भएको बताउनुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो– हरेक वर्तमान इतिहासको जगमा उभिएको हुन्छ, हरेक भविष्यलाई कहीँ न कहीँ इतिहासले दिशानिर्देश गरिरहेको हुन्छ, इतिहास बिर्सियो भने न वर्तमानमा टेक्न सकिन्छ न भविष्यलाई नै सुरक्षित बनाउन सकिन्छ । कहिलेकाहीँ मन अलमल र द्विविधा भएको बेला नेपालको कम्युनिष्ट पार्टीको इतिहास र अग्रजले गरेको दुःख सम्झँदा अघि बढ्ने बाटो खुल्ने उहाँले बताउनुभयो । हिजो भूमिगत कालमा सेल्टरदाताहरूले आफ्नो ज्यानको समेत परवाह नगरी नेता र पार्टीलाई जोगाएका उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो । स्वतन्त्र समाजमा जन्मिएकाले विगतमा अग्रजहरूले कति दुःख हण्डर खाए भन्ने कुरा बुझ्नुपर्ने र त्यो बुझियो भने यो व्यवस्थाप्रतिको आस्था र विश्वास बढ्ने उहाँको धारणा छ ।
कार्यक्रममा सम्मानितमध्येबाट मन्तव्य व्यक्त गर्दै नेतृ शान्ता मानवीले देश र जनताको अवस्थामा विगतको भन्दा निक्कै परिवर्तन आएको र परिवर्तन भएको छैन भन्नेलाई तथ्यसहित प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
‘अहिले देशमा नकारात्मक कुरा फैलाउने काम भइरहेको छ, खै कहाँबाट परिचालित भएको छ, परिवर्तन भएको छ कि छैन, इतिहास पनि हेर्नुपर्छ, पार्टीभित्र पनि वैचारिक स्तर कमजोर भएको छ, वैचारिक प्रशिक्षण दिनु पर्छ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा ‘गणतन्त्रले के दियो ?’ भनी भ्रम फैलाउनेहरूका लागि जानकारी होस् भन्ने उद्देश्यले तयार गरिएको तथ्यमा आधारित भिडिओ प्रदर्शन गरिएको थियो । उक्त भिडिओमा पञ्चायतकालीन र अहिलेको अवस्थाबारे तुलनात्मक प्रस्तुति रहेको छ । समारोहमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरूका साथै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी र जननेता मदन भण्डारीको शालिकमा पुष्पगुच्छा अर्पण गरी सम्मान गरिएको थियो । कार्यक्रममा पार्टीको केन्द्रीय लेखा आयोगद्वारा प्रकाशित पुस्तक ‘पार्टीको लेखा तथा आर्थिक दिग्दर्शन’ र बालाराम शर्माको संस्मरणात्मक कृति पनि विमोचन गरिएको थियो ।