NP EN

हामी पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली

केन्द्रीय कमिटीको आठौं बैठक शुरु

अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक प्रतिवेदन प्रस्तुत
महासचिव शंकर पोखरेलबाट संगठनात्मक कामको जानकारी
केन्द्रीय सदस्यबाट राजनीतिक प्रतिवेदनमाथि राय प्रस्तुत गर्ने क्रम जारी

२१ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आजदेखि शुरू भयो । 
बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने महासचिव शंकर पोखरेलले संगठनात्मक कामको सङ्क्षिप्त जानकारी गराउनुभएको छ । 
बैठक आरम्भ गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले देश विशेष परिस्थितिबाट गुज्रिरहेको र देशभक्त तथा प्रगतिशील शक्ति मजबुत बन्दै गएकाले प्रतिक्रियावादीहरू आतङ्कित भएर अस्वस्थ र झुठो प्रचारको हमलामा उत्रिइरहेको बताउनुभयो । 
नेकपा (एमाले) र पार्टीका नेताहरूविरूद्ध जनतामा घृणाभाव पैदा गर्ने र जनताबाट अलग्याउने प्रयासमा प्रतिक्रियावादीहरू लागिरहेको बताउँदै अध्यक्ष ओलीले पार्टीपङ्ती एकताबद्ध भई विरोध र हमलाको सामना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । देशमा अनेकता पैदा गर्ने प्रयास समेत भइरहेकाले त्यसलाई अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले पार्टीका नेताहरूमा विपक्षीका आरोप र विरोधको खण्डन गर्नुहुँदैन भन्ने धारणा विकास भएको र पार्टी जनजनमा पुग्नुपर्छ भन्ने मान्यतामा पनि कमी आएको भन्दै केन्द्रीय कमिटीका सदस्यहरूको गम्भीर ध्यानाकर्षण गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्नु कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरू उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ । 
‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन’, प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भन्नुभयो– बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटीका सदस्यहरूलाई संगठनात्मक काममा सक्रियतासाथ लाग्न निर्देशन दिनुभयो । पार्टीका सबै नेताकार्यकर्ताहरू निजी स्वार्थमा केन्द्रित भएर होइन, देश र जनताको हितमा केन्द्रित भएर चल्नुपर्नेमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले जोड दिनुभयो । 
नेकपा (एमाले)लाई सिध्यायौं, कहिल्यै सरकारमा फर्कंदैन भन्ने राष्ट्रिय÷अन्तर्राष्ट्रिय शक्तिहरूलाई पराजित गरेर अहिले पार्टी सबल राष्ट्रिय शक्तिका रूपमा स्थापित भई सरकारमा रहेको बताउँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भन्नुभयो– एमालेलाई २०८४ को निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउने ठुलो अभिभारालाई पार्टीका सबै नेताहरूले बुझ्नुपर्छ । 
अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स– एमाले र नेपाली कांग्रेसबीचको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठनबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रायोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, स्थानीय तहको उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु रहेका छन् । 
नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धि हासिल भएको प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।  
बैठक सञ्चालन गर्दै महासचिव शंकर पोखरेलले पार्टीविरूद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको समयमा उक्त घेराबन्दी र आक्रमणलाई छिचोलेर निर्णायक राष्ट्रिय शक्ति निर्माणको कार्ययोजना पूरा गर्ने अठोटका साथ केन्द्रीय कमिटीको आठौं बैठक आयोजना गरिएको बताउनुभयो ।  
महासचिव पोखरेलले साङ्गठानिक अवस्थाको सङ्क्षिप्त जानकारी गराउँदै केन्द्रीय कमिटीको सातौं बैठकयता संगठन निर्माण र परिचालनका सन्दर्भमा महत्वपूर्ण कामहरू भएको, नेकपा स्थापनाको हीरक महोत्सव भव्य आयोजना गरिएको, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सम्पन्न भएको लगायत विषय प्रस्तुत गर्नुभयो । 
महासचिव पोखरेलले बैठकका एजेण्डा प्रस्तुत गर्नुभएको थियो । आजको बैठकले समसामयिक प्रस्ताव तयार गर्न स्थायी कमिटी सदस्यहरू रघुजी पन्त, खगराज अधिकारी र राजेन्द्र गौतम रहनुभएको प्रस्ताव मस्यौदा कमिटी र पोलिटव्यूरो सदस्य सूर्य थापा, केन्द्रीय कमिटी सदस्यहरू निरज आचार्य र बिष्णु रिजाल रहनुभएको बहस नोट कमिटी गठन गरेको छ । 
आजको बैठकबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयता पोलिटव्यूरो र केन्द्रीय सचिवालय बैठकबाट भएका निर्णयहरू सर्वसम्मतिले अनुमोदन गरिएको छ । 
बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आजदेखि छलफल शुरु भएको छ । बैठकमा सबै केन्द्रीय सदस्यहरूलाई बोल्न समय उपलब्ध गराइएको छ । 
आज प्रतिवेदनमाथि राय प्रस्तुत गर्ने केन्द्रीय सदस्यहरूमा अफिलाल ओखेडा, यज्ञ बोगटी, झपट बोहोरा, सहदेव बोगटी, प्रकाश शाह, नरबहादुर धामी, झपट रावल, कमला वली, कृष्णप्रसाद जैसी, सन्तोष कुमारी शर्मा थापा, कमला बोहोरा, गुलावजङ्ग शाह, धर्मराज रेग्मी, विनोद शाह, ठम्मरबहादुर विष्ट, राजबहादुर बुढा, नगेन्द्र शाही, डम्बर सिंह, दल रावल, नवराज रावत, घनश्याम पाण्डे, शिवराज सुवेदी, नविन रोक्का, सजिदा खातुन सिद्धिकी, लक्ष्मण ज्ञवाली, गणेश खनाल, खड्क बहादुर खड्का हुनुहुन्छ । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम भोलिसम्म चल्ने छ । 

 

सम्बन्धित