NP EN

हामी केही गर्दैछौं, जनतालाई गरिबीसँग तड्पिन दिँदैनौंः प्रधानमन्त्री

१० कात्तिक (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरूपमा उठाइने बताउनुभएको छ ।
वन तथा वातावरण मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप सम्मेलनमा अझ प्रभावकारी ढङ्गले सशक्तरूपमा उठाउन तयारी भएको बताउनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार  भएको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले जलवायु परिवर्तनमा नेपालको स्पष्ट अडान र दृष्टिकोणलाई कोप–२९ मा राख्ने गरी तयारी गर्ने निर्णय गरेको थियो । कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले नेपालमा हिमालहरूले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरू जोगाउनु र  नेपालले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले देश र मानव जातिका लागि लोकतन्त्र सर्वोत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरू पूर्ण कटिबद्ध रहेको स्पष्ट गर्नुभएको हो । उहाँले भन्नुभयो– हामी केही गर्दैछौं । जनतालाई भोकै मर्न दिँदैनौं । गरिबीसँग तड्पिन दिँदैनौं । त्यसका लागि अहिलेको सरकार बनेको हो ।

सम्बन्धित