NP EN

हामीविरूद्ध भयानक घेराबन्दी छः प्रधानमन्त्री ओली

२९ भदौ (२०८१), काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई अगाडि बढ्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको आज बुढानीलकण्ठमा उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिले पनि परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरू लागिरहेको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले भन्नुभयो– अहिलेको परिस्थिति जटिल छ । हामीविरुद्ध भयानक घेराबन्दी छ । परिवर्तनका विरोधी शक्तिहरू संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधिनायकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरू बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन । पदधारी होइन, आशाधारीहरू कराइरहेका छन् । जानी नजानी एक खालका मानिसहरूबाट नकारात्मक माहौल खडा गर्ने कोसिस भइरहेको छ । सत्य र तथ्यको बाटो नभई झुठ, भ्रम, षड्यन्त्र र तिकडमको सहारा लिएका छन् । उनीहरूलाई काम र मेहनत गर्नुपर्दैन, भएको राम्रो कामको निन्दा र उल्टो प्रचार गरे पुग्छ ।
आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरूपमा लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरूलाई गतिशील बनाउँदै समस्याहरूको खोजी र निदान हुने अपेक्षा गर्नुभयो ।
अध्यक्ष ओलीले सङ्गठनको आयतनसँगै घनत्व पनि बढ्नुपर्ने बताउँदै अहिले हाम्रो सङ्गठनभित्र सिथिलता, उदासिनता र जिम्मेवारीबोधको कमी र अलिकति इलुजन देखिएको छ भन्नुभयो । 
उहाँले आन्दोलनकारी प्रवृत्ति अत्यन्त घट्दो रहेको हुँदा त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘नलडी कोही हुन्न विजेता’ स्मरण गराउँदै विजयी हुन भ्रमविरूद्ध लड्नुपर्नेमा जोड दिनुभयो । 
अध्यक्ष ओलीले मिसन–२०८४ एमालेका लागि निर्णायक विन्दु भएकाले पार्टीका सबै सदस्यहरू पार्टीका कार्यकर्ताहरू हौं भन्ने कुरालाई मनन गरी कर्मी मौरीका रूपमा क्रियाशील हुन आग्रह गर्नुभयो । २०८४ को निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बलिया आधार रहेको बताउँदै त्यसका लागि अहिलेदेखि नै पार्टीका नेताकार्यकर्ताले सारा सामर्थ्य लगाएर काम गर्दै जानुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । 

सम्बन्धित