NP EN

सुशासन र विकासका लागि अध्यादेश

केपी शर्मा ओली, प्रधानमन्त्री 

नेपाली कांग्रेस र नेकपा (एमाले)को नेतृत्वमा जुन संयुक्त सरकार छ । यो संयुक्त सरकार काम गर्नका निम्ति बनेको हो, स्थायित्व, स्थिरताका लागि बनेको हो र यसले जनताका समस्याहरूलाई सम्बोधन पनि गर्छ, सुशासन र विकासलाई पनि अगाडि बढाउँछ ।
सम्पूर्ण उपस्थित साथीहरू !
सम्माननीय राष्ट्रपतिबाट अध्यादेशहरू जारी भइसकेका छन् । अध्यादेशहरू  जारी हुनुभन्दा अगाडिका प्रतिहरू यहाँहरूका हातहातमा पुगिसकेका छन् । यो सञ्चार जगतमा पनि पुगेको छ, अन्यत्र पनि पुगेको छ । जारी भएपछि विधिवत रूपमा पुग्छ नै । यसका विशेषता के छन्, के हुन्, किन आवश्यक पर्यो, केका लागि संशोधन गर्नु पर्यो, कतिवटा कानुन संशोधन गरियो भन्ने कुरा अहिले भर्खरै मुख्यसचिवले बताइसक्नुभयो । अत्यन्त जरूरी भएका, तत्काल कानुन संशोधन गर्न आवश्यक भएका २९ वटा कानुनका विभिन्न ठाउँमा संशोधन गरेर अध्यादेशहरू जारी गरिएको छ । अर्थात् हामीले मन्त्रिपरिषद्ले अध्यादेशको सिफारिस गर्यो र सम्माननीय राष्ट्रपतिबाट ती अध्यादेशहरू जारी भएका छन् । तसर्थ, अध्यादेशहरूका बारेमा मैले धेरै कुराहरू व्याख्या गरिरहनु परेन । यसले एउटा कुरा बताएको छ, देखाएको छ कि अहिलेको सरकार जनतालाई सेवा प्रवाह गर्नेदेखि लिएर समग्र सुशासनका पक्षहरूलाई सुदृढ, प्रभावकारी, गतिशील बनाउने र सुशासनका सबै पक्षहरूमा ध्यान पुर्याउने, सुशासन दिने र विकासका कामहरूलाई प्रभावकारी ढङ्गले गतिशीलताका साथ अगाडि बढाउने र समृद्धि हासिल गर्ने, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई सफल पार्ने कुरामा दत्तचित्त छ भन्ने कुरा यी अध्यादेशको जारी गराइबाट स्पष्ट हुन्छ । 
यी अध्यादेशहरू बाहिर कताकति चर्चा गरेको जस्तो राष्ट्रपतिबाट यति वटा अध्यादेश जारी भए, यति वटा अध्यादेश रोकिए भन्ने होइन । एकपटक नपढिकन राष्ट्रपतिले जारी गर्नु पर्छ भन्ने कुरा होइन । राष्ट्रपतिले अध्ययन गर्न लगाउनु हुन्छ, आफूले  अध्ययन गर्नु हुन्छ र त्यसपछि जारी गर्नु हुन्छ । कति अध्यादेश मसान्तकै दिन भ्याउनु भयो, कति बाँकी रह्यो । भूमिसम्बन्धी बाँकी रहेको अध्यादेशलाई रोकियो भन्ने त्यो शब्द नै मिलेन, त्यो अपव्याख्या हो । अर्कातिर नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाजीको यस्तो नक्कली वक्तव्य आयो, उहाँको हस्ताक्षर पनि स्क्यान गरेर जस्ताको तस्तै, नेपाली कांग्रेसको लेटर प्याड आदिसम्मको यस्तो जाली काम सत्यलाई तोडमोड गर्ने, बङ्ग्याउने काम भइराखेको छ भन्ने हामीले बुझ्नु पर्छ । 
यी अध्यादेशहरू जारी हुने कुराले यी सबै भ्रमहरूको एकमुष्ठ पर्दाफास गरेको छ र जवाफ दिएको छ भन्ने मलाई लाग्छ । नेपाली कांग्रेस र नेकपा (एमाले)को शीर्ष नेतृत्व तह, कर्मचारीतन्त्रको शीर्ष नेतृत्व तह र विज्ञहरूको राय सल्लाहमा सघन र विस्तृत छलफलपछि सबै पक्षहरूको सहमतिमा र खासगरी उद्यमी व्यवसायीहरूको समस्या सुनेर ती समस्याहरूको समाधान कसरी हुनसक्छ भन्ने कुरालाई पनि ध्यानमा राखेर, उहाँहरूसँगको पनि अन्तरक्रिया पश्चात् सबै पक्षमा ध्यान दिएर नै अहिले अध्यादेश जारी गर्नु पर्ने अवस्था देखिएको हुनाले बहुतै सावधानी र मेहनतका साथ अध्यादेश तयार गरिए र मन्त्रिपरिषद्ले पारित गरेर सिफारिस गरिए ।
खासगरी नेपाली कांग्रेस र नेकपा (एमाले)को नेतृत्वमा जुन संयुक्त सरकार छ । यो संयुक्त सरकार काम गर्नका निम्ति बनेको हो, स्थायित्व, स्थिरताका लागि बनेको हो र यसले जनताका समस्याहरूलाई सम्बोधन पनि गर्छ, सुशासन र विकासलाई पनि अगाडि बढाउँछ । कुनै कुराले यसको प्रतिबद्धता र गतिलाई रोक्न सक्दैन भन्ने चिजलाई यसले देखाएको छ । हाम्रो सरकारमा रहेका दलहरूको एकता यसबाट सुदृढ ढङ्गले प्रस्तुत भएको छ । एउटा अक्षरमा पनि कतै असहमति कही पनि छैन । पूर्ण सहमतिका साथ यी अध्यादेशहरू आएका छन् । 
अस्तिका दिनदेखि सरकार बन्नै दिन्न भन्नेदेखि लिएर अनेक कुराहरू गर्ने, सरकार आज नै ढल्छ, भरे नै ढल्छ, बिहान ढलेन, हेर है चर्याकचर्याक गर्दै छ, ढल्न ढल्न लाग्यो, बाङ्गो भइसक्यो है, सरकार दिउँसोसम्म ढल्छ,  दिउँसो हावा कम भयो कि के भयो रोकियो, बेलुकासम्ममा ढल्छ भन्नेहरू, उज्यालो भएको हुनाले दिउँसो ढलेन रात परेपछि ढल्छ भन्नेहरूले मध्यरातमा अध्यादेश आए, यस्तो षडयन्त्र के हो भन्न थाले । हामीले विहान पौने एघार बजे राष्ट्रपतिकहाँ अध्यादेशको सिफारिस लगेर दर्ता गर्यौ । पौने एघार बजे दर्ता गरेको अध्यादेश राष्ट्रपतिले हेर्न नै पाउनुु भएको छैन, मध्यरातमा अध्यादेश आए, मध्यरातमा यस्तो षडयन्त्र के हो भने । बिहान पौने एघार बजेलाई मध्यरात भनिन्छ ? यो संसारको कहाँ हुनुहुन्थ्यो र कहाँबाट मध्यरात देख्नु भयो ? त्यसो भन्ने मान्छेहरू संसारको कुन भूभागमा हुनुहुन्थ्यो ? यी सबै कुराहरूको पनि यसले खण्डन गरेको छ । मध्यरातमा होइन दिउँसो हो । जहाँसम्म हामी राती पनि काम गर्छौं भन्ने कुरामा टाउको नदुखाए पनि हुन्छ । जसले जे भने पनि बिहान पनि गर्छौं, दिउँसो  पनि गर्छौं, बेलुका पनि गर्छौं र राती पनि गर्छौं । जबसम्म देशको विकास हुँदैन, सुशासन आउँदैन, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुँदैन तबसम्म हामी राती पनि काम गर्छौं, बिहान पनि काम गर्छौं, दिउँसो पनि काम गर्छौं । हामी आराम गर्न जन्मिएकै होइनौं, काम गर्न जन्मिएका हौँ । देश बनाउन सरकारमा आएका छौँ । यहाँ आराम गरेर टेन टु फाइभको घन्टीबाट सुरु गरेर अन्त्य गर्ने, यो हामीले केटाकेटीको विद्यालय चलाएको हो र ? यो सरकार चलाएको हो । त्यसकारण यहाँ राती पनि काम हुन्छ, दिउँसो पनि काम हुन्छ र राती पनि हामी काम गर्छौं । हामी जति बेला पनि काम  गर्छौं । रातदिन गरेको कामलाई कसैले इन्डिकेट गरेको हो भने बेग्लै कुरा हो । 
अर्को कुरा, कुनै कानुन राती बनाउन पाइँदैन होइन, मज्जाले पाइन्छ । संसदमा पनि दिउँसैदेखि काम गर्दा रात परेको हुन्छ । कहिले कहिले म्याद गुज्रिने हुन्छ । संसद आफैँ पनि कानुन र संविधानभित्र बाँधिनु पर्छ । बाँधिदा रातीसम्म काम पुग्न जान्छ । त्यसो भएर राती पनि गर्नु पर्ने हुन्छ । राम्रो काम कति बजे गर्नु हुँदैन भन्ने हुन्छ ? बत्ति बालेरै गरेको हुन्छ, अँध्यारोमा त गरेको हुँदैन । अक्षरहरू देखेरै गरेको हुन्छ । त्यसकारण राती, दिन भन्ने यी अफवाह फैलाउने खालका तरिकाहरू हुने रहेछन् । तर खासै बलिया र उत्तम तरिका होइनन् र यिनीहरू स्वीकार्य तरिका पनि होइनन् । 
मेरो एउटा सुझाव छ, यी अध्यादेशहरूले जुन जवाफ दिएका छन्, स्पष्ट पारेका छन्, ती कुराहरू बुझेर यो सरकार परिवर्तन गर्न सक्छु भन्ने एउटा विशाल नदीका किनारमा बसेर ससानो ढुङ्गा टिप्दै फ्याक्दै गर्ने, यो के गरेको भन्दा यो नदी थुन्दिन खोजेको भनेको जस्तै, यो बेकारको काम हो । कता मोर्चाले आन्दोलन गर्ने अरे भनेको पनि सुनिराखेको छु । त्यो उहाँहरूको अधिकारको कुरा हो, त्यसलाई म सम्मान गर्छु । तर, सभ्य तरिका, सभ्य भाषा, सभ्य क्रियाकलाप गर्नुस् भन्ने मात्रै मेरो सुझाव हुन्छ । शान्तिपूर्ण र सभ्यतापूर्ण होस्, अधिकार त प्रयोग गर्न पाइन्छ, गर्नुस् । 
अहिले मैले धेरै कुरा केही नभनौं, यो कसैका विरुद्ध होइन । एउटा अफवाह र हल्ला थियो कि संसद रोकी रोकीकन पार्टी फुटाउने भन्ने । कसले बोलायो र संसद रोकेको छ ? नबोलाइकन सुरु नै हुँदैन, कहाँबाट रोकिनु ? बोलाएपछि स्थगित गरियो भने पो रोकी रोकीकन भन्ने कुरा आउँछ । संसद बोलाएकै छैन । हामी विधेयकहरूको प्रस्तावको तयारी गर्दै छौँ । त्यसका लागि समय लिइराखेको छ । हामी कामलाई व्यवस्थित पनि बनाउँदै जाने र तुरुन्तै यी अध्यादेशहरू प्रतिनिधिसभा सुरु भएको पहिलो दिन नै संसदमा प्रस्तुत  गर्छौं  र ६० दिनभित्र प्रतिस्थापन विधेयकहरू ल्याउँछौँ  र यिनीहरूलाई पारित गर्छौं । त्यसो भएको हुनाले संसद पनि पार्टी वा दल फुटाउन भन्ने ? हामीलाई अरुको दल फुटाउन भन्ने ? अरुले जस्तो सुकै जारी गर्यो विरोध गर्न र मैले ४० वा ४० भनेर दल त्यागसम्बन्धी ऐनमा संशोधन गर्दा कोकोहोलो मच्चाएर फिर्ता गर कि फिर्ता गर भनेकाले मैले फिर्ता गर्दिए । त्यत्रो आपतविपद् पर्यो, साथीहरूलाई खानै नरुच्ने भयो, निद्रा नै नलाग्ने भयो भनेपछि किन यस्तो होस् भनेर मैले उहाँहरूको मायाले नै फिर्ता गर्दिएँ । पछि त २० वा २० प्रतिशत भनेर पो आउँछ ! त्यसो गर्ने मान्छेले अहिले त्यस्तै गर्छ कि क्या हो भन्ने डरले लौ पार्टी फुटाउन आट्यो भन्ने ठाने । 
अर्काको पार्टी फुटाउन हामीलाई के सौख ? न जोड्ने सौख छ, न फुटाउने सौख छ । हामी अहिले सरकारमा बसेर पार्टी फुटाउने र जोड्ने कामतिर होइन कि सरकारमा बसेर सरकारको काम गर्ने कुरामा केन्द्रित छौं । अहिले हामीले सरकारलाई प्रभावकारी बनाउने हो र प्रभावकारी ढङ्गले सरकारलाई सफल बनाउने हो । अहिलेको हाम्रो काम त्यो हो । हामी त्यस काममा केन्द्रित छौं ।  सरकार टिकाउने हाम्रो काम होइन । टिक्न त आफैँ टिकिहाल्छ नि, यत्रो मजबुत सरकार । तर, काम गरेर यसलाई सफल बनाउनु छ । त्यसका निम्ति अध्यादेश आवश्यक भए र अध्यादेश हामीले ल्यायौं । यसमा कुनै प्रकारको कतै भ्रम नरहे हुन्छ । यसले जुन प्रकारले आम जनताबाट स्वागत पाएको छ, म स्वागत गर्ने उद्यमी व्यवसायी, संघसंस्था वा व्यक्तिहरू सबैलाई धन्यवाद भन्न चाहन्छु । उहाँहरू सबैले स्वागत गर्नु भएको छ । वास्तवमा यस्तै स्वागतयोग्य कानुन ल्याउँदै र स्वागतयोग्य काम गर्दै हामी अगाडि बढ्ने छौं । त्यसै प्रयोजनमा यी अध्यादेश आएका हुन् । 
अन्त्यमा, सबैको भलो होस् । आज भूकम्प सुरक्षा दिवस पनि हो । हामीले १९९० सालको भूकम्पलाई सम्झिएर त्यसलाई राष्ट्रिय भूकम्प दिवसका रूपमा मानेका छौं । भूकम्प दिवस भन्दा पनि भूकम्पको क्षति न्यूनीकरण कसरी गर्ने भन्ने सम्बन्धमा र भूकम्पबाट क्षति भइहाल्यो भने त्यसको पुनःस्थापना कसरी गर्ने भन्ने सम्बन्धमा पनि यस दिवसलाई पनि स्मरणमा लिएर काम गर्ने हामीले गरिरहेका छौं र अब हामी त्यसै हिसाबले अगाडि बढ्छौं । यथोचित समयमा संसद अधिवेशन सुरु हुन्छ र विधेयक तथा अन्य संसदले गर्नु पर्ने कामहरू अगाडि बढाउने छ । यिनै कुराहरू राख्दै म सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । खासगरी यी अध्यादेशहरू निर्माण गर्ने काममा विभिन्न ढङ्गले सहयोग पुर्याउने, मद्दत पुर्याउने, योगदान पुर्याउने र खासगरी कानुनी जटिलताहरू र २९ वटा कानुन कम्तिमा पढ्नु पर्ने र २९ वटा कानुनका कुन कुन ठाउँमा कस्ता कस्ता नमिल्दा कुराहरू छन्, तिनीहरूलाई कस्तो भाषामा प्रस्तुत गर्नु पर्ने आदि जस्ता कुराहरूमा सकेसम्म खँदिलो र प्रभावकारी बनाउनका लागि जुन अध्ययन, प्रयास र योगदान साथीहरूले गर्नु भएको छ, त्यसका लागि सबैलाई म धेरै धेरै धन्यवाद भन्दै आफ्नो भनाई टुङ्ग्याउँछु र यो पत्रकार सम्मेलन पनि यही समाप्त हुन्छ । धन्यवाद । 
(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका विषयवस्तुको सार्वजनिकीकरण गर्न २०८१ माघ २ गते आयोजित पत्रकार सम्मेलनमा गर्नुभएको सम्बोधनको पूर्णपाठ)

 

सम्बन्धित