७ साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालयद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसका कार्यक्रममा प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गर्नुभयो ।
‘पुष्पलाल आदर्शप्रति सधैँ दृढ रहनुभयो । उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो’, अध्यक्ष ओलीले भन्नुभयो– जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो थरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरूको सङ्गठनलाई गतिशील रूपमा हाँक्नसक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै विरासत बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन ।
कार्यक्रममा प्रधानमन्त्री ओलीका साथै नेकपा (एमाले)का नेताहरू बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,महासचिव शंकर पोखरेल लगायत नेताहरूले संस्थापक महासचिव पुष्पलालको तस्वीरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी सम्मान व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन गर्दै महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाका संस्थापक महासचिव पुष्पलालको योगदानको चर्चा गर्नुका साथै उहाँले अगाडि सार्नुभएको संयुक्त जनआन्दोलनको नीतिबाटै मुलुकमा निरङ्कुशविरूद्धको आन्दोलन सफल भएको बताउनुभयो ।
विसं १९८१ म रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । उहाँकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।