NP EN

शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको

ब्रेक थ्रू

११ माघ (२०८१), काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीको  भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रू गरिएको छ । 
ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको छ । 
प्रधानमन्त्री ओली स्थलगतरूपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरूपमा उपस्थित हुनुभएको हो । 
प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरूलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न शुभकामना दिनुभयो ।
यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रू भएको र नेपाल सुरुङ युगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिरहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
‘सुरुङमार्ग ब्रेक थ्रू हुनु सिङ्गै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरुको पनि सहयोग लिन्छौं र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरूमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरू यसैतर्फ केन्द्रित छन् ।
कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रशासकीय भवनको उद्घाटन 
प्रधानमन्त्री ओलीले आजै भर्चुअल माध्यमबाट पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्नुभयो । 
प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा जाने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरूपमा उपस्थित हुन असमर्थ भएको जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाउने र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरूले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरूकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको पनि बताउनुभयो । 
प्रधानमन्त्री ओलीले खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने अपेक्षा गर्नुभयो ।
उद्घाटन कार्यक्रममा स्थलगत रूपमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित हुनुभएको थियो ।
प्रधानमन्त्री ओलीले पाल्पाकै तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको पनि भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो । 
कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको बताउँदै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पाल्पा एक ऊर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीब्ररूपमा अगाडि बढाउन आग्रह गर्दै केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरूको अर्थ नहुने स्पष्ट गर्नुभयो ।
उहाँले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्वहरूले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै नेकपा (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्ने स्पष्ट गर्नुभयो ।

तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति गरिसक्ने
प्रधानमन्त्री ओलीले आजै बुटवल–गोरुसिङ्गे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधन सभालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तिब्रता दिने बताउनुभयो । उहाँले आगामी तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्ड विस्तार गरिसक्ने घोषणा गर्नुभयो । 
उहाँले उच्च सङ्कल्प र आँटका साथ देशको विकास हामीहरू आफैले गर्नुपर्नेमा जोड दिँदै यसमा विदेशी सहयोगी हातहरूको पनि साथ लिने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले धर्म, जात र अनेक नाममा विभाजन र भ्रम फैलाउन खोज्ने पक्षहरूलाई बेवास्ता गरी एकताबद्ध भई देश बनाउने मार्गमा अग्रसर हुन सबैमा आग्रह गर्नुभयो । 
कार्यक्रममा स्थलगत रूपमा उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतले सम्बोधन गर्नुभएको थियो ।​

सम्बन्धित