NP EN

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्ः प्रधानमन्त्री

इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

-चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याइने
५ वैशाख (२०८२), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुला दलको साझेदारीमा निर्मित अहिलेको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कका साथ विकास र सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका दलहरू एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताउनुभएको हो ।
‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्णरूपमा लागेका छौँ । तपार्ईंहरू पनि ढुक्कसाथ यस अभियानमा लाग्नुस् । सबै मिलेर देश बनाऔँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– हामीले गाउँगाउँमा सिंहदरबार बनाउने सोचका साथ संविधान निर्माणका समयमा स्थानीय सरकारको व्यवस्था गरेका हौँ । तपाईंहरूले अधिकार र कर्तव्यलाई मनन् गरी हामीले प्राप्त गरेको राजनीतिक व्यवस्थाको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
प्रधानमन्त्री ओलीले चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउने पनि बताउनुभयो । 
प्रधानमन्त्री ओलीले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, बाग्मती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटालगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित