NP EN

सरकारले पलेशा गोवर्धनलाई रु ६५ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

१९ भदौ (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारालम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाई रु ६५ लाख राशीको पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाई रु ६५ लाख नै दिने स्पष्ट गर्नुभएको हो । 
पेरिस पारालम्पिक–२०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्ग अन्तर्गत महिला ५७ केजी तौलमुनिको  प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जित्नुभएको हो । उहाँ पारालम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको छ । 
प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताउनुुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौं । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ । यो कीर्तिमान इतिहासमा लेखिने छ । हामीले पुुराना कीतिमानहरू तोड्दै जानुपर्छ । एउटै रेकर्डमा चित्त बुुझाएर बस्नुु हुँदैन । हाम्रो कीर्तिमानको यात्रा शुरू भएको छ ।
सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको थियो ।

सम्बन्धित