NP EN

समृद्ध नेपालको परिकल्पना सार्थक बनाउन देशलाई गरिबीमुक्त बनाउनुपर्छः प्रधानमन्त्री

२६ साउन(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुभएको छ ।
‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताउनुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनी छन् । भोका बालबालिकका र मानिसलाई खाने लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन । 
‘संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग हालै भएको भेटमा मैले यो कुरा गरेको थिएँ । आउँदो असोजको पहिलो साता राष्ट्रसङ्घको महासभामा पनि म यिनै विषयलाई महत्व दिएर बोल्नेछुु’, भन्नुहुँदै प्रधानमन्त्री ओलीले मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता भएको बताउनुभयो । 
उहाँले भन्नुभयो– मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्न सक्छ । अशान्ति मच्चिन सक्छ । त्यसैले मानवअधिकारको रक्षा पहिलो दायित्व हो भन्ने भावनाले सबैले काम गर्नुपर्छ ।
प्रधानमन्त्री ओलीले आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै सत्य र मानवसेवामा लाग्ने लायन्सहरूका साथमा अहिलेको सरकार रहने स्पष्ट गर्नुभयो । ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिन ।’ प्रधानमन्त्री ओलीले आफ्नो अठोट सुनाउनुभयो ।  
समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफूूलाई अग्लो देखाउन अरुलाई होँचो भन्ने वा असत्य कुराहरूलाई आधार मानेर गाली गलौज र बदनाम गर्नेहरूको प्रवृत्ति सही नहुने बताउनुभयो ।

 

सम्बन्धित