NP EN

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन कार्यान्वयनमा सरकारले यथेष्ट सहजीकरण गर्ने छः प्रधानमन्त्री

३० साउन (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताउनुुभएको छ । 
प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट गर्नुभयो । 
‘हाम्रो देशमा द्वन्द्व थियो । हामीले शान्ति प्रक्रिया अगाडि बढायौं । यो प्रक्रिया हाम्रो आफ्नै हिसाबको मौलिक (होम ग्रोन) हो । कहिले धीमा गति र कहिले समाधान हुँदै यो प्रक्रिया अगाडि बढेको छ । हामीले दुनियाँका लागि एक नमुनाका रूपमा शान्ति प्रक्रिया अगाडि बढाएका छौं । द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगथलग भएका पक्षहरूलाई उत्थान गर्ने गरी हामी अघि बढेका छौं’, प्रधानमन्त्रीले भन्नुुभयो– नेपालमा शान्ति प्रक्रियाको अन्तिम किस्ताका रूपमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी कानुनलाई लिएका छौं । राजनीतिक कार्यदल र संसदको सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुने गरी सर्वसम्मत पारित भइसकेको छ । यस अर्थमा म खुुसी व्यक्त गर्दछुु । यो हाम्रो सफलता दुनियाँका लागि उपयोगी हुनसक्ने छ ।

सम्बन्धित