NP EN

संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलतः प्रधानमन्त्री

५ कात्तिक (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुभएको छ । 
प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताउनुभएको हो । 
प्रधानमन्त्रीले भन्नुभयो– राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौं लाग्नसक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।
इन्द्रजात्राजस्ता पर्वहरूमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धूनहरू रहेको र यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा गर्नुभयो ।
सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवतलाई सरकारी कामकाजको प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गर्नुभयो । उहाँले राष्ट्र बैङ्कबाट निष्कासन हुने नोटमा नेपाल संवतको पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरूमा नेपाल संवतको नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गर्नुभयो । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवतको प्रयोगको अवस्थाबारे अनुगमनको व्यवस्था गर्न सुझाव दिनुभयो । सरकारले २०६५ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
यस वर्षको नेपाल संवत ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्याको प्रतिमामा माल्यार्पण र काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रम हुने छ । समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा  प्रधानमन्त्री ओलीलाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा दिएका छन् । सो अवसरमा पूर्वमन्त्रीहरू कृष्णगोपाल श्रेष्ठ, दिलीप महर्जन, अगुवाहरू हितकरवीर सिंह कंसाकार, मल्ल के सुन्दर, प्रा. नरेशमान बज्राचार्यलगायतको उपस्थिति थियो ।

सम्बन्धित