NP EN

संविधानलाई जीवनमय बनाउन जरूरी छः प्रधानमन्त्री ओली


३ असोज(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रक्रियामा सरकारमा रहेका दलको संसदको गणितीय सङ्ख्यालाई मात्र नहेरी सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिने बताउनुुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानलाई समयानुकूल बनाउँदै अमिल्दा विषय र राजनीतिक तहमा देखिएको अस्थिरताको केही हदसम्म सम्बोधन संविधान संशोधनबाट हुने विश्वास व्यक्त गर्नुभयो । 
संविधानमा लेखिएको कुरा व्यवहारमा लागु होस् भन्ने आम नागरिकको भावनालाई कदर गर्दै यस संविधानलाई जनसंविधानका रूपमा लिएर संविधान दिवसलाई औपचारिक मात्र नभई नागरिकस्तरमा भव्यरूपमा मनाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । 
‘संविधानमा लेखिएका कतिपय अधिकारहरू नागरिकका जीवनमा अनुदित भएका छैनन् । संविधानलाई जीवनमय बनाउन राज्य र नागरिक दुवै पक्षको प्रयास जरूरी छ । संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारसँग अरु कुनै मुद्दा छैन’, संविधान दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले भन्नुभयो– युवा पुस्तासँग भएको ऊर्जा, हुटहुटी र सपनाको सही उपयोग हुनुपर्छ । युवाहरूलाई म भन्न चाहन्छु, तपाईंहरूसँग केही गरौं भन्ने आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला ।
प्रधानमन्त्री ओलीले समाजमा अनुशासन र सामाजिक व्यवस्था तथा मर्यादाको पालनाका लागि स्मरण गराउँदै भीडतन्त्र र अराजकता लोकतन्त्र अनुकूल हुन नसक्ने बताउनुभयो । ‎
संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली साँझ संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौंको दरबारमार्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा सहभागी हुनुभएको छ ।
नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुग्नुभएको हो । हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजमा प्रधानमन्त्री ओली पुग्दा  सहभागीहरूले तालीको गडगडाहटबाट स्वागत गरेका थिए ।
सुमधुर साँझमा कलाकारहरूको प्रस्तुतीका बीच प्रधानमन्त्री ओलीले सङ्क्षिप्त शुभकामना दिँदै भन्नुभयो– हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौं । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु । इन्जेय गर्नुस् । धेरै धेरै धन्यवाद ।


सम्बन्धित