NP EN

संविधान जारी गर्ने काममा नेम्वाङको भूमिका महत्वपूर्णः प्रधानमन्त्री

२६ भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक संविधान सभाबाट संविधान जारी गर्ने काममा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । 
संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा आज पार्टी केन्द्रीय कार्यालयले तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले स्व. नेम्वाङ लोकतन्त्रको साँचो अनुयायी भएको बताउनुभयो । 
पहिलो संविधान सभा अरुहरूले असफल बनाएका तर दोस्रो संविधान सभा असफल हुन नदिन र संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्र्दै प्रधानमन्त्री ओलीले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिक रूपमा पनि संविधान सभाको अध्यक्षता गर्नुभएको कुरा इतिहासमा सधै सम्झना भइरहने बताउनुभयो । 
उहाँले भन्नुभयो– स्व. नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो । उहाँको निधनबाट परिवार र हाम्रो पार्टीलाई असाधारण क्षति पुगेको छ नै, देशले पनि जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ । 
नेकपा (एमाले)का अध्यक्ष ओलीले स्व.नेम्वाङको नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्नुभयो । उहाँले नेपालको परिवर्तनमा योगदान गर्नुभएका नेताहरूका नाममा स्थापना भएका र गरिने यस्ता प्रतिष्ठान ती नेताहरूका विचार, आदर्श, उनीहरूले अँगालेको बाटो, व्यवहार र आचरण अनुरूप चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 
प्रधानमन्त्री ओलीले स्व. नेम्वाङले देखाउनुभएको आदर्श र उद्देश्य साकार पार्ने प्रण गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । यसअघि प्रधानमन्त्री ओली, पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिव लगायत पार्टीका नेताहरूले स्व. नेम्वाङको तस्वीरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । 
कार्यक्रम सञ्चालन गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्व. नेम्वाङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अग्रमोर्चामा रहेर परिवर्तनको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको वताउनुभयो । 
महासचिव पोखरेलले ऐतिहासिक संविधान सभाबाट संविधान जारी गर्ने कामको अगुवाई गर्नुभएका नेम्वाङको निधनबाट संसदीय इतिहासमा अपुरणीय क्षति भएको विचार व्यक्त गर्नुभयो । 

सम्बन्धित