NP EN

विश्वलाई पहिले भन्दा अहिले बढी शान्ति आवश्यकः प्रधानमन्त्री

२६ साउन (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेभन्दा अझ बढी शान्ति आवश्यक भएको बताउनुभएको छ ।
ठहिटीस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण उपासक–उपासिकाहरूलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो । 
अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता, दया  र परोपकारभाव धेरै आवश्यक भएकाले बुद्धका शिक्षाहरू थप सामयिक भएको उहाँले बताउनुभयो । 
प्रशिक्षणमा सहभागी ६४ जना उत्तीर्ण भएका थिए । 
खराबी उन्माद, आक्रोश र दम्भको मार्ग छाडेर शालीनता, विनयशीलता, मानवीयता र आत्मीयभाव देखाउन सकिए विश्वमा शान्ति छाउने र पृथ्वीको पनि सुरक्षा गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ । 
प्रधानमन्त्रीले भन्नुभयो– आज विश्वमा मानवीय उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति मच्चिएको छ । आफ्नो जिद्धिका लागि निर्दोष मान्छेमाथि पनि कस्ले कतिबेला कहाँ सशस्त्र हतियार प्रहार र प्रतिप्रहार गर्ने हो भन्ने खालको भय पैदा भएको छ । त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ ।
उहाँले परस्पर बेमेल र अशान्ति गर्ने प्रवृत्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनाश मात्रै निम्त्याउने धारणा राख्नुभयो ।
कार्यक्रममा बिहारका प्रमुख धम्मवती गुरुमाँले प्रधानमन्त्री ओलीलाई आरोग्यसहित नेपाललाई राम्रो बाटोमा लान सक्नुुहोस् भनी कामना गर्नुभयो । 
कार्यक्रममा प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित