NP EN

विशाल जनसहभागिता र भव्य समारोहबीच पार्टीको ११औं महाधिवेशन उद्घाटन

अध्यक्ष ओलीले  उद्घाटन समारोहलाई सम्बोधन गर्दै भन्नुभयो–

-लोकतन्त्र अजेय छ, एमाले अजम्मरी छ
-देशलाई समृद्ध र जनतालाई सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौं 
-महाधिवेशनमा उर्लिएको जनसागर लोकतन्त्र र एमालेप्रतिको जनविश्वास हो 
-सरकार निर्वाचनको वातावरण बनाउनभन्दा पूर्वाग्रह र संविधानविपरीतका काममा लागेको छ
-निर्वाचनबाट बहुमत ल्याउने ल्याकत भएको एमालेलाई निर्वाचनबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ
-असंवैधानिक सिफारिसका आधारमा गरिएको संसद् विघटन अस्वीकार्य


२७ मङ्सिर (२०८२), काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजबाट शुरू भयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीमा भव्य समारोहबीच रिमोटबाट पार्टीको झण्डा फहराएर महाधिवेशन उद्घाटन गर्नुभयो । 
सयौं नेताकार्यकर्ता र हजारौं जनसमुदायको उपस्थिति रहेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र अजेय र एमाले अजम्मरी रहेको बताउनुभयो । उहाँले एमालेले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने सङ्कल्पमा अग्रसर रहने बताउँदै उहाँले सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको र दिने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्मरी छ । लोकतन्त्र र जनताको हितमा समर्पित एमाले जस्तो शक्तिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छ । सिङ्गो देशलाई समृद्ध र सुखी बनाउने गन्तव्यतर्फ हामी अघि बढिरहेका छौं । कम्युनिष्ट पार्टी जति बलियो भयो, त्यति नै राष्ट्रियता बलियो हुन्छ । 
आठ दशकको गौरवशाली यात्रामा नेपालको कम्युनिष्ट पार्टीले केही गौरवमय मानक स्थापित गरेको स्मरण गर्दै नेकपा (एमाले) सामाजिक न्याय र सामाजिक न्यायको सुरुआती अभियन्ता पार्टी भएको उहाँले बताउनुभयो । 
एमाले समावेशिताको अगुवा भएको र राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको अध्यक्ष ओलीले बताउनुभयो । 
नेकपा (एमाले) नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उहाँले पार्टी गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताउनुभयो ।
अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताउनुभयो । महाधिवेशन उद्घाटन समारोहको आजको विशाल उपस्थितिलाई बेवास्ता नगर्न र सभामा उपस्थित मानिसहरूलाई मात्र एमाले हुन् भन्ने पनि नठान्न उहाँले चेतावनी दिनुभयो । एमालेको महाधिवेशनमा उपस्थित जनसागर सागरको एक थोपामात्र भएको अध्यक्ष ओलीले बताउनुभयो । 
उहाँले नागरिकको यो उपस्थिति लोकतन्त्र र एमालेप्रतिको जनविश्वास भएको बताउँदै विघटित संसद् पुनर्स्थापना हुनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घुसपैठका कारण राज्य र राज्यका संरचनालाई कमजोर बनाइए पनि शान्तिपूर्ण र न्यायपूर्ण बलको जगमा लोकतन्त्रलाई फर्काइने प्रतिबद्धता अध्यक्ष ओलीले व्यक्त गर्नुुभयो ।  
उहाँले अहिलेको सरकार निर्वाचनको वातावरण बनाउनभन्दा पूर्वाग्रह र संविधानविपरीतका काममा लागेको बताउनुभयो । 
सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गराउने वातावरण नै नबनाएको र सरकारले भय सिर्जना गरेको बताउँदै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– संवादको सट्टा निधेष, घृणा र मिडिया ट्रायल, विभिन्न प्रकारका हल्ला, विभिन्न प्रकारका राजनीतिक दलविरुद्ध षडयन्त्र, प्रतिस्पर्धाको सट्टा धम्की, बहसको सट्टा मुद्दा, नेताको राहदानी रद्द र स्थानहद, निषेधाज्ञा यही हो चुनावको वातावरण बनाएको ?
यस्ता क्रियाकलापले निर्वाचनको वातावरण नबन्ने भन्दै उहाँले प्रश्न गर्नुभयो– यस्ता कुराले मतदानको सुरक्षा हुन्छ कि ? दबाब र आतङ्क बढ्छ ?
अध्यक्ष ओलीले एमाले निर्वाचनबाट बहुमत ल्याउने ल्याकत भएको पार्टी हो भन्दै एमाले निर्वाचनबाट भाग्छ भन्ने कसैले पनि नसोचे हुने बताउनुभयो । डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त निर्वाचन हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट नभाग्ने उहाँले प्रष्ट पार्नुभयो । 
अध्यक्ष ओलीले मुलुकमा निर्वाचन गराउने दिशामा सरकार नरहेको जिकिर समेत गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो स्पष्ट माग छ, प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना होस् । देश संविधान र लोकतन्त्रको बाटोमा फर्कियोस् ।
अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको विनाशकारी घटना बिर्सन नसकिने बताउनुभयो । उक्त घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने माग गर्दै उहाँले असामान्य परिस्थितिमा थप मानवीय र भौतिक क्षति नहोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको स्मरण गराउनुभयो ।
अध्यक्ष ओलीले संवैधानिक निकास दिन एमालेले विभिन्न विकल्प अघि सारेको बताउँदै ती विकल्पअनुसार होइन, उल्टो दिशातर्फ देशलाई लगिएको भनाइ राख्नुभयो । उहाँले असंवैधानिक सिफारिसका आधारमा गरिएको संसद् विघटन अस्वीकार्य भएको प्रष्ट पार्दै यस्तो अवस्थामा पुनर्स्थापनाबाहेक अन्य कुनै विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले भदौ २३ को घटनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टीपङ्तीलाई एकताबद्ध भएर उभिन आह्वान गर्दै ११औं राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनुभयो । एक र एक मिलेर ११ बन्ने कुरालाई बिर्सन नहुने उहाँले बताउनुभयो । एक र एक मिलेर मात्र ११ बन्ने तर एक र एक छुट्टिँदा फगत एक मात्र हुने उहाँले बताउनुभयो ।
देशलाई नयाँ युगतर्फ अगाडि बढाउने सङ्कल्पका साथ एमाले जनतामा जाने 

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै महासचिव शंकर पोखरेलले एमाले कमजोर नभई खरानीबाट उठेर झनै शक्तिशाली भएको बताउनुभयो । 
महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रूपमा प्रहार भइरहेको बताउनुभयो । 
उहाँले नेकपा (एमाले) सकियो भन्ने कतिपयलाई लागिरहेको भए पनि महाधिवेशनमा हजारौंको उपस्थितिले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट हुने बताउनुभयो ।
महासचिव पोखरेलले जनताको विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्ने सङ्कल्प एमालेले लिएको र त्यसका लागि अराजकता र अस्थिरता अन्त्य गर्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अठोट व्यक्त गर्नुभयो । 
उहाँले देशलाई नयाँ युगतर्फ अगाडि बढाउने सङ्कल्पका साथ एमाले जनतामा जाने बताउनुभयो । 
महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
एमालेले दलबीच सहकार्यकोे वातावरण बनाउने विश्वास

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुभकामना मन्तव्य राख्नुहुँदै नेकपा (एमाले)ले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापेक्ष बनाउन योग्य नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो । 
कार्यवाहक सभापति खड्काले प्रमुख राजनीतिक दलहरू कमजोर भएको अवस्थामा मुलुकमा निरङ्कुशता हावी भएको स्मरण गर्दै राजनीतिक दलहरू मजबुत हुनुपर्नेमा जोड दिनुभयो । बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू संगठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने उहाँको भनाइ छ ।
नेता खड्काले एमालेको महाधिवेशनले वर्तमान परिस्थितलाई सही ढङ्गले विश्लेषण गर्दै आगामी बाटो तय गर्न अन्य राजनीतिक दलसँग सहकार्य गर्ने वातावरण बनाउने विश्वास पनि व्यक्त गर्नुभयो । 
भदौ २३ र २४ को जेनजी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेलेको बताउँदै कार्यवाहक सभापति खड्काले देशको ऐतिहासिक सम्पत्ति, विभिन्न राजनीतिक दलका कार्यालयहरू जलाइएको छ, त्यस्ता आपराधिक क्रियाकलाप गर्नेहरूलाई समयले माफ नगर्ने बताउनुभयो । 

सङ्कटको निकासका लागि सबै कम्युनिष्ट शक्तिबीचको एकता अनिवार्य शर्त

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता देवप्रसाद गुरुङले मुलुकमा कम्युनिष्ट शक्तिहरूको एकताको विकल्प नरहेको बताउनुभयो । नेता गुरुङले मुलुकलाई सङ्कटबाट निकास दिन पनि नेपालका सबै कम्युनिष्ट शक्तिबीचको एकता अनिवार्य शर्त बनेको जिकिर गर्नुभयो ।
मुलुकको राष्ट्रियता सबैभन्दा बढी सङ्कटमा पुगेको औल्याउँदै उहाँले त्यसबाट मुलुकलाई पार लगाउन कम्युनिष्टहरूबीचको वृहत्तर एकता र लोकतान्त्रिक देशभक्त शक्तिहरूबीच सहकार्यका साथ अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो ।

निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड 

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुशीला कार्की नेतृत्वको सरकार अवैधानिक भएकाले समर्थन गर्न नसकिने बताउनुभयो । 
एमालेको ११औँ महाधिवेशनलाई शुभकामना दिँदै महासचिव विप्लवले राजनीतिक दल विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै नेपाललाई कसैका अधीनमा लैजान नदिने बताउनुभयो ।
उहाँले भन्नुभयो–यो अवैध सरकारलाई हाम्रो समर्थन छैन, हुँदैन ।
महासचिव विप्लवले मुलुकको निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्नेमा जोड दिनुभयो । 
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली राष्ट्रियताको पक्षमा सदैव अग्रसर रहेको भन्दै राष्ट्रिय मुद्दा र एकताको पक्षमा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने समेत बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, बहुदलीय व्यवस्था र समावेशीतालाई जोगाएर नयाँ समझदारी गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

उद्घाटन समारोहको सञ्चालन गर्नुभएका नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिरेर पनि उठ्ने शक्ति भएको बताउनुभयो । 
उहाँले भन्नुभयो– न्यातपोल दरबारले चार चारवटा भूकम्प झेलेको छ र पनि गौरवको रूपमा रहेको छ, धरहरा हामीले नवनिर्माणको प्रतीकको रूपमा राखेका छौं र हामीले सन्देश दिन खोजेका छौँ, न्यातपोलको गौरवशाली इतिहास जस्तै र धरहरा जस्तै धक्का चिरेर उठ्न सक्छौँ  ।
उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कवीन्द्र बुर्लाकोटी लगायत विभिन्न दलका नेताहरूले शुभकामना दिनुभएको थियो । कार्यक्रममा विभिन्न भेषभूषा, जाति समुदायका साँस्कृतिक झाँकी प्रस्तुत गरिनुका साथै कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 
महाधिवेशनको बन्दसत्र भोलि र पर्सि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने छ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ ।

सम्बन्धित