NP EN

विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौंः प्रधानमन्त्री

-हजारौंको सहभागितामा जागरण सभा भव्यरूपमा  सम्पन्न
-अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्ने
-ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता अस्वीकार्य 
-बैङ्कको ऋण तिर्नु पर्दैन भन्नेहरूले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने
-सबै प्रकारका सङ्कटको समाधान एमालेबाट मात्र सम्भव
७ मङ्सिर (२०८१), काठमाडौं । प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरू विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ ।
नेकपा (एमाले)का उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउँदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली कांग्रेसको सहयात्रा गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुभयो ।
एमालेका अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै वर्तमान सत्ता समीकरण बनाइएकाले सरकार गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताउनुभएको हो ।
आफूहरूविरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौडने जनाउँदै उहाँले कागले कान लग्यो भन्दैमा कागका पछि पछि दौडन आवश्यक नरहेको बताउनुभयो ।
‘आफैं सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारको ठगी सैह्य हुँदैन । नेपाली जनता आफ्नो असल संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अघि बढ्नेछन् । नेपाली जनता भ्रममा पर्दैनन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो– अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोज्नेहरूले सार्वभौम जनताको भविष्यलाई सङ्कटमा पार्ने प्रयास गरिरहेका छन् । यसमा हामी सचेत रहनुपर्छ । हाम्रा लागि देश र जनता प्रमुख कुरा हो । त्यसमा हामी दृढ तथा एकताबद्ध भएर लाग्नुपर्छ ।
प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अर्बौंका मालिक बनेकाहरूले आफ्नो विरुद्ध आरोप लगाउँदै हिंडेका स्पष्ट गदै आफूमाथि भ्रष्टाचारको औंला ठड्याउनेलाई बहसमा आउन चुनौती दिनुभयो ।
अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरूत्साहित गर्न लाग्ने बताउनुभयो ।
बैङ्कको ऋण तिर्नु पर्दैन भन्नेहरूले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उहाँले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर विजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको बताउनुभयो । 
चीन भ्रमण अत्यन्त सफल हुनेछ
जागरण सभामा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गर्नुभयोे । उहाँले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने पनि बताउनुभयो ।
राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध जागरण सभाः महासचिव पोखरेल
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालेले जागरण सभा आयोजना गरेको बताउनुभयो । 
देशका दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेको बेला यी खालका षडयन्त्र भएको उहाँले बताउनुभयो । ती षडयन्त्रलाई चिर्न आज जागरण सभा आयोजना गरिएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
नेकपा (एमाले) राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमालेमाथि आक्रमण भएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– हाम्रो पार्टीका विरुद्ध चौतर्फी घेराबन्दी र र आक्रमण हुँदै आएको छ, अहिले हाम्रो पार्टी एमालेलाई समाप्त पार्न अनेक खालका षडयन्त्र भइरहेका छन् । 
नेकपा (एमाले)लाई पटक पटक विभाजनको प्रयास गरिएको भए पनि कार्यकर्तापङ्ती चट्टान जसरी उभिएर पार्टीलाई जोगाई अहिलेको अवस्थामा ल्याएको उहाँले बताउनुभयो । नेकपा (एमाले) विरुद्ध फैलाइएका सबै भ्रमलाई कार्यकर्ताहरूले चिर्दै आएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । 
एमालेले रेलका कुरा गर्दा कागजको रेल बनाएर उडाउने काम गरिएको बताउँदै उहाँले चीन र भारतले नेपालमा रेलवे सेवालाई विस्तारको लागि चासो दिएको उहाँले स्मरण गराउनुभयो । महासचिव पोखरेलले भन्नुभयो– हामीले देखेका सपनाहरू नेपालको विकास र समृद्धिका सपना हुन् भन्ने कुरा हामीले प्रमाणित गर्यौं ।  
काम गर्नेलाई काम गर्न देऊ भन्न सक्नुपर्छ, तब मात्र देश बन्छ
काम एउटाले गर्छ, जस अर्कालाई दिने नेपाली परम्परा बनेको उल्लेख गर्दै महासचिव पोखरेलले नेकपा (एमाले)का अध्यक्ष ओली प्रधानमन्त्री हुँदा विश्वमा उच्च आर्थिक प्रगति गर्ने मुलुकको सूचीमा नेपाल परेको भए पनि उहाँको खुट्टा तान्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– देश बनाउने पार्टी एमाले हो, काम गर्नेलाई काम गर्न देऊ भन्न सक्नुपर्छ, तब मात्र देश बन्दछ । 
नेपालमा सबै प्रकारका सङ्कटको समाधान एमालेबाट मात्र सम्भव भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– केपी ओली नेतृत्वमा बनेको अहिलेको सरकार नेपालको अहिलेको सङ्कट समाधानको लागि बनेको सरकार हो । 
राजनीतिक अस्थिरताको कारण नेपालको विकास हुन नसकेको उहाँले बताउनुभयो । देशको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता, स्पष्ट दृष्टिकोण, बलिया राजनीतिक दल आवश्यक पर्ने उहाँले प्रष्ट पार्नुभयो । 
नेकपा (एमाले)सँग जोडेर विभिन्न प्रचार गरिएको बताउँदै उहाँले त्यसमा एमालेको कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो । एमालेमाथि जोडिएका सबै विषयमा छानबिन गर्न उहाँले चुनौती दिनुभयो । 
अराजकताका विरुद्ध प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली दह्रोसँग उभिएका कारण उहाँलाई बदनाम गराउने खेती भइरहेको र यो खेती नटिक्ने महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो– नेकपा (एमाले) जनताको हृदयमा छ, राष्ट्रको हृदयमा छ । 
नेपाली समाजमा केही व्यक्तिहरू जे कुरालाई पनि षडयन्त्रको जालो रच्ने खेलमा लागेको उहाँले बताउनुभयो । कम्बोडियामा भइरहेको कार्यक्रममा एमालेका नेताहरू भाग लिन जाँदा समेत अनेक खालका कुप्रचार गर्ने काम गरिएको भन्दै महासचिव पोखरेलले आपत्ति जनाउनुभयो ।
सहकारी छानबिनमा व्यक्ति केन्द्रित होइन, घटना केन्द्रित भएर छानबिन गरौं भन्ने दल नेकपा (एमाले) भएको स्मरण गराउँदै उहाँले व्यक्ति केन्द्रित भएर अनुसन्धान गरौं भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले आफैं अनुसन्धानको दायरामा रहेको बताउनुभयो । त्यसको दोष समेत अहिले एमालेमाथि लगाउने काम भइरहेको महासचिव पोखरेलले सुनाउनुभयो । 
नेकपा एमाले देश बनाउने यात्रामा रहेको बताउँदै देश बनाउने सन्दर्भमा प्राप्त सबै सुझाव एमालेले ग्रहण गर्ने महासचिव पोखरेलले बताउनुभयो ।
नेकपा (एमाले) काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले स्वागत गर्नुभएको थियो भने ललितपुरका अध्यक्ष  पुरुषोत्तम आचार्यले सञ्चालन गर्नुभएको थियो । 
कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, सचिवालय सदस्यहरू, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीक कमिटीका सदस्यहरू अतिथिका रूपमा  उपस्थित हुनुहुन्थ्यो । 
जागरण सभा अघि उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरका विभिन्न ठाउँबाट हजारौंको सङ्ख्यामा आएका कार्यकर्ता तथा जनसमुदाय भद्रकालीबाट र्यालीका रूपमा सुन्धारा, बीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत भएको थियो । 

 

सम्बन्धित