५ वैशाख (२०८२), चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– छ लेन सडकको आज उद्घाटन गर्नुभएको छ ।
नेपाल सरकारको आफ्नै लगानीमा निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्नुभयो । पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने उहाँले बताउनुभयो ।
‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म सबैलाई आग्रह गर्न चाहन्छु, सधँै राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन, विकासमा ध्यान दिऊँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन, एकतामा जोड दिऊँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।
प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गर्दै यो एउटा सभ्यताको सुरुआत भएको भूभाग हो भन्नुभयो ।
उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गर्नुभएको थियो । सडक रू एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको हो ।