१० चैत (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको ‘टुगेदर फर टुमरोः युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो– समस्याहरू छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ । उहाँले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– हामीले थुप्रै मेडिकल कलेजहरू बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । हाम्रा छोरीहरूले विशेषज्ञ चिकित्सकको सपना देख्नुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनु भएको छ, यो अहिलेको समयको उपलब्धि हो । हामी भावनात्मक ढङ्गले चल्नु हुँदैन, अहिले जति पनि समस्याहरु छन्, ती विकासको गतिसँगै आएका हुन्, त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नु पर्छ ।
प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले त्यसमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब १४० युवाको सहभागिता थियो । उनीहरूले आफ्ना क्षेत्रको अवस्था र समस्या राखेका थिए ।
प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस रूपमा प्रतिवेदन ल्याउन आग्रह गर्नुभयो । त्यसलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटेर लाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।