NP EN

वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल

३१ साउन (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो । 
प्रस्तुत समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरूबीच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिनुभयो । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०÷०८१ मा समग्रमा ६३ दशमलव ४४ प्रतिशत पुँजीगत खर्च भएको बताउनुभयो । 
किसानका लागि मल आपूर्तिमा सहजता भएको, दुर्गममा जोखिमको अवस्थामा रहेका सुत्केरीको हवाई उद्धार गरिएको, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान आरम्भ भएको आदि उपलब्धि देखिएको छ । 
बजेट र कार्यक्रमको तयारीमा अपुग, स्रोत सुनिश्चित नभएका योजना, अन्तर निकाय समन्वय अभाव, निर्माण सामग्रीको अप्राप्यता, खरिद ऐनका समस्या, विस्तृत परियोजना प्रतिवेदन तयारी नहुनु, जग्गा प्राप्ति र रुख कटान आदिका समस्याका कारण आयोजनाहरू समयमा सम्पन्न नभएको प्रस्तुतीकरणमा उल्लेख गरियो । 
समीक्षापश्चात सम्बन्धित मन्त्रालयका सचिवहरूले चालु आर्थिक वर्ष २०८१÷०८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारको १०० दिनभित्र गरिने जनअपेक्षामा आधारित मुख्य कार्यक्रम प्रस्तुतिको क्रम जारी रहेको छ । 
आर्थिक वर्षको सुरुवातदेखि नै बजेट र कार्यक्रम कार्यान्वयन योजना तर्जुमामा सरकारले तदारुकता देखाएको हो । यसअघि प्रधानमन्त्री ओलीले यही साउन १५ गते सबै मन्त्री र सचिवहरूलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिताका विषयमा निर्देशन दिनुभएको थियो ।

 

सम्बन्धित