सुदूरपश्चिम प्रदेशसभामा विशेष सम्बोधन
-यो संविधान कुनै व्यक्तिले दिएको होइन, संविधानसभाले बनाएको हो
-सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व
-पूर्व राजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो
२५ फागुन (२०८१), धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभाका आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गर्नुभयो ।
उहाँले पूर्व राजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भावनामा बगेर देश नबन्ने स्पष्ट गर्नुभयो । उहाँले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका नेतालाई प्रतिगमनतिर देशलाई जान नदिएर एकै आवाजमा उभिएकामा धन्यवाद व्यक्त गर्नुभयो ।
‘पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि हल्ला चलाइएको छ । कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ? जनताले मानिदिन परेन ?’, प्रधानमन्त्री ओलीको प्रश्न थियो– राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएर राष्ट्रपतिका रूपमा हुनुहुन्छ । अरु कसैलाई कुर्सीमा राख्दैमा कोही राजा हुने हो र ?
प्रधानमन्त्री ओलीले अहिले दुई ठुला दलको सहमतिबमोजिम सरकार बनेको र आफूहरूको सहमतिबमोजिम आफूले पूर्व घोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोहोर्याउनुभयो ।