१३ मङ्सिर (२०८१), काठमाडौं । लगानी बोर्डको आज बसेको ६० औं बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि रु. ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु. २३ अर्ब ५९ करोड र २१० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि रु. ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको हो ।
यसैगरी बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत परियोजनाको क्षमता ७५० मेगावाट बाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । साथै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको शेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ ।
प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरूले समन्वयात्मकरूपमा काम गरी मुलुकमा लगानीको उचित वातावरणा सिर्जना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गर्नुभयो ।
बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघिको असोज २२ गतेको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा तयार गरी सरोकार भएका पक्षसँग छलफल भइरहेको जानकारी गराउनुभयो ।