१९ मङ्सिर (२०८१), बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गर्नुभएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्रमा अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्तरूपमा आयोजना गरेको सम्मेलनमा उहाँले भन्नुभयो– नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका छन् । थप नीतिगत र व्यावहारिक सुधार गरी लगानी विस्तार र व्यापार सहजीकरणका लागि तयार छौं ।
द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताउनुभयो । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउनुहुँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सहकार्यलाई सरकारले प्राथमिकता दिएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताउनुभयो । उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैं तत्पर रहेको बताउनुभयो ।
चीन नेपालमा धेरै लगानी गर्ने मुलुकमध्ये एक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापारघाटा चिन्ताको विषय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उहाँले बताउनुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताउनुभयो । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउनुहुँदै उपमन्त्री लिङले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने उल्लेख गर्नुभयो । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उहाँको भनाइ छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल पूर्वाधार, ऊर्जा, पर्यटन, हवाई, स्वास्थ्य आदि क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएको मुलुक रहेकोले लगानी गर्न आग्रह गर्नुभयो ।
सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय नेपालले व्यावसायिक वातावरण बनाउन गरेको पहलबारे जानकारी गराउनुभयो । सरकारले लगानी सहजीकरणसम्बन्धी आठ वटा कानुन एकसाथ संशोधन गरेको र द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको उहाँको भनाइ छ ।