NP EN

राहत तत्काल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

२ कात्तिक (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औं बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न तथा विजुली, स्वास्थ्य, खानेपानीलगायत अवरुद्ध सेवा १५ दिनभित्र खुलाउन भन्नुभयो । 
उहाँले विपद्पछिको क्षतिको विस्तृत मूल्याङ्कन छिट्टै गरी पुनः निर्माणमा अपुग हुने रकम जुटाउन दातृ निकाय वा राष्ट्रको सहभागितामा सम्मेलन गर्न पनि निर्देश गर्नुभयो । 
उहाँले किसानहरूको बालीनालीको नोक्सानी भएको स्थितिमा उनीहरूलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिँदै भत्किएका कुलोहरूको मर्मत आगामी जेठ १५ भित्र गरिसक्न आग्रह गर्नुभयो । 
परिषद्का अध्यक्ष ओलीले नेपाल भूकम्पीय, पहिरो र जलवायु परिवर्तनजन्य विपद्को जोखिममा रहेकाले त्यसको पूर्व तयारी तथा सुरक्षित एकीकृत बस्ती विकासको नीति तर्जुमा गर्न आग्रह गर्दै अन्यत्र आवास नभई जोखिमयुक्त स्थानमा बसेकाहरूलाई बस्ती स्थानान्तरण गर्न र अन्यत्र घर भई जोखिमयुक्त स्थानमा रहेकाहरूलाई त्यहाँबाट हटाउनुपर्ने स्पष्ट गर्नुभयो । 
उहाँले देश र जनताको सुरक्षाका लागि पारदर्शीरूपमा पहिरोको जोखिम भएका स्थानमा वन क्षेत्र विस्तार गर्न र कतिपय वनक्षेत्रमा सुरक्षित बस्ती विकासको योजना अघि बढाउन सकिने भनाइ राख्नुभयो । 
प्रधानमन्त्री गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनाशकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रूपमा लिँदै राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– अहिलेको परिस्थितिमा के गर्नुपर्छ र के गर्न सकिन्छ ? तीनै तहका सरकारबाट समन्वयतात्मकरूपमा काम गर्नुपर्ने छ । कसरी जनतालाई छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ । 
प्रधानमन्त्री ओलीले उपत्यकालाई जोड्ने सडकहरूका आवागमन रोकिएको स्थितिमा दशैं अगावै सम्पूर्ण प्रयासहरू गरेर नाका÷बाटाहरू खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिनुभयो । 

सम्बन्धित