NP EN

राजतन्त्र कुनै हालतमा फर्कंदैनः प्रधानमन्त्री

नेकपा (एमाले) सिरहा जिल्ला कमिटीको ११औं अधिवेशन उद्घाटन
२६ चैत (२०८१), सिरहा  । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ । 
नेकपा (एमाले) सिरहा जिल्लाको ११औँ अधिवेशनको उद्घाटन सत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएको बताउनुभयो ।
उहाँले देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुहरू एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गर्नुभयो । 
“हाम्रो पार्टीलाई कसैले भित्तामा पुर्याउँछौँँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो– मैले विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी–मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम सुरु गरेँ । मधेसका समस्याहरू मलाई बढी थाहा छ । तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने कुराहरूमा सरकार प्रतिबद्ध रहेको कुरा आजै मैले मधेस प्रदेशसभाको सम्बोधनमा स्पष्ट गरिसकेको छु ।
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट गर्दै यही चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्र पक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरूका हातमा शासन नजाने र दिन नहुने बताउनुभयो । 
“तपाईँहरु ढुक्क हुनुस् । राजतन्त्र कुनै हालतमा फर्कंदैन । एमाले र काँग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ ।”, उहाँले भन्नुभयो– यो सरकार चुनावसम्म टसमस हुँदैन । अबको १५ महिनापछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छुु । सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके । यो मजबुत सरकार हो ।
अधिवेशनबाट सर्वसम्मत र परिपक्व नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि प्यानल बनाएर गुटबन्दी गर्नु आवश्यक नभएको बताउनुभयो । 
कार्यक्रममा जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढीमाइ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष विजयकुमार सिंह, वडा सदस्यहरूसहित तथा अन्य पार्टीबाट समेत गरी करिव पाँच सय जनालाई अध्यक्ष ओलीले एमालेमा प्रवेश गराउनुभएको थियो । 
उद्घाटनसत्रमा पार्टीका सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, मधेस प्रदेशसभाका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
अधिवेशन उद्घाटनअघि प्रधानमन्त्री ओलीले सिरहा बजारमा रहेको शहिद हेमनारायण यादवको शालिकका माल्यार्पण गर्नुभएको थियो । यसैगरी प्रधानमन्त्री ओलीले सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको पनि उद्घाटन गर्नुभयो ।




सम्बन्धित