NP EN

यसै वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाइन्छः प्रधानमन्त्री

२९ भदौ (२०८१),  काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०८१ भित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने अठोट व्यक्त गर्नुभएको छ ।
नेपाल बाल सङ्गठनद्वारा ६०औं राष्ट्रिय बाल दिवसका अवसरमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहरू बेसहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित रहेका अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले सङ्कल्प गरेको स्पष्ट गर्नुभयो । 
प्रधानमन्त्री ओलीले दिवसका अवसरमा तय गरिएको ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नारालाई सार्थक बनाउनुपर्नेमा जोड दिँदै बालबालिकाहरूले हप्की, दप्की, नियन्त्रण र बन्धनमा होइन, उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताउनुभयो । 
प्रथम महिला राधिका शाक्य, राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्दिरादेवी ढकाल, बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घले गरेका बालअधिकारसम्बन्धी सम्झौता र नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्दै बेसहारा बालबालिकालाई अभिभावकत्व दिएर हेरचाह गर्नुपर्ने बताउनुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– बाल्यकालदेखि नै बालबालिकाहरूले असुरक्षाबाट ग्रस्त हुने स्थिति हुनुहुँदैन । अहिलेको सरकार बालअधिकार सन्दर्भमा होसियार छ । अघिल्लो पटक म प्रधानमन्त्री हुँदा कोही बालबालिका अभिभावकबिहीन भएर सडकमा रहन हुँदैन भनेको थिएँ । उनीहरूले आफ्नो नैसर्गिक अधिकारलाई अनुहारमा मुस्कानसहित उपभोग गर्न पाउनुपर्छ । भविष्यका कर्णधार बालबालिकामाथि आर्थिक स्थिति कमजोर भए पनि सरकारले लगानी गर्छ । उनीहरूको हितमा सुधार ल्याउन ठोस कदम चाल्नैपर्छ ।
कार्यक्रममा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

सम्बन्धित