आजको नयाँ पुस्ताले जेल र यातनाबारे अनुभूति कसरी गर्छ कुन्नि ? आगोले पोलेको भोगाइ र अरूको कुरा सुनेर पोलेको महसुस गर्नु असाध्यै फरक अवस्था हो ।
०००
हामीलाई राज्य विप्लवको आरोपमा मुद्दा चलाइएको थियो । फाँसी र मृत्युदण्डको सजाय माग गरिएको थियो । गोलघरमा थुनिएको थियो । मृत्युदण्ड पाउने बन्दीलाई अन्य बन्दीसँगै राख्नुहुँदैन भनेर गोलघरमा राखिएको थियो ।
गोलघरमा पूर्वपट्टि देब्रे र दाहिनेतिर ढोका छ, दुईवटा लामा घर पनि छन् । बीचमा ठूलो स्पेस छ । त्यो खुला ठाउँमा एउटा चारकुने घर छ । त्यहीबीचमा फेरि एउटा चोक छ । चोकको छेउछेउमा ससाना फलामका ढोका हालिएका ससाना कोठा छन् । त्यहाँ असाधारण अपराधी, मानसिक सन्तुलन गुमाएका वा मृत्युदण्ड सुनाइएका राजनीतिक बन्दीलाई राखिन्छ । मलाई पनि त्यहीँ राखिएको थियो । गोलघरमा राख्नुको अर्थ मृत्युको फैसला सुन्नु मात्रै हुन्थ्यो । तपाईंहरूलाई अहिले यो कुरा थाहा पाउँदा कस्तो लाग्छ कुन्नि ? हामी गोलघरमा मृत्यु पर्खेर बसेका थियौं । आफूलाई मारिने दिन कुर्दै बसेका थियौं ।
यस्तो अवस्थामा बस्नुपर्दा मानिसमा धेरै किसिमले प्रभाव पार्दो रहेछ । पहिले त जैविक हिसाबले प्रभाव पर्ने भैगयो । मर्ने भइयो भन्ने लाग्दो रहेछ । त्यसपछि राजनीतिक प्रभाव पर्दो रहेछ । जेल परेको छु । मुद्दा चलेको छ । म सत्ताविरोधी भएकैले मेरो ज्यान लिने अप्राकृतिक, अमानवीय र तानाशाही प्रहार भएको छ भन्ने एक किसिमको आक्रोश पनि हुँदो रहेछ । एउटा जैविक परिवेशभन्दा माथि उठेर समाज परिवर्तनको नायक, अभियन्ता, मार्गदर्शकको रूपमा अडिग रहनुपर्छ भन्ने भाव आउँदो रहेछ । त्यसपछि जीवन के हो ? मृत्यु के हो ? मलाई फाँसी दिने फैसला गरेको मान्छे मभन्दा पहिला मर्छ कि पछि मर्छजस्ता गम्भीर प्रश्नहरू दार्शनिक कोणबाट आउँदा रहेछन् । जब जैविक भावबाट दार्शनिकतामा पुगिन्छ, त्यसपछि मृत्यु भन्ने कुरा त्यति ठूलो विषय बन्दो रहेनछ । मृत्यु सम्झँदा पनि शरीरमा काँडा नउम्रने रहेछ । बरु, जतिजति दिन बित्दै जान्छ, आज तानाशाहीको एउटा दिन छोट्टियो भन्ने अनुभूति हुँदो रहेछ ।
जेलमा रहँदा म बिहानै उठेर नित्यकर्म सकेपछि अलिकति व्यायाम गर्थें । पढ्ने कुरा केही छ भने पढ्थेँ । जेलमा बिहान सबेरै खाना खाने चलन थियो, ८/९ बजेतिरै खाना खाइसकिन्थ्यो । त्यसपछि प्रायः कोठामै बस्थेँ । पढ्न पाउने समय पढ्यो, लेख्न पाउँदा केही लेख्यो र चिन्तन गर्यो । एवम्रीतले दिन गुज्रन्थ्यो । त्यहाँका मानिसहरू अक्सर रूखो बोल्थे । उनीहरूको रूखो बोलीसँग मेरो टक्कर परिरहन्थ्यो । उनीहरू सम्मानहीन ढंगले, हेपेर, अभद्र ढंगमा बोल्ने गर्थे । बोलीमा उनीहरूभित्र रहेको कुण्ठा र त्यसले उत्पन्न गरेको चिड्चिडाहट देखिन्थ्यो ।
साधारणतया घाम नअस्ताउँदै बेलुकीको खाना खाइसक्नुपर्थ्यो । साँझ चार–पाँच बजेतिरै खाना आइपुग्थ्यो । वर्षायाममा सारै ढिलो खाँदा ६ बजेसम्म खाना खाइसकिन्थ्यो । खाजा वा चियानास्ता गर्न पाइँदैनथ्यो । त्यसका लागि पैसा नै पुग्दैनथ्यो । जम्माजम्मी डेढ माना चामल र ६०/७५ पैसा दिइन्थ्यो । त्यसबाटै दैनिकी चलाउनुपर्थ्यो । दाउरा, तेल, दाल, नुन, मञ्जन, साबुन, जुत्ता चप्पल, तरकारी सबै त्यति पैसाले पुर्याउनुपर्थ्यो । जेलमा खाना आफैं बनाउनुपर्थ्यो । तर राजनीतिक बन्दीहरूको भने ‘मेस’ थियो । हामी पैसा उठाएर एकै ठाउँमा राख्थ्यौं । अनि त्यही पैसाले किन्थ्यौं । त्यसले हामीलाई दैनिकी चलाउन सजिलो पार्थ्यो ।
प्रायः बन्दीहरू कठिनाइभित्र पनि रमाइलो गर्थे । दालको कथा अहिले सम्झँदा पनि मलाई रमाइलो लाग्छ । त्यो दिन खाना खाने बेला भएको थियो । कुनै एक जनाले खाना बनाउने व्यक्तिलाई भन्यो— यो बेसार–पानीजस्तो के बनाउनुभएको हो ?
खाना बनाउने व्यक्तिले भन्यो— दाल हो ।
उसले फेरि सोध्यो, दाल भएको भए त गेडागुडी फेला पर्नुपर्ने नि त !
खाना बनाउने व्यक्तिले भन्यो— यो काँचो दाल होइन, पकाएको दाल हो । पकाएपछि दाल पग्लिन्छ ।
३५ जनाको हाम्रो मेसमा जम्मा आधा चौथाइ दाल पाक्थ्यो । त्यति थोरै दाल त्यत्रो जनाले खाँदा त्यसको गेडा कसरी भेट्नु ? त्यही पग्लिएको दालको झोलसँग पनि हामी खाना खुसी भएर खान्थ्यौं । त्यस्तो परिस्थितिमा खानाको महत्त्व बुझिन्छ । अहिले भोकाएपछि खाना खाने चलन छैन । भोक लाग्नै नपाई, अथवा अलिकति पेट खाली भएको महसुस हुनासाथ खाइहाल्छौं । भोक हामीले चिनेकै