NP EN

मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

२७ चैत (२०८१), काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।
नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरूपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभयोे ।
आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
‘कसैलाई गाली गलौज, बदनाम र भ्रम दिन सूचना र प्रविधिको प्रयोग गर्नु हुँदैन । मानिसकलाई सहजरूपमा सेवा सुविधा दिनका लागि सूचना र प्रविधिको प्रयोग हुनुपर्छ । हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ । हरेक क्षेत्रमा सम्भवना छ भनेर तपाईंहरूले कन्भिन्स गर्न सक्नुहुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– चेम्बर आफैमा एकता र साथ सहयोगका रूपमा निर्विवाद संस्थाका रूपमा अगाडि बढिरहेको देखेर मलाई खुसी लागेको छ । यो संस्था आफ्ना निम्तिमात्रै होइन, देश र समाजका लागि नयाँ सोचका साथ एकताबद्ध भएर अगाडि बढ्नु असाधारण महत्वको विषय हो । यस क्षेत्रको विकासका लागि सरकारले गर्नुपर्ने कुरामा कुनै कमी हुँदैन । देशमा उद्योग व्यवसाय फस्टाउने सवालमा हामी सधै पवित्र र निकट सम्बन्ध राखेर सहकार्य गर्नेछौँ । यो निकट सम्बन्ध कुनै कमिसनका लागि अवश्य होइन । देश बनाउने सवालमा हो ।
प्रधानमन्त्री ओलीले सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरूप्रति चेम्बरजस्ता संस्थाहरूले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैली प्रशंसनीय रहेको बताउनुभयो ।
‘आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशासनमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईंहरूको पनि सहयोग चाहिन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरू मिलेर सरकार बनेको छ । त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो सिलसिला कायम रहन्छ । त्यसकारण तपाईंहरू ढुक्क भएर लगानी गर्नुस् । देशको विकासमा योगदान गर्नुस् ।
चेम्बर, सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने उद्यमी–व्यवसायीहरूलाई प्रधानमन्त्री ओलीबाट अवार्ड प्रदान गरिएको थियो भने चेम्बरको स्मारिका पनि लोकार्पण गरिएको थियो ।

सम्बन्धित