NP EN

मानवसेवा आश्रमको राष्ट्रिय उद्धार यात्राको शुभारम्भ

२६ असोज (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा– २०८१ को आज शुभारम्भ गर्नुभयो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा सो अभियानलाई प्रधानमन्त्री ओलीले शुभकामना दिँदै मानवता सर्वोच्च धर्म भएकाले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न तयार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
उहाँले पहिला मानवता, त्यसपछि देश भन्ने भावनालाई बोक्न आग्रह गर्नुभयो ।
प्रथम महिला राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गायिका आनी छोइङ डोल्मासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले यात्रामा सहभागीहरूलाई दसैंको टीका प्रदान गर्नुभएको थियो ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले यात्रा आरम्भ गरिएको जानकारी दिनुभयो । सो यात्रा आगामी कात्तिक २८ गतेसम्म सञ्चालन हुने छ ।

सम्बन्धित