NP EN

महिला नेतृत्व सम्मेलन– समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

३ चैत (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रूपमा चित्रण गरेकाले महिलाहरुको समान सहभागिता आवश्यक भएकामा जोड दिनुभयो ।
‘रथको एउटा पाङ्ग्रो मात्रै चलेर गाडी गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषसहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– राष्ट्रपति, प्रधानन्यायाधीश लगायत विशिष्ट पदमा हामीले महिलालाई पाइसकेका छौँ । राजनीतिमा महिलाको सहभागिता बढ्दो छ । यो खुसीको विषय हो तर हामी यसमा मात्रै सन्तुष्ट भएर बस्नु हुँदैन । हामीले शिक्षा, उद्यम र रोजगारी आदि क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्छ ।
सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको बताउँदै उहाँले सरकार अर्थतन्त्रको विकासका साथै सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– हामी अघि बढ्नुपर्छ । पछाडि फर्कनु हुँदैन । ब्याक गेयर त कहिलेकाँही घुम्तीमा मात्रै लगाउने हो । लोकमार्गमा ब्याक गेयर लगाइँदैन । लोकतन्त्र हाम्रो राजमार्ग हो ।
उहाँले कानुनहरू काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै उहाँले सम्मेलनबाट प्राप्त सुझावलाई हेरेर सरकारका नीति, व्यवहार र कानुनहरूलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारले निजी क्षेत्रको सहकार्यमा औद्योगिकरणको प्रवद्र्धनलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले सरकारी निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि जारी लगायत सुधारका माध्यमबाट आर्थिक क्षेत्रको विकासका लागि काम भइरहेको अवगत गराउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीबाट राष्ट्रिय फुटबल खेलाडी प्रिती राई र अभियन्ता रुक्साना कपालीलाई सम्मान गरिएको थियो ।

सम्बन्धित