मधेस प्रदेशसभामा सम्बोधन
२६ चैत (२०८१), जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन आग्रह गर्नुभएको छ ।
मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गर्नुभयो ।
“सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो । यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका रूपमा मात्रै होइन, जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रूपमा लिनुपर्छ । त्यसकारण हाम्रा प्रयासहरू जनताको सेवामा समर्पित हुनुपर्छ । परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो– जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ । त्यसकारण हामीले जनताको जीवनमा लोकतन्त्र दिनुपर्छ । सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो ।
संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्नु सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तह बीचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताउनुुभयो ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेश सम्भावनै सम्भावनाहरूको उर्बर भूमि कृषिका लागि उपयुक्त हुने र चुरेक्षेत्र जडिबुटी, जङ्गलदेखि पानीको अपार स्रोत रहेको जनाउनुुभयो । उहाँले सुनकोसी डाइभर्सन आयोजनाजस्ता कार्यक्रमले मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यसले पहाड र तराईबीचको एकताभाव सिर्जना गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, एसियन हाइवे, हुलाकी सडक, द्रूतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेशको विकास र समृद्धिका आधार भएकाले आइसिपी तथा प्रमुख भन्सार नाका वीरगञ्जलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई साँस्कृतिक पर्यटनको आधारको रूपमा विकास गर्न सकिने बताउनुुभयो ।
आफूले रेलमार्गका कुरा गर्दा नपत्याएर विरोध गरेको स्मरण गर्दै उहाँले अहिले जनकपुरमा रेल यात्रा सहज भएकाले गर्न चाहँदाखेरि गर्न नसकिने केही कुरा नभएको स्पष्ट गर्नुभयो । “प्रतिपक्ष रचनात्मक रहोस् । सरकारले पनि प्रतिपक्षलाई साथमै लिएर जाने सोच बनाओस् र यो प्रदेशलाई मुलुककै नमुना प्रदेश बनाउन सकियोस् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो– उचित नीति बनाएर तद्अनुसार एकता र एकरुपताका साथ काम गर्न म आह्वान गर्दछु । यहाँको विकासका काममा सङ्घीय सरकारको सक्दो साथ रहनेछ ।
प्रधानमन्त्री ओलीले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभूति र विद्वान एवं छिन्नमस्ता, गढीमाईलगायत देवदेवीहरूको भूमि रहेको मधेस प्रदेशमा ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्दै प्राप्त उपलब्धि र अबको आधुनिक विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सदुपयोग नहुने भएकाले अब सरकारले नगद बाँड्ने कुरालाई प्रोत्साहन नगर्ने बताउँदै पशुपालन र उपकरण र औजारका लागि अनुदान दिने नीतिमा जानुपर्नेमा जोड दिनुभयो ।
संविधानमा उचित संशोधनका लागि समिति बनाइने
प्रधानमन्त्री ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने बताउनुभयो ।
समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने उहाँले स्पष्ट गर्नुभयो । ‘सामाजिक सद्भाव र राष्ट्रिय एकता बनाउनका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छौं । त्यसका लागि एउटा राजनीतिक समिति बनाउँछौँ । तर प्याण्डोराको बाकस खोलेजस्तो गर्दैनौँ । प्रतिगमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– राजतन्त्र फेरि ल्याउने भनेर केही केही लागेका छन् । विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजेका छन् । हामीले नयाँ पुस्ता सचेत बनाउनुपर्छ । आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्वीकार्न सकिँदैन । गणतन्त्र यस देशको वर्तमान र भविष्य हो । प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा हो ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित बनाएर अगाडि बनाउने काम सबैको भएको उल्लेख गर्नुभयो । ‘यो श्रेष्ठ प्रणाली हो, हामीले यसको रक्षा गर्नुपर्छ । कलिलो अवस्थाको व्यवस्थाका केही कमजोरी भए होलान् तर सुधार गरेर जानुको विकल्प छैन’, उहाँले भन्नुभयो– हामी अब गतिमा गइसकेका छौँ । यस प्रणालीअन्तर्गत संसदको सपथ खाने अनि बाहिर गएर संविधान मान्दिनँ भन्ने खालका सोच राख्नु हुँदैन ।
प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि दुई छिमेकीसँग हाम्रो राम्रो सम्बन्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो– सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भनेपछि कुरा सकिन्छ । त्यसकारण नेपालको दुई छिमेकीसँग असल मित्रता छ ।