NP EN

भ्रष्टाचार गर्ने जो कोहीलाई अनुहार नहेरी कारबाही गरिन्छः प्रधानमन्त्री

२२ साउन(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ रहेको र कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने बताउनुभएको छ । 
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता दोहोर्याउँदै आफूले भ्रष्टाचार नगर्ने र अरुलाई भ्रष्टाचार गर्न पनि नदिने पुरानै प्रतिबद्धताबाट पछि नहटेको जनाउनुभयो । 
‘संविधानले विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने प्रबन्ध गरेको छ । यस यात्रामा भ्रष्टाचार तगारोका रूपमा रहेको हुन्छ, त्यसैले भ्रष्टाचारप्रतिको शून्य सहनशीलता सरकारको नीति हो, समृद्धिको आकाङ्क्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य छ । त्यस कारण म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ  । कसैले लाञ्छना लगाउनु बेग्लै कुरा हो तर मैले कुनै भ्रष्टाचार गरेको पाइएमा म यस धर्तीमा मात्र होइन, चित्रगुप्तसमक्ष पुगेर पनि बयान दिन तयार छु’, सांसदहरूको प्रश्नमा थप स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– राज्यको सम्पति आफ्नो नाममा बनाउनुपर्ने मेरो सोच र आवश्यकता छैन । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न विद्यमान ऐन संशोधन विधेयक ल्याइएको हो । यस्ता विधेयक तयारी र पारितमा धेरै समय लाग्ने स्थिति नहोस् ।
उहाँले देश र जनतालाई केन्द्रमा राखेर समृद्धिको बाटो अघि बढाउने लक्ष्यमा सरकार क्रियाशील रहेको तथा समान अवसर, शान्ति सुरक्षा र सामाजिक न्यायको सुनिश्चितता कायम गर्नु सरकारको पहिलो जिम्मेवारी भएकाले त्यसमा आफूहरू सजग र सचेत भएर लाग्ने स्पष्ट गर्नुभयो । 
यो सरकार कसैको प्रतिशोधका लागि नभई आर्थिक विकासको लक्ष्यका साथ गठन भएकाले यसले कसैलाई दुःख दिने मनसाय नराख्ने तर कानुनको दृष्टिमा सबै बराबर हुन् भन्ने मान्यता स्थापित गर्न लागिपर्ने उहाँले बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक भागवण्डाका आधारमा नियुक्ति नगर्न सांसदले दिएका सुझावबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले निजामति क्षेत्रमा अनुभवी र राम्रो पहिचान बनाएका व्यक्ति हाल आयोगको प्रमुख रहेको र यस्ता नियुक्तिमा संसदीय सुनुवाइका प्रक्रिया पार भएकाले भागवण्डा भन्न नमिल्ने बताउनुभयो । 
उहाँले सांसदहरूलाई पनि कुनै नियुक्तिहरूमा आफ्ना मान्छे भएका आधारमा सिफारिस गरे नगरेको आत्मसमीक्षा गर्न आग्रह गर्नुभयो ।

सम्बन्धित