NP EN

भ्रष्टाचार, तस्करी र राज्यको सम्पत्ति दुरुपयोग नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

९भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पतिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरूपमा काम गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिनुभएको हो । 
विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएका सुन तस्कारीका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठुलो राजस्व गुमाएको र बेथिति हुर्किएको उहाँले बताउनुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– अब त्यस्ता गतिविधि सैह्य हुँदैन, तस्करी भइरहन सम्भव छैन । तपाईंहरू जसको जे जिम्मेवारी हो, त्यो पूरा गर्न दृढताका साथ लाग्नुस् । कार्यक्षेत्र निर्धारणमा समस्या भएमा पनि ल्याउनुस् । देशलाई बर्बाद हुनबाट जोगाउनुस् । जनतालाई आशा र विश्वास दिने काम गर्नुस् । आफ्नो प्रभावकारी औचित्य स्थापित गर्न नसक्ने हो भने जागिर खानका लागि मात्रै राज्यका निकायहरू खडा गरेर राखिरहनुपर्छ भन्ने छैन ।
उहाँले राम्रोसँग काम होस् भनेर नै ती निकायहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा ल्याइएको स्पष्ट गर्नुभयो ।
स्वदेशमा युवाहरूले काम पाउने वातावरणका लागि सुशासन, विकास र लोकतान्त्रिक मूल्य, मान्यताको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले लर्याङतर्याङ तरिकाले नभई जनताको समस्याको सम्बोधनका साथै विकास र समृद्धिको लक्ष्य हासिल गर्ने यात्रामा दृढ र कटिबद्ध भएर प्रस्तुत हुन आग्रह गर्नुभयो ।
मुख्यसचिव लीलादेवी गड्तौलाले प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित काममा गत आर्थिक वर्षमा निर्धारण गरिएका माइलस्टोनमध्ये ६३ प्रतिशत पूरा हुनु र पुँजीगत खर्च ४८ दशमलव ८९ प्रतिशत मात्र हुनु सुखद् नभएकाले कमीकमजोरीको पहिचान गरी आगामी दिनमा प्रभावकारीरूपमा काम गर्नुपर्ने बताउनुभयो । 
बैठकमा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, सचिवहरूलगायत उपस्थित हुनुहुन्थ्यो ।

सम्बन्धित