NP EN

बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन

२४ मङ्सिर (२०८१), झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका अभियान सञ्चालन गर्ने बताउनुभयो । 
उहाँले जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाउनुभयो । 
‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेमा देश बन्दैन ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो– हामी विभिन्न पार्टीका हुन सक्छौं तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईहरूको प्रतिनिधि म फेरि  प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईहरूको पनि नाम विश्वमा राख्छु, यसमा ढुक्क हुन म आग्रह गर्छु ।
कुल रु ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा नं. २, ३ र ४ का छ हजार ५२१ घरघुरीका २६ हजार ७४३ जनसङ्ख्या  लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयबासीलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा प्रथम महिला राधिका शाक्य, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सङ्घीय खानेपानीमन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो ।

सम्बन्धित