NP EN

फलामखानी र मल कारखाना खुल्दैछन्, ऊर्जा खपतको चिन्ता गर्नुपर्दैनः प्रधानमन्त्री

४ माघ (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जा खपतको चिन्ता लिइरहनु नपर्ने बताउनुभएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान)को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँहरू आफै बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताउनुभएको हो । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट विजुली उत्पादनको मार्गचित्र तयार गरेको छ । 
‘हामीसँग आठ वटा औद्योगिक क्षेत्रहरू छन् । धौबादी फलाम खानी र मल कारखाना खोलिँदैछ । दैलेखमा ग्यास उत्पादन हुँदैछ । ध्वस्त भएका उद्योगहरूले पुनःजीवन पाउँदैछन् । ती सबैमा ऊर्जा खपत हुनेछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको छ । यस क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्नेछ । देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरूको  योगदानको उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु । तपाईंहरू लगानी गर्नुस्, लगानी खोज्दै अरुलाई खोला दिइरहनु पर्दैन ।
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको जनाउँदै व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरूलाई उत्पादकहरूले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गर्नुभयो ।
राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति बढाउन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै ती अध्यादेश आगामी १५ दिनपछि हुने संसद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले आयातीत फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

सम्बन्धित