NP EN

प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकार योजनाबद्ध रूपमा काम गर्दैः प्रधानमन्त्री

अन्तर्राष्ट्रिय साक्षरता दिवसमा शुभकामना
२३ भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता भएकाले सरकारले प्रविधिमैत्री शिक्षा प्रदान गर्न योजनाबद्ध रूपमा कार्य अगाडि बढाइरहेको बताउनुभएको छ । 
आज ५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवस । यस अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले शिक्षालाई रोजगार र स्वरोजगारसँग जोड्दै निरक्षरतालाई साक्षरतामा रूपान्तरण गर्न हामी सबै लाग्नुपर्ने छ भन्नुभएको छ ।
‘अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसरहरू जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको छ’ शुभकामना सन्देशमा उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ को कार्यान्वयनसँगै साक्षरता/आजीवन सिकाइका कार्यक्रमहरू सञ्चालनमा रहेको जनाउनुभएको छ । 
उहाँले साक्षरताका कार्यक्रमहरूको सञ्चालनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउँदै गरिबीका कारणले तराई र दुुर्गमका कतिपय ठाउँहरूमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रूपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको शुरूवात गरेको स्मरण गर्नुभएको छ । 
विद्यालय उमेरका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको जनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ– भर्ना भएका बालबालिकालाई विद्यालयबाट ड्रपआउट हुन नदिन सरकारले दिवा खाजा, छात्रवृत्ति लगायतका अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना छ ।
नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै जानु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ– विश्व अहिले सूचना प्रविधिको युुगमा प्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो । प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रूपमा कार्य अगाडि बढाइरहेको छ । शिक्षालाई रोजगार र स्वरोजगारसँग जोड्दै निजी क्षेत्र, सामाजिक सङ्घ संस्थाहरू लगायत सबैको भूमिकालाई प्रभावकारी बनाउँदै निरक्षरतालाई साक्षरतामा रूपान्तरण गर्न हामी सबै लाग्नुुपर्ने छ । हामी सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सक्छौं । नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हुँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा छ । यस गन्तव्य प्राप्तिमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले त्यसअनुसारको भूमिका निर्वाह गर्नका लागि म सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछु । 
५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा ‘बहुभाषिक शिक्षाको प्रवद्र्धनः पारस्परिक समझदारी र शान्तिका लागि शिक्षा’ भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको यस दिवसले शान्ति, सहिष्णुता, बहुभाषिक शिक्षा र आपसी समझदारीका साथ अगाडि बढ्न प्रेरणा प्रदान गरोस्, शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मी र नेपाली  दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । 

 

सम्बन्धित