NP EN

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा गर्नुभएको सम्बोधनको

सम्माननीय सभामुख महोदय, 

आज संसदको दोस्रो अधिवेशनको लगभग–लगभग प्रारम्भिक चरणकै अवस्थामा गरिमाममय संसदको बैठकलाई म एउटा खास विषयमा जानकारी गराउन यहाँ उपस्थित भएको छु ।

सभामुख महोदय, मेरो निमन्त्रणामा भारतका प्रधानमन्त्री सम्माननीय नरेन्द्र मोदीजी वैशाख २८ र २९ मा नेपालको राजकीय भ्रमण गरेर स्वदेश फर्कनु भएको छ । हामी सबैमा सबै कुराहरू जानकारीमा छँदैनै छन् किनभने आजको सञ्चार सुविधा र पहुँचको सहजताको समयमा सबै कुरा पारदर्शी छन् । तैपनि कतिपय कुराहरूको सन्र्दभमा जानकारी नभएको हुन सक्दछ, अन्योल र अस्पष्टता रहन सक्छन् । एउटा छिमेकी देश, त्यसमा पनि हाम्रा निम्ति सम्बन्धको निकै धेरै महत्व राख्ने देशको कार्यकारीको औपचारिक र राजकीय भ्रमणको सम्बन्धमा यस गरिमामय संसदले औपचारिक रूपमा जानकारी प्राप्त गर्नु जरुरी पनि छ ।

सभामुख महोदय, मैले भ्रमणभन्दा अगाडि पनि भ्रमणको सम्बन्धमा अवगत गराएको थिएँ तर त्यो संसदको अधिवेशन चालू नरहेको अवस्था थियो । जतिबेला चालू रह्यो त्यसबेला मैले सबै कुरा संसदसमक्ष राखेकै हुँ । यस प्रसंगमा म नेपाली जनताको देशभक्तिलाई, देशप्रतिको सजगतालाई अत्यन्तै प्रशंसा गर्न चाहन्छु र धन्यवाद भन्न चाहन्छु । यस भ्रमणको क्रममा पनि नेपाली जनताले सरकारलाई कुनै पनि गल्ती नहोओस्, कमी–कमजोरी नदोहोरिऊन्, चुक्ने काम नहोस् र विगतका कमीहरू समेत सच्चाउने काम होओस् भनेर निरन्तर खबरदारी गर्ने काम भयो । नेपालका मिडिया, बुद्धिजीवी, आमनागरिकसमेतको गहन चासो, चिन्ता र सरोकारको विषय रह्यो यो । यसलाई मैले अत्यन्तै सकारात्मक रूपमा लिएको छु । हाम्रोजस्तो देश राष्ट्रप्रति, राष्ट्रियताप्रति, राष्ट्रको सार्वभौमसत्ताप्रति, स्वाधीनताप्रति, भौगोलिक अखण्डताप्रति, राष्ट्रिय हितहरूप्रति र राष्ट्रिय स्वाभिमानप्रति सजग नरहने हो भने हामी यी कुनै पनि कुरालाई बचाउनसक्ने अवस्थामा नरहन सक्छौँ । नेपाली जनताको यो जागरुकताले नै यी कुराहरूलाई सबल बनाउने हो ।

यो भ्रमणभन्दा अगाडि मैले नेपालका राजनीतिक पार्टीका प्रबुद्ध नेताहरू, पूर्वप्रधानमन्त्रीज्यूहरू, विपक्षी दलका नेताज्यू, पूर्व परराष्ट्रमन्त्रीज्यूहरू, परराष्ट्र मामिलाका विज्ञ महानुभावहरू लगायतसँग व्यापक छलफल गरेको थिएँ, सुझावहरू लिएको थिएँ । सबैको सुझाव एकै प्रकारको थियो – राष्ट्रिय हितको पक्षमा, सन्तुलित सम्बन्धको पक्षमा, स्वाभिमान झुक्न नदिईकन सम्बन्धलाई सुमधुर बनाइयोस्, सुदृढ बनाइयोस् र अगाडि बढाइयोस् भन्ने पक्षमा । म ती सुझावहरूका लागि, परामर्शहरूका लागि सबै मित्रहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । 

भारतीय प्रधानमन्त्री मोदीजीको भ्रमण जनकपुरबाट शुरु भयो । हामी सबैलाई थाहा छ – त्यहाँ उहाँले रामजानकी मन्दिरमा पूजाअर्चना गर्नुभयो । महत्वपूर्ण कुरा – रामायण सर्किटको हामीले शुभारम्भ गर्‍यौँ । रामायण सर्किटमा रामायणमा वर्णित सन्र्दभहरूका महत्वपूर्ण धार्मिक स्थलहरू समेटेर सर्किट निर्माण गर्ने कुरा छ, जसमा धनुषाधाम, जनकपुर, वाल्मीकि आश्रम, त्रिवेणीलगायतका स्थानहरू समेटेर लाने कुरा भएको छ । हामीले जनकपुर–अयोध्या सोझो बस सेवा पनि संयुत रूपमा प्रारम्भ गर्‍यौँ । हाम्रा उपमेयरलगायतका जनप्रतिनिधि साथीहरूको नेतृत्वमा त्यो पहिलो यात्रा शुरु भयो र अयोध्यामा त्यहाँका मुख्यमन्त्रीले त्यसलाई स्वागत गर्नुभयो । जनकपुरमा मित्रता अभिवृद्धि गर्ने सन्दर्भमा सकारात्मक चासो र रुचि देखियो, नागरिक अभिनन्दन भयो । नागरिक अभिनन्दनका सन्र्दभमा अभिव्यतm भएका केही कुराहरू राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त रहेको पनि देखियो । नेपाल सरकार, जसले परराष्ट्रसम्बन्ध सञ्चालन गर्छ, त्यससम्बन्धमा स्पष्ट धारणाहरू छँदैछन् । 

काठमाडौँमा हामीले भारतका प्रधानमन्त्री मोदीजीको भव्य स्वागत गर्‍यौँ र हाम्रो परराष्ट्र मन्त्रीले उहाँसँग शिष्टाचार भेटघाट गर्नुभयो । उहाँले राष्ट्रपतिज्यूसँग शिष्टाचार भेटघाट गर्नु भयो, उपराष्ट्रपतिज्यूसँग शिष्टाचार भेटघाट गर्नुभयो । त्यसपछि हाम्रो दुईपक्षीय; मसँग एक्ला–एक्लै पनि कुराकानी भयो । दुईपक्षीय वार्ता पनि भए । त्यसैदिन साँझ हामीले पूर्वप्रधानमन्त्रीज्यूहरू र उहाँसँगको संक्षिप्त भेटघाट पनि आयोजना गर्‍यौ । त्यसै दिन अरुण–तेस्रोको शिलान्यासको कार्यक्रम पनि संयुक्त रुपमा सम्पन्न गर्‍यौँ । त्यसपछि औपाचारिक रात्रि भोजको आयोजना गरिएको थियो । 

भोलिपल्ट बिहानै उहाँ मुक्तिनाथ जानुभयो र पूजाअर्चना गर्नु भयो । मुस्ताङबासी जनताले उहाँको हार्दिक स्वागत गरे । त्यसपछि उहाँ काठमाडौँमा आएर नागरिक अभिनन्दन लिनु भयो । दलका नेताहरूसँग उहाँले एक्ला–एक्लै र सामूहिक रुपमा पनि  भेटघाट गर्नुभयो । 

नेपाल र भारत बीचको मैत्रीसम्बन्धलाई एउटा नयाँ उचाइमा पु¥याउने कुरा भएको छ । पुराना मान्यताहरू,  पुराना तरिकाहरू, पुराना सोचहरूभन्दा पृथक ढङ्गले कुराकानी भएको छ । दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्र जो स्वाधीन राष्ट्र हुन्,  एक अर्काका आन्तरिक मामिलाहरूमा हुस्तक्षेप नगर्ने, आआफ्ना आन्तरिक मामिलाहरू र वैदेशिक सम्बन्धका मामिलाहरू स्वतन्त्र ढंगले सञ्चालन गर्ने कुरा भएको छ । त्यसै गरेर भौगोलिक अखण्डतालाई सम्मान गर्ने र आपसी हितहरूलाई, राष्ट्रिय हितहरूलाई यथोचित ढंगले सम्मान गर्ने कुराहरू हाम्रा वक्तव्यहरूमा, कुराकानीका क्रममा र हामीले अन्तिममा जारी गरेको सोह्र बुँदे संयुक्त वतव्यमा पनि आएको छ । उहाँले र मैले २८ गते नै संयुतm प्रेस मिट पनि गर्‍यौँ । त्यसमा पनि थुप्रै कुराहरू आएका छन् ।

सभामुख महोदय, केही विषयमा हामीले सहमति गरेका छौँ । विगतमा गरिएका कतिपय सहमति र सम्झौताहरू थिए र छन् । तिनीहरूलाई हामीले कार्यान्वयन गर्नु छ, तिनको कार्यान्वयनमा ढिलाइ भैराखेको छ, अब ढिलाइ हुनुहुन्न । उपयुक्त कार्यान्वयन उपयुक्त समयभित्र गर्नका लागि समयसीमा तोक्ने विषयमा कुराकानी भएको छ । औपचारिक ढंगले भन्दा हामीले सेप्टेम्बर भित्रमा भनेका छौँ, अनौपचारिक ढंगले भन्दा हाम्रो संविधान दिवस जो हाम्रो राष्ट्रिय दिवस हो, त्यस दिनलाई आधार–दिन मानेर,  कार्यान्वयन हुन बाँकी रहेका कुराहरूलाई विगतका सम्झौता अन्तर्गतका कुराहरूलाई कार्यान्वयन गर्ने भन्ने सहमति गरिएको छ ।

दुई देशका कृषिमन्त्रीका तहमा तत्कालै बैठक बसेर के के विषयमा कुनकुन ठाउँमा हामीले कस्तो प्रकारको सहयोग र सहकार्य अगाडि बढाउने हो, त्यसका निम्ति पहिले त ती ठाउँहरू तय हुनु पर्‍यो, विषयहरू तय हुनुप¥यो र हाम्रा आवश्यकताअनुसारको कार्ययोजना तय गर्नु पर्‍यो । यी कामहरू  मन्त्रीस्तरका बैठकहरूबाट तुरुन्तै गर्ने भन्ने सहमति हामीले गरेका छौँ । काठमाडौँ–रक्सौल रेल–वे निर्माणका लागि प्राविधिकहरूको संयुक्त कार्यदल बनाएर सर्वेक्षण शुरु गर्ने र यस सम्बन्धमा छिटै नै समझदारीपत्रमा हस्ताक्षर गर्ने कुरा छ । उहाँहरूको तर्फबाट  कार्यदलको रूपमा एउटा डिभिजनलाई जिम्मा दिइसकिएको छ, हाम्रो तर्फबाट कार्यदल निर्माण गरेर पठाउनु पर्नेछ । दुईओटा कार्यदलले तुरुन्तै सर्वेक्षण शुरु गर्छन् र छिटै नै सम्झदारीपत्रमा हस्ताक्षर गर्छन् । यो भारतकै खर्चमा सर्वे र भारतकै खर्चमा, उसैको लगानीमा निर्माण हुने हो । नदीको बाटोबाट जलमार्ग सञ्चालन गर्ने सन्र्दभमा मेरो अघिल्लो भ्रमणमा कुरा जसरी अगाडि बढाइएको थियो,  त्यसका लागि प्राविधिकहरूको संयुक्त कार्यदल बनाएर तुरुन्तै सर्वेक्षण शुरु गर्नें सहमति पनि भएको छ । 

नेपाल–भारत संयुक्त आयोगको तत्काल बैठक बसाउने, विदेश मन्त्रीस्तरीय र समग्र दुईपक्षीय सम्बन्धको पुनारावलोकन गर्ने र आर्थिक विकाससम्बन्धी योजनाहरूको कार्यान्वयनलाई कसरी गति दिन सकिन्छ त्यस सम्बन्धमा चौतर्फी ध्यान दिने कुरा भएको छ । नेपाल र भारतका बीचमा असाधारण व्यापार असन्तुलन छ । असन्तुलन भन्न पनि नसुहाउने – चरम असन्तुलन ! के के बाटोबाट असन्तुलन घटाउन सकिन्छ त्यसका निम्ति आगामी तीन महिनाभित्र व्यापार सन्धिको पुनरावलोकन गर्ने र बढ्दो व्यापार घाटाका समस्या समाधान गर्नका लागि भारतीय बजारमा नेपाली उत्पादनको पहुँच बढाउन के के उपाय हुन सक्छन् खोज्ने कुरा भएको छ । यसै क्रममा चिया, अदुवा, जुट, अलैँचीलगायतका कृषि उत्पादनमा देखिएका समस्याहरू अविलम्व समाधान गर्ने  कुराहरूमा सहमति भएको छ ।

हाम्रो देशमा हवाई जहाज पस्ने एउटामात्र रुट छ वीरगञ्ज हुँदै, सिमरा हँुदै । कनेक्टिभिटीको समय छ, यस्तोमा एयर इन्ट्री रुट थप चाहिन्छ । यसकारण नेपालगञ्जतिरबाट, भैरहवातिरबाट, विराटनगरतिरबाट इन्ट्री रुटहरू चाहिन्छ । हामीले त्यो माग गर्‍यौँ । दुवै प्रधानमन्त्रीको तहमा थप चारवटा रुट दिनका लागि प्राविधिक पक्षको अध्ययन गर्न निर्देशन भएको छ । उताको टोली र हाम्रो टोलीले तुरुन्तै अध्ययन गर्ने छन् र यो अध्ययनका लागि पनि हामीले आगामी सेप्टेम्बर २२ भन्ने शब्द राखेका छौँ । गम्भीर समस्याका रूपमा उठेको कुरा हो डुवानको समस्या । नेपालको जमिन डुवानमा पर्ने गरेको छ । छिमेक सम्बन्धमा नसुहाउँदो र अनुचित काम भएको छ । अघिल्लो भ्रमणमा पनि मैले कुरा उठाएको थिएँ । मोदीजीको यस भ्रमणमा पनि मैले धेरै गम्भीरताका साथ कुरा उठाएको छु । यो समस्या समाधान हुनुपर्छ । असल छिमेकीपनका लागि यो नीति उपयुक्त छैन । भारतको सिमानामा भारतको आफ्नो बचाउ, आफ्नो बस्तीको बचाउ, आफ्नो खेतीको बचाउका लागि हाम्रो जमिन, हाम्रा बस्ती र हाम्रो खेतीलाई डुवानमा पार्नु वाञ्छनीय हुँदैन । यसको समाधान हुनै पर्छ । अहिले दुवै देश यस समस्याको समाधान गर्न तत्पर भएका छन् । हामी त तत्पर हुने नै भयौँ, हामी त प्रस्तावक हुँदै हौँ ।  भारत पनि यसमा तयार भएको छ । यो वर्षाभन्दा अगाडिनै सकेसम्म छिटैनै संयुक्त कार्यदल बनाएर, समस्याग्रस्त क्षेत्रको भ्रमण गरेर उपयुक्त निर्णय गर्नुपर्छ । 

ऊर्जा व्यापारको सम्बन्धमा हामीले सन् २०१४ मै पिटिए पावर ट्रेड एग्रिमेन्ट गरिसकेका हौँ । त्यसविपरीत भारतले ५१ प्रतिशत आफ्नो लगानी भएको जस्तो प्रावधान एकतर्फी राखेर केही नीतिहरू निर्माण गरेका कुराहरू अगाडि आए । हामीले भन्यौ – एग्रिमेन्टसँग बाझिने कुरा एकतर्फी रूपमा गर्नु उचित भएन । यसमा भारत पनि सहमत भएको छ र यसलाई अब पहिलेकै अनुरुप अगाडि बढाइने छ । 

त्यसै गरेर हामीले अरुण तेस्रोको शिलान्यास पनि गर्‍यौ । चार वर्ष ट्रान्समिसन लाइनका लागि लाग्छ र पाचँ वर्ष आयोजना तयार गर्न लाग्छ । तर ट्रान्समिसन लाइन र आयोजना सँगसँगै तयार गर्दा त्यो पाँचै वर्षभित्र तयार हुने भएकोले सोही अनुसार निर्देशित पनि गरिएको छ । 

हामीले अरू पनि केही कुराहरु उठाएका छौँ र ती छलफलका क्रममा छन्; जस्तो म प्रधानमन्त्री भएकै बेला इमिनेन्ट पर्सन गु्रप (इपीजी) निर्माण गरेर यस अघिका पुराना सन्धि–सम्झौताको समग्र पुनरावलोकन गर्ने र त्यसमा के कस्ता सुधार, परिवर्तन, खारेज वा के कसो गर्ने गरौँ भन्यौ । खासगरी सन् १९५० को सन्धिको सम्बन्धमा के गर्ने ? यस विषयमा त्यस समूहले काम गरिरहेको छ र लगभग अन्तिम चरणतिर पुगेको छ । जुलाईसम्म समय छ । त्यसपछि हामी के गछौँ, दुईपक्षीय हिसाबले हामीले कुरा अगाडि बढाउन जरुरी छ । अहिलेसम्म इपीजीको काम सन्तोषजनक छ । इपीजीलाई धन्यवाद भन्नुपर्छ । पञ्चेश्वर बहुउद्देश्य परियोजनाका बारेमा हामीले भनेका छौँ र टनकपुरमा १३ सय मिटरको लिङ्क रोड बनाउने कुरा उहाँहरूले सहमति नै गर्नु भएको छ । त्यसै गरेर टनकपुर, दोधारा चाँदनी, शारदा व्यारेज आदिको बारेमा कसरी के गर्ने निष्कर्ष निस्किसकेको छैन तापनि यसमा काम अगाडि बढाउने भन्ने कुराकानी हामीले गरेका छौँ । महाकाली नदीमाथि तीनओटा पुल निर्माण गर्ने – सिर्सिया, झुलाघाट र दार्चुलामा । हामीले यसमा प्रस्ताव राखेका छौँ र उहाँहरू यसमा सकारात्मक हुनुहुन्छ । यस सम्बन्धमा प्रदेश सरकारसँग पनि कुराकानी भएको छ । डिटेलमा कुरा गरेर टुङ्ग्याउनु पर्ने छ । महेन्द्रनगरमा चार लेनको पुल निर्माण गरिसकेपछि भारतीय राजमार्गसँग जोड्नका लागि ६.८ किलोमिटर बाटो उनीहरूले बनाउने बित्तिकै राजमार्गसँग जोडिन्छ । हामीले उहाँहरूसँग यो कुरा पनि भनेका छौँ । 

हामीले पिक आवर ऊर्जाको आवश्यकता पर्ने समयलाई ध्यान दिएर ऊर्जा बैंकको व्यवस्था गर्ने कुरा पनि गरेका छौँ । भारतलाई एक समयमा बढी चाहिन्छ, हामीलाई अर्को समयमा बढी चाहिन्छ । भारतलाई गर्मी समयमा बढी चाहिन्छ, हामीलाई जाडो समयमा बढी चाहिन्छ । एउटा ऊर्जा बैंकको व्यवस्था गर्ने र ऊर्जाको आपूर्ति र आवश्यकतालाई एडजस्ट गर्ने भन्ने कुराहरू हामीले गरेका छौँ । भारतीयपक्ष यसमा साधारणतया सकारात्मक छ तर यी कुराहरूलाई अगाडि बढाउन बाँकी छ । बुटबल– गोरखपुर ट्रान्समिसन लाइनको सन्र्दभमा हाम्रो ऊर्जा मन्त्रालय  लगभग सहमतिको बिन्दु नजिक पुगिसकेको छ । हुलाकी मार्ग हामीले निर्माण गरिरहेका छौँ । जसरी हामीले वीरगञ्जमा बनायौँ त्यसैगरी विराटनगर, भैरहवा, नेपालगञ्जमा इन्ट्रिग्रेटेड चेकपोष्टको व्यवस्था गर्ने कुरा भएको छ । जुट, एलपी ग्यास बुलेट, नेपाली फर्मास्युटिकल आदिका समस्याहरूका सम्बन्धमा हामीले उहाँहरूसँग गम्भीरताका साथ छलफल गरेका छौँ । यस सम्बन्धमा सघन वार्ता अगाडि बढ्दैछन् । रोकिएका नोटहरूको सम्बन्धमा अघिल्लो पटक पनि हामीले कुरा उठाएका थियौँ । यसपटक पनि हामीले कुरा उठायौँ तर उहाँहरूले तत् सम्बन्धमा खास जवाफ दिइरहेको स्थिति छैन । हामीलाई लाग्छ यस सम्बन्धमा उहाँहरू गम्भीरतापूर्वक सोचिरहनु भएको छ । यसबारेमा उहाँहरूले सोच्नैपर्छ भनेर हामीहरूले भनिरहेका छौँ । हामीले अरू थप बन्दरगाहहरू हामीलाई आवश्यक पर्छ भनेका छौँ । मेडिकल विद्यार्थीहरू जो एमडी, एमएस अथवा डीएम आदि पढ्ने विद्यार्थीहरूका समस्या पनि उठायौँ । जस्तो उनीहरूको देशका विद्यार्थीले सुविधा पाउँछन् त्यस्तो हाम्रो देशका विद्यार्थीले नपाइरहेको स्थितिमा हामीहरूले कुरा उठाएका छौँ । यसबारेमा उहाँहरूले सकारात्मक जवाफ दिनु भएको छ । अर्को कुरा, भारतको मेडिकल काउन्सिलले दिएको मान्यतालाई हामीले जस्ताको तस्तै स्वीकार्ने तर हाम्रो मेडिकल काउन्सिलले दिएका सटिर्फिकेटलाई र गरेको सर्टिफाइलाई त्यहाँको मेडिकल काउन्सिलले नमान्ने खालको स्थिति जुन छ त्यस्तो हुनुहुँदैन भनेर हामीले कुरा उठाएका छौँ ।  

सभामुख महोदय, कुनै पनि कुरा, कुनै एउटा शब्द, एउटा पनि काम, एउटा पनि व्यवहार राष्ट्रको सार्वभौमसत्ता अथवा हाम्रो स्वाधीन हैसियत र हाम्रो हितविपरीत छैनन् भन्ने कुरा म यो सदनलाई जानकारी गराउन चाहन्छु । आफ्ना मामिलामा आफैँ निर्णय गर्ने अधिकारका कुरा, भौगोलिक अखण्डाताको प्रश्न वा राष्ट्रिय हितका कुनै पनि पक्षहरूलाई कमजोर हुन हामीले दिएका छैनौँ । हाम्रा सबै भनाइहरू, सबै लिखत, सबै गराइहरू पारदर्शी छन् । हाम्रो राष्ट्रिय हित हामी छोड्न सक्दैनौँ । 

मैले अघि पनि भनेँ – म सबै पार्टीका प्रमुख नेताज्यूहरू, अरू नेताज्यूहरू, पूर्वप्रधानमन्त्रीज्यूहरू, पूर्व परराष्ट्रमन्त्रीज्यूहरू सबैलाई धन्यवाद भन्न चाहन्छु । विज्ञ महानुभावहरूलाई धन्यवाद भन्न चाहन्छु जसले गहन सुझावहरू दिनुभएको छ । सजग गराइरहने मिडिया र बौद्धिक जगत्लाई पनि म धन्यवाद भन्न चाहन्छु । कति साह्रो सजगता ! शायद विगतका केही तीता अनुभव पनि रहे होलान् । यसमा चिप्ल्याउने, उसमा चिप्ल्याउने अनेक प्रकारका कुरा रहे, जसले राष्ट्रिय हितमा नोक्सान पार्ने ती अनुभवहरूले गर्दा पनि मान्छेलाई यति सजग रहन बाध्य बनायो होला । जेसुकै होस् सजगताका लागि र सुझावहरूका लागि मैले फेरि पनि धन्यवाद भन्नुपर्छ । 

हामीले राष्ट्रिय हितका प्रश्नहरूमा जे भएपनि विरोध गर्ने र जे भएपनि समर्थन गर्ने खालको तरिका अबलम्बन गर्नु वास्तवमा वाञ्छनीय हुँदैन । कहीँ गलत कुरा बोलिएको छ, त्यसको विरोध हुँदैन । कहीँ बिल्कुल ठीक काम भैराखेको छ तर त्यसको पनि विरोध नै भैराखेको हुन्छ । कतिपय मान्छेले वान–अन–वान कुराकानीको महत्व र यसप्रकारका भ्रमण, जसमा ठूलाठूला लेनदेनका कारोवारका सम्झौता भएका छैनन्,  त्यसको महत्व नबुझेको जस्तो देखिन्छ । कहिले–कहिले लेनदेनको कारोबारको मात्रै होइन, प्रत्यक्ष के उपलब्धि भयो भन्ने मात्रै होइन, कुन दिशामा फर्काइयो भन्ने कुराको महत्व हुन्छ । मलाई एक महिना अगाडि भारत भ्रमणका क्रममा त्यहाँका पत्रकारहरूले सोधेका थिए – के एग्रिमेन्ट गर्नु भयो, के सम्झौता गर्नु भयो, के कस्ता सम्झौता भए ? मैले त्यसबेला जवाफ दिएको थिएँ – मित्रता कुनै पनि सम्झौता, कुनै पनि सहमतिभन्दा महत्वको हुन्छ । मित्रता छ भने सम्झौता पनि हुनसक्छ, सहमति पनि हुनसक्छ, मित्रता नै छैन भने त्यो जे भएपनि काम हुँदैन । 

कहिले–कहिले सामूहिक रूपमा हुन नसकेका कुराहरू व्यतिगत तवरमा गर्नुपर्छ । व्यक्तिगत तवरमै ती कुराहरूको समाधान गर्न सकिन्छ । कहिले–कहिले विभिन्न तरिकाले एक राउण्डमा भएन भने अर्को राउण्ड, अर्को राउण्डमा भएन भने अर्को राउण्डमा कुरा गरिरहनु पर्ने हुन्छ । मलाइ खुशी लागेको छ– अहिले भन्दा तीन वर्षअगाडि नेपाल–भारत सम्बन्ध तनावग्रस्त स्थितिमा थियो । त्यो नाकाबन्दीको स्थिति थियो । म प्रधानमन्त्री हुँदा नाकाबन्दी थियो । नाकाबन्दीको अवस्थाबाट आज कमसेकम नाकाबन्दी नहुने मात्रै होइन, अर्को स्थितिमा आइपुगेका छौँ । जायज ढंगले बोलेका कुराहरू, अर्थपूर्ण ढंगले बोलिएका कुराहरूलाई अर्थपूर्ण ढंगले नै लिनुपर्छ हामीहरूले । हामीले भन्दै आयौँ हामी सबैसँग सम्बन्ध राख्न स्वतन्त्र छौँ । हामी हाम्रा छिमेकीहरूसँग राष्ट्रिय लाभ,राष्ट्रिय हितका लागि सन्तुलित सम्बन्ध कायम गछौँ, सबैतिर सम्बन्ध कायम गछौँ । एकातिर  कोल्टिने होइन । केही समय अगाडि कूटनीतिक मिसनहरूलाई ब्रिफिङ गरिरहँदा मैले भनेको थिएँ – हाम्रो दुश्मनी कसैसँग छैन, मित्रता सबैसँग छ । हामी दुश्मनी कसैसँग चाहदैनौँ, मित्रता सबैसँग चाहन्छौँ । हाम्रो नीति त्यो हो । हामी मित्रता चाहन्छौँ, पारस्परिक साथ–सहयोग चाहन्छौँ र कसैसँग पनि शत्रुता चाहदैनौँ । हाम्रो आकांक्षा कसैसँग वैरभावको होइन, शत्रुताको होइन, तनावको होइन, सम्बन्धमा हामी तीक्तता चाहदैनौँ । तर यथार्थ के हो भने तीन वर्ष अगाडिको सम्बन्ध तनावयुक्त थियो । त्यसकारण म प्रधानमन्त्री हुँदा नाकाबन्दी नखोलीकन जान्न भनेर बोल्नु प¥यो, बोलेको थिएँ । नाकाबन्दी खोलेर भारत गएँ । त्यसपछि सम्बन्ध सुधारको एउटा नयाँ आयाम फेरि शुरु भयो ।  हामीले लगातार भन्दै आयौँ – सम्बन्ध बराबरीको आधारमा, बराबरीको हैसियतमा हुन्छ, दुई ओटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रका हैसियतमा हुन्छ । हामी हाम्रा आवश्यकता र हाम्रा प्राथामिकताका आधारमा सम्बन्ध राख्छौँ र व्यवहार गछौँ ।

मलाई खुशी लागेको छ – यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीका अभिव्यतिहरूबाट हाम्रो अखण्डताको प्रश्नमा, हाम्रो सार्वभौमसत्ताको प्रश्नमा, हाम्रा आवश्यकता र हाम्रा प्राथमिकताअनुसार त्यसमा सहयोग गर्न तयार रहेका कुराहरू  प्रकट भए । सम्बन्धलाई बराबरीका आधारमा, समुचित आधारमा अगाडि बढाउने कुराको एउटा प्रस्थानबिन्दु हो यो, जग हो यो । यतापट्टि हाम्रा सम्बन्धहरू गएका छन् । यसै बीचमा हामीले देखेका छाौँ – कतिपयले हाम्रो अखण्डतामाथि चुनौती दिएर, भारतकै पनि कतिपय व्यतिmले हाम्रो अखण्डतामाथि चुनौतीको रूपमा बोल्दै अत्यन्तै अनुचित दृष्टता गरेका छन् तर त्यसको जवाफ भारतीय प्रधानमन्त्रीले नेपालको अखण्डतालाई सम्मान गर्ने कुरा गरेर दिइसक्नु भएको छ । भारतको औपचारिक र आधिकारिक कुरा कुन हो भन्ने स्पष्ट भएको छ । 

हाम्रोमा मोदीलाई स्वागत नै गर्न हुँदैनथ्यो भन्ने, सम्बन्ध सुधार गर्नै हुँदैनथ्यो भन्ने पनि कतैकतै देखियो । सम्बन्ध सुधार्नु पर्छ तर हामीले हेपाइ सहनु हुँदैन, अनुचित कुरा सहनु हुँदैन, राष्ट्रिय हित छोड्नु हुँदैन, अरूको हितमा काम गरेर आफ्नो हितलाई छोड्ने काम गर्नु हुन्न । न्यायोचित आधारमा, अन्तर्राष्ट्रिय उत्तरदायित्वका साथ राष्ट्रिय हितको रक्षा र सम्बद्र्धन हरेक राष्ट्रले गर्नुपर्छ । हामीले त्यही गर्ने हो । हामीले भनेको पनि त्यही नै हो । विगतमा त्रृटिहरू भएका छन् भने विगतमा मात्रै अल्झिएर बस्ने कि अगाडि बढ्ने ? मैले अगाडि पनि भनेँ, भारतसँगको तीन वर्ष अगाडिको सम्बन्ध तनावपूर्ण थियो । त्यही तनावपूर्ण सम्बन्धलाई यथावत राखिरहने ? दक्षिण र उत्तर कोरियाका बीचमा त्यति धेरै तनावहरू थिए । तनावहरूकै बीचमा उहाँहरूले वार्ता गर्नुभयो, एकअर्कालाई स्वागत गर्नु भयो । ट्रम्प र वन केही दिनपछि सिंगापुरमा भेट्दै हुनुहुन्छ । चीन र भारतका कार्यकारी प्रमुखका बीचमा, मोदीजी र सि जिङपिङका बीचमा तीन राउण्ड व्यक्ति–व्यक्तिका बीच, तीन राउण्ड आआफ्ना टीमसहित वार्ता भएका छन् । अर्थात सम्बन्धहरू बिग्रिनु नराम्रो हो तर दुर्भाग्य यदाकदा विभिन्न कारणले सम्बन्धमा तलमाथि परिदिन्छ । चीसोपन आइदिन्छ । चीसोपनमा खुशी हुने होइन हामीले । ती चीसापनहरूलाई हटाउने कोशिश गर्नुपर्दछ । त्यसबेला पनि मैले व्यतिगत तवरमा भनेको थिएँ – हामी सम्बन्ध बिग्रिएकोमा खुशी छैनौँ, दुःखी छौँ । बिग्रिएको हाम्रो कारणले छैन, हामी बिग्रिने कारणहरू हटाउन चाहन्छौँ । सम्बन्ध सुधार्ने बाटो लिन चाहन्छौ । त्यो बाटोतर्फ फर्काउन चाहन्छौँ । त्यसमा हामी सफल भयौँ । म नेपाली जनताप्रति धन्यवाद भनिरहेको छु , आभार व्यक्त गरिरहेको छु कि जनताकै देशभक्तिका कारण, राष्ट्रियताप्रतिको अडानका कारण बिग्रिएको सम्बन्धमा समझदारीको विकास गर्दै, सुसम्बन्धको दिशामा अगाडि बढ्ने क्रममा हामीले स्वाभिमानपूर्वक यस बिन्दुमा ल्याइपुर्‍याएका छौँ । 

अब नेपाल–भारत सम्बन्ध नयाँ दिशामा, नयाँ उचाइमा, नयाँ आयाममा, नयाँ स्तरमा उठेको छ,  नयाँ स्तरमा प्रवेश गरेको छ । यसलाई सोभरेन्टी इक्वालिटीको हैसियतमा, बराबरीको हैसियतमा, सार्वभौम राष्ट्रको हैसियतमा, स्वाधीन राष्ट्रको हैसियतमा, हस्तक्षेप होइन, अहस्तक्षेप, पारस्परिक लाभ, पारस्परिक सम्मानका आधारमा अगाडि बढाएर जान सकिने परिस्थिति र वातावरण निर्माण भएको छ । 

म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई नेपाल आएर  मित्रता अभिवृद्धिको सन्र्दभमा समुचित ढंगले योगदान गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु । उहाँले कुनै सिमानामा बाँध बाँधेर डुबाउँछु भन्नु भएन, बाँध बाँधिएर डुवान भैरहेको समस्यालाई समाधान गर्ने कुरामा सहमति गर्नुभएको छ । नबनेका कुराहरू त्यसै छोड्ने भन्नुभएको छैन, बनाउँछु भन्नुभएको छ । म अपेक्षा गर्छु – पहिलेका कुराहरूको कार्यान्वयनमा अब हामी रुचिसाथ अगाडि बढ्छौँ । म आशा गर्छु – भारत त्यही रुचिका साथ अगाडि बढ्ने छ । 

अन्त्यमा, म एउटा कुरा गरिमामय सदनलाई फेरि पनि निवेदन गर्न चाहन्छु – तपाईँहरू ढुक्क हुनुभए हुन्छ, तपाईँहरू आफैँले अध्ययन गर्नु भए पनि हुन्छ, वक्तव्यहरू सार्वजनिक छन् र कामहरू सार्वजनिक छन् । हामीले जारी गरेको संयुतm वक्तव्य छ, संयुक्त प्रेस वक्तव्य छ । अरू वक्तव्यहरू सार्वजनिक छन्, लाइभ छन् । कुनै शब्दमा तलमाथि परेको छ भने म जिम्मा लिन्छु । राष्ट्र हितलाई शिरोधार्य गरिएको छ, शिरमा राखिएको छ, मनमा राखिएको छ । राष्ट्रिय हितलाई कहीँकतै छोडिएको छैन । 

नेपाल एउटा आफ्नै प्रकारको इतिहासको क्रमबाट गुज्रिएर आएको छ । हाम्रो देशको स्वाधीनता, हाम्रो देशको स्वाभिमान, हाम्रै सावधानी र सचेत प्रयासको उपज हो । यो नेपालको सजगता, स्वाभिमान र राष्ट्रिय भावनाको साझा प्रयासको उपज हो । त्यसलाई मैले बुझेको छु । त्यसकारण म प्रधानमन्त्रीको हैसियतले देशको शिर निहुरिन दिने, देशलाई नोक्सान पर्न दिने काम गर्ने छैन । देश यतिधेरै व्यापार घाटामा छ, यसै कमजोर छ, यसै पछाडि परेको छ, यसै आकारमा सानो छ, जनसंख्यामा सानो छ, विकासमा पछाडि छ, हेपिने सम्भावना हुन्छ । यस देशको हावामा सास फेरेको, यस देशको पानी पिएको र यस देशको अन्न पानीबाट हुर्किएको, यस देशको एउटा सन्तानको हैसियतले  देशलाई नोक्सान पार्ने कुराहरू मबाट हुन सक्दैनन् । त्यसकारण म माननीय सदस्यज्यूहरूलाई आस्वस्त रहन आग्रह गर्न चाहन्छु – यस पटक मेरो निमन्त्रणामा भारतका प्रधानमन्त्री मोदीजीको नेपाल भ्रमण उपलब्धिपूर्ण भएको छ, नेपालको पक्षमा भएको छ । यसको अर्थ फेरि भारतको विपक्षमा भएको छ भन्ने होइन । भारतको समेत पक्षमा भएको छ । दुई देशको लाभको पक्षमा भएको छ, दुई देशको स्वाभिमानको पक्षमा भएको छ । यसलाई हामीले अगाडि बढाउनु पर्छ । अझै कामहरू गर्न बाँकी छन्, तिनलाई अगाडि बढाउनु पर्छ । इपीजी क्रियाशिल छ । हामी विभिन्न चरणमा विभिन्न ढंगले मन्त्रालयस्तरमा वार्ताहरू गरिरहेका छौँ । यसलाई अगाडि बढाउनु जरुरी छ । अब हामीले हाम्रा छिमेकीहरूसँग, दुबै छिमेकीसँग सुमधुर र सुदृढ, पारस्परिक  विश्वास र भरपर्दो सम्बन्ध कायम गछौँ । यसपछि भरसक छिटै  म चीन भ्रमणमा पनि जानेछु । यसको अर्थ हामी दुई ओटा छिमेकमै मात्रै अन्तर्राष्ट्रिय सम्बन्धलाई सीमित गछौँ भन्ने पनि होइन । विश्वसम्बन्धका सन्दर्भमा आजको जमानामा हाम्रो जस्तो देश, साह्रै साना छौँ भनेर हीनग्रन्थी पालेर बस्नुपर्ने अवस्था छैन । हामीले असाधारण उपलब्धिहरू हासिल गरेका छौँ । यस बीचमा हामीले जस्ता परिस्थितिको सामना गर्‍यौँ, त्यस परिस्थितिमा जुन असाधारण उपलब्धि हासिल गरेका छौँ, ती उपलब्धिका आधारमा  अब हामी जता जान खोजेका छौँ, जुन बाटो हिँड्न खोजेका छौँ, हामी दुनियासँग हिस्सेदारी पनि गछौँ, मद्दत पनि लिन्छौँ, सहकार्य पनि गछौँ र अगाडि बढ्छौँ । हामी विश्वशान्तिको पक्षमा, निशस्त्रीकरणको  पक्षमा,  समृद्धिको पक्षमा छौँ, विकासको पक्षमा छौँ, तनाव होइन वार्ताको पक्षमा छौँ । 

हाम्रा नीतिहरू स्पष्ट छन् । यसकारण हाम्रो छिमेक सम्बन्धलाई पनि हामी प्राथमिकताका साथ,सन्तुलित ढंगले, पारस्परिक लाभ र सम्मानका आधारमा अगाडि बढाउँदै छौँ । अन्तर्राष्ट्रिय परिवेशलाई पनि हामी त्यसैगरी जिम्मेवारीपूर्ण ढंगले अगाडि बढाउँछौँ । 

सभामुख महोदय, यस भ्रमणको सम्बन्धमा अहिले मैले सम्मानित सदनलाई जानकारी गराउने विषयहरू यति नै हुन् । धन्यवाद !

३० वैशाख, २०७५

सम्बन्धित