१६ भदौ (२०८२), थियानजिन (चीन) । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज विभिन्न मुलुकका राष्ट्रपति, प्रधानमन्त्रीको भेटवार्ता भएको छ ।
आज प्रधानमन्त्री ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । उहाँहरूबीच जलवायु परिवर्तनबाट परेको असर र त्यसका ठूला मुलुकले निर्वाह गर्नुपर्ने दायित्वका विषयमा समान मत रहेको थियो । प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणामा मिलेर काम गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रतिनिधिमण्डलमा सहभागी उच्चपदस्थ पदाधिकारीको सहभागिता थियो ।
यसैगरी आजै प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीच दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरुको विस्तारलगायत विषयमा छलफल भएको थियो । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियोे । उहाँहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीच पनि आजै दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियोे ।
भेटमा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो । चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आज सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।