NP EN

प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता

७ असोज (२०८१), न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको छ । 
राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भएको भेटवार्तामा दुई प्रधानमन्त्रीबीच नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि छलफल भएको छ । 
भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्थ्यो ।
भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो । 
नेपाल हाल अल्पविकसित मुलुकको अध्यक्षसमेत रहेको अवस्थामा भूटानका प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नुभएको थियो । उहाँले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताउनुभएको थियो ।

सम्बन्धित