NP EN

प्रधानमन्त्री ओली र भारतका समकक्षी मोदी बीच भेटवार्ता

७ असोज (२०८१), न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रदानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओेली र छिमेकी मुलुक भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता भएको हो । भेटपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको बताउनुभयो । भेटमा सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नै नेपालको भ्रमण गर्ने जानकारी दिनुभयो । 
दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका साथमा मन्त्री राणा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित