१७ मङ्सिर (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नुभएको छ ।
उहाँ चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गर्नुभयो ।
यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसमेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुग्नुभएको थियो ।
प्रधानमन्त्री ओलीलाई यसअघि नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट चीन प्रस्थान गरेको प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछ । चीनको राजधानी बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले भोलि मङ्सिर १८ गते चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई मङ्सिर १८ गते नै चिनियाँ समकक्षी लीले स्वागत गर्नुहुनेछ भने तत्पश्चात दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम रहेको छ । सोही दिन चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेट गर्नुहुने कार्यतालिका छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रम तथा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत हुनुहुन्छ ।
प्रधानमन्त्रीको यस भ्रमणले जनस्तर र सरकार–सरकारका बीचमा परम्परागत र मित्रवत सम्बन्धको लामो इतिहास भएको नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ ।
आइतबार साँक्र भएको मन्त्रिपरिषद्को बैठकले भ्रमणका क्रममा हुने दुईपक्षीय कार्यसूची र सहयोगका क्षेत्रहरूलाई अन्तिमरूप दिएको थियो ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा काठमाडौं चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत आयोजनामा एमओयु (लेटर अफ एक्सप्रेसन) हुने तय भएको छ ।
यसैगरी बिपी कोइराला क्यान्सर अस्पताल चितवनमा बोन म्यारो ट्रान्सप्लान उपचार पद्धति सुरु गर्नेलगायत आयोजना रहेका छन् । एक सय विद्युतीय गाडी, एक सय प्रहरी भ्यान, ५० स्कुल भ्यान, ५० एम्बुलेन्सका लागि पनि प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सहमति हुनेगरी छलफल अघि बढेको छ ।
यस्तै सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन) र चाइना मिडिया ग्रूप (सिएमजी) बीच हुने ‘मेमोरेबल अन्डरस्ट्यान्डिङ’ विषयक समझदारी पत्रलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालमा स्वयंसेवी चिनियाँ भाषा शिक्षक तालिम कार्यक्रम परिचालनका लागि पनि सहमति हुनेछ । मन्त्रिपरिषद् बैठकले प्रस्तावित तीन सय मिलियन आरएमबी चिनियाँ युआन बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्न सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओली मङ्सिर २० गते स्वदेश फर्कनुहुनेछ ।